शनिबार, ६ भाद्र, २०८३

जुम्लामा पाँचौ व्यापार महोत्सव सुरु : कृषि, पर्यटन र संस्कृति प्रवर्द्धन गरिँदै

जुम्लामा कृषि, पर्यटन, कला–संस्कृति तथा स्थानीय उद्योगको प्रवर्द्धन गर्ने उद्देश्यले पाँचौँ जुम्ला कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव–२०८३ सुरु भएको छ। भदौ ५ गतेदेखि सुरु भएको महोत्सवमा स्थानीय उत्पादन, व्यवसाय र जिल्लाका मौलिक कला–संस्कृतिलाई विशेष प्राथमिकता दिइएको उद्योग वाँणिज्य संघ जुम्लाका अध्यक्ष दिल बहादुर रोकायाले बताए।

उनका अनुसार महोत्सवमा जुम्लामा उत्पादित कृषि उपज, स्थानीय हस्तकला, घरेलु तथा औद्योगिक सामग्रीलगायत वस्तुको प्रदर्शनी तथा बिक्रीका लागि विभिन्न स्टल राखिएका छन्। स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र किसान तथा व्यवसायीलाई आफ्ना उत्पादनको प्रचार–प्रसार गर्ने अवसर प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

जुम्लाको पहिचानसँग जोडिएका कृषि उत्पादन तथा स्थानीय सीप र प्रविधिलाई राष्ट्रिय बजारसम्म पुर्‍याउन महोत्सवले सहयोग गर्ने अपेक्षा गरिएको लोक दोहोरी प्रतिष्ठान जुम्लाका उपाध्यक्ष विश्वराज खत्रीले बताए। उनका अनुसार विशेषगरी जुम्लाको स्याउ, सिमी, मार्सी चामललगायत कृषि उत्पादनसँगै हस्तकलाका सामग्री र स्थानीय उद्यमबाट उत्पादित वस्तुको बजारीकरणमा महोत्सव केन्द्रित हुनेछ।

महोत्सवमा स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिनेछ। स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने कार्यक्रमले महोत्सवलाई मनोरञ्जनसँगै जिल्लाको सांस्कृतिक पहिचान प्रस्तुत गर्ने माध्यमका रूपमा समेत अघि बढाउने चन्दननाथ नगरपालिका जुम्लाका मेयर राजुसिंह कठायतको भनाइ छ।

जुम्लाका प्राकृतिक तथा पर्यटकीय क्षेत्रको प्रचार–प्रसारमा समेत महोत्सवले भूमिका खेल्ने डा.निकोलस भुसालले बताए।जिल्लाका पर्यटन व्यवसायी, कृषक, उद्योगी, व्यवसायी, विभिन्न सरोकारवाला निकाय तथा सर्वसाधारणको सहभागिता रहेने महोत्सवले जिल्लाको आर्थिक गतिविधिलाई चलायमान बनाउने उनको भनाइ छ।

महोत्सवले स्थानीय उत्पादनको व्यापार विस्तार, पर्यटन प्रवर्द्धन र सांस्कृतिक पहिचानको संरक्षणसँगै जुम्लाको आर्थिक सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउन योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार