सोमबार, ८ भाद्र, २०८३

मुगुका पत्रकार राजबहादुर शाही झापामा सम्मानित

कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा रहेर ग्रामीण पत्रकारिता तथा साहित्य क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका पत्रकार राजबहादुर शाही झापामा सम्मानित भएका छन्।

झापामा आयोजित पाथीभरा साहित्य पत्रकारिता साधना सम्मेलन–२०८३ मा शाहीलाई कदरपत्रसहित सम्मान गरिएको हो। पाथीभरा अनलाइन टेलिभिजनको आयोजनामा भएको कार्यक्रममा पत्रकारिता, साहित्य, कला, खेलकुद तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

पाथीभरा अनलाइन टेलिभिजनका अध्यक्ष तथा महाप्रबन्धक दीपक विवशका अनुसार विकट हिमाली जिल्ला मुगुमा रहेर करिब तीन दशकदेखि ग्रामीण पत्रकारिता र साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै शाहीलाई सम्मान गरिएको हो।

मुगुको सोरु गाउँपालिका–४ मा जन्मिएका शाहीले द्वन्द्वकालमा अस्थायी शिक्षकको पेसा त्यागेर पत्रकारिता सुरु गरेका थिए। त्यसयता उनले मुगुका विकास निर्माण, भोकमरी तथा अभाव, स्वास्थ्य, शिक्षा, जोखिमपूर्ण सुत्केरी अवस्था, कुपोषण, आङ खस्ने समस्या, जडीबुटी, पर्यटनलगायत विषयमा निरन्तर कलम चलाउँदै आएका छन्।

विशेषगरी विक क्षेत्रमा जोखिमपूर्ण अवस्थामा रहेका सुत्केरी महिलाका समस्यालाई समाचारमार्फत सार्वजनिक गर्दै उद्धार र उपचारमा समेत सहयोग पुगेको शाही बताउँछन्। कुपोषण तथा महिलाको स्वास्थ्यसँग जोडिएका विषयलाई समेत उनले निरन्तर समाचारको विषय बनाउँदै आएका छन्।

पत्रकारितासँगै शाही साहित्य क्षेत्रमा पनि सक्रिय छन्। रारा साहित्य समाज, कर्णाली साहित्य प्रतिष्ठानलगायत संस्थासँग आबद्ध रहेर उनले कथा, कविता र गजल लेख्दै आएका छन्। उनका रचना विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन्।

सम्मानपछि शाहीले विकट क्षेत्रको पत्रकारिता र साहित्यलाई आयोजकले गरेको मूल्यांकनले आफूलाई उत्साहित बनाएको बताए। ‘मुगुको मान्छे झापामा आएर सम्मानित हुन पाउँदा निकै खुसी लागेको छ,’ उनले भने, ‘दुर्गम क्षेत्रमा कठिन परिस्थितिबीच काम गरिरहेका पत्रकारको योगदानलाई यसरी सम्झिनु आफैमा महत्वपूर्ण कुरा हो।’

शाहीले २०५७ देखि २०५८ सालसम्म अन्नपूर्ण पोस्ट्का मुगु संवाददाताका रूपमा काम गरेका थिए। त्यसपछि २०५९ देखि २०८१ सालसम्म कान्तिपुर मिडिया ग्रुपका मुगु जिल्ला संवाददाताका रूपमा काम गरे। हाल उनी कान्तिपुर टेलिभिजनका मुगु संवाददाता छन्।

त्यसैगरी पछिल्ला दुई वर्षदेखि उनी क्याराभान रिसर्च मिडिया प्रालिका अध्यक्षका रूपमा समेत कार्यरत छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार