सोमबार, ८ भाद्र, २०८३

किशोरकिशोरीमैत्री पालिका बनाउन लैङ्गिक हिंसाविरुद्ध उजुरी संयन्त्रसम्बन्धी प्रशिक्षण

लैङ्गिक हिंसाका घटना तथा उजुरीको प्रभावकारी अभिलेखीकरण, रिपोर्टिङ्, पीडितको संरक्षण र साथी शिक्षामार्फत किशोरकिशोरीलाई सचेत बनाउने उद्देश्यले जुम्लामा तीनदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

आत्मसम्मानका लागि सहकार्य (क्याड) नेपाल, जुम्लाको आयोजनामा भदौ ६ देखि ८ गतेसम्म खलंगा बजारमा सञ्चालन भएको तालिममा हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका २१ जना किशोरकिशोरी सहभागी भएका थिए। कार्यक्रम प्लान नेपाल, पेस नेपाल र क्याड नेपालको सहकार्यमा आयोजना गरिएको हो।

तालिममा लैङ्गिक हिंसासम्बन्धी उजुरी दर्ता तथा रिपोर्टिङ् गर्ने प्रक्रिया, पीडित तथा प्रभावित व्यक्तिको संरक्षण, सुरक्षित सूचना प्रवाह, हिंसाका घटना पहिचान र साथी शिक्षाको भूमिकाबारे प्रशिक्षण दिइएको थियो। प्रशिक्षक कुशुम केसीले सहभागीलाई लैङ्गिक हिंसाका घटना पहिचानदेखि सम्बन्धित निकायमा सुरक्षित रूपमा उजुरी तथा जानकारी गराउने प्रक्रियाबारे सहजीकरण गरेकी थिइन्।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय अधिकारी रोमबहादुर महतले किशोरकिशोरीमैत्री तथा स्वस्थ पालिका निर्माणमा लैङ्गिक हिंसाविरुद्धको सचेतना र साथी शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताए। ‘पालिकालाई नै किशोरकिशोरीमैत्री र स्वस्थ पालिका बनाउन लैङ्गिक हिंसाविरुद्धको सचेतनाले महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भने।

तालिमबाट प्राप्त ज्ञान आफूमा मात्र सीमित नराखी अरू साथीहरूसम्म पुर्‍याउनुपर्ने नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण चौलागाईंको जोड छ। उनले भने, ‘तालिममा सिकेको कुरालाई धेरै साथीहरूलाई सुनाए मात्रै पनि लाभ हुन्छ।’

क्याड नेपाल जुम्लाकी अध्यक्ष जयलक्ष्मी चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा क्याड नेपाल जुम्लाका कार्यक्रम संयोजक राजेश प्रकाश ऐरीलगायतको सहभागिता थियो।

आयोजक क्याड नेपालका अनुसार तालिमपछि सहभागी किशोरकिशोरीले आ–आफ्नो समुदायमा साथी शिक्षामार्फत लैङ्गिक हिंसा, उजुरी गर्ने अधिकार, संरक्षण तथा सुरक्षित रिपोर्टिङ्का विषयमा थप सचेतना फैलाउनेछन्।

तीनवटा स्थानीय तहका किशोरकिशोरीलाई लक्षित गरी सञ्चालन गरिएको प्रशिक्षणले हिंसाविरुद्ध आवाज उठाउने, पीडित तथा प्रभावितलाई सहयोग गर्ने र उपलब्ध उजुरी संयन्त्रको सुरक्षित प्रयोग गर्ने क्षमता विकासमा योगदान पुग्ने आयोजकको विश्वास छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार