शनिबार, ६ भाद्र, २०८३

जुम्लामा समुदाय युवा अभियानकर्मीको संगठित संजान निर्माण : अध्यक्षमा विवेक शाही

नवनिर्वाचित अध्यक्ष विवेक शाहीले सञ्जाललाई कागजमा सीमित नराखी गाउँबस्तीमै पुगेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। बालअधिकारको रक्षा, कुलतविरुद्ध सचेतना, बालविवाह तथा अन्य सामाजिक विकृति अन्त्यका लागि युवाहरूलाई परिचालन गर्ने उनको भनाइ छ।

जुम्लाका गाउँबस्तीमा सामाजिक विभेद, बालविवाह, बालअधिकारको अवस्था, शिक्षा तथा स्वास्थ्यका चुनौती अझै पूर्ण रूपमा हटिसकेका छैनन्। कतिपय ठाउँमा परम्परागत सोच र सामाजिक विकृतिका कारण बालबालिका तथा किशोरकिशोरीले विभिन्न समस्या भोगिरहेका छन्। यस्ता सवालमा समुदायस्तरबाटै आवाज उठाउने र समाधानको पहल गर्ने उद्देश्यले जुम्लाका युवाहरू अब संगठित भएका छन्।

यही उद्देश्यसहित जुम्लामा ‘समुदाय युवा अभियानकर्मी सञ्जाल’ गठन गरिएको छ। सञ्जालले युवाहरूलाई सामाजिक सवालमा सक्रिय बनाउँदै शिक्षा, स्वास्थ्य, बालअधिकार, लैङ्गिक समानता, सामाजिक न्याय तथा सकारात्मक व्यवहार परिवर्तनका अभियानमा परिचालन गर्ने लक्ष्य लिएको छ।

सामाजिक विकास कार्यालय, जुम्लाको आयोजना तथा किर्डाक नेपालको सहजीकरणमा सदरमुकाम खलंगा स्थित स्टे भ्याली भ्यु होटेलमा सम्पन्न विशेष छलफल तथा भेलाले जिल्लास्तरीय १८ सदस्यीय कार्यसमिति गठन गरेको हो।

कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, पेस नेपाल र सर्वोदय नेपालले साझेदारी तथा आर्थिक सहयोग गरेका थिए। जिल्लाका आठवटै स्थानीय तहबाट युवा तथा बालबालिकाको सहभागिता रहेको कार्यक्रममा युवाको वर्तमान अवस्था, समुदायमा देखिएका समस्या र सामाजिक अभियानमा युवाको भूमिकाबारे छलफल गरिएको थियो।

सञ्जाल गठनको प्रक्रिया औपचारिक नेतृत्व चयनमा सीमित रहेन। नेतृत्व छनोटका क्रममा अध्यक्ष र उपाध्यक्ष पदमा सर्वसम्मत सहमति जुट्न नसकेपछि सहभागी युवाहरूले निर्वाचनको लोकतान्त्रिक बाटो रोजे।

सहभागीहरूको निर्णयअनुसार भरत नेपाली, जानकी कोइराला र राजेन्द्र बहादुर थापा सम्मिलित तीन सदस्यीय निर्वाचन मण्डल गठन गरियो। निर्वाचन मण्डलले मनोनयन दर्ता गराई मतदान प्रक्रिया अघि बढायो। यस क्रममा युवाहरूले आफ्नो नेतृत्व आफै छनोट गर्ने अभ्यास गरे।

अध्यक्ष पदमा कनकासुन्दरी गाउँपालिका–४ का विवेक शाही ६ मत प्राप्त गर्दै विजयी भए। उनका प्रतिस्पर्धी रमीला कामीले ५, गोकर्ण मानव सुनारले ४ र अन्तिमा महताराले २ मत प्राप्त गरे।

त्यस्तै, उपाध्यक्ष पदमा तिला गाउँपालिका–४ की सुस्मा हमाल ८ मतसहित निर्वाचित भइन्। उनका प्रतिस्पर्धी विमला बडुवालले ६ र नविन भण्डारीले ३ मत प्राप्त गरे।

यसरी गठन भएको १८ सदस्यीय कार्यसमितिमा अध्यक्ष विवेक शाही, उपाध्यक्ष सुस्मा हमाल, कोषाध्यक्ष रविन्द्र वद, सचिव आशा न्यौपाने र सहसचिव सुनमाया रोकाया रहेका छन्।

सदस्यहरूमा अनुराधा चौलागाँई, कृपा रावत, आलिमा महतारा, नविन भण्डारी, विपना शाही, शुभा चौलागाँई, विमला बडुवाल, कुलराज जैसी, बेभरली जैसी, शर्मिला बुढा, गोकर्ण मानव सुनार, रमीला कामी र खगेन्द्र बहादुर रावत चयन भएका छन्।

कार्यक्रममा युवाहरूलाई सामाजिक समस्याको दर्शकका रूपमा नभई समाधानको नेतृत्वकर्ता बनाउनुपर्नेमा जोड दिइयो। सामाजिक विकास कार्यालयका निमित्त प्रमुख तथा कार्यक्रमका सभाध्यक्ष पर्‍यागदत्त न्यौपानेले युवाको ऊर्जा र सिर्जनशीलतालाई समुदायको विकाससँग जोड्नुपर्ने धारणा राखे।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी तेज प्रसाद प्रसाईंले सामाजिक परिवर्तनका लागि युवाको भूमिका महत्वपूर्ण रहेको बताए। समुदायमा देखिएका समस्या समाधान गर्न सरकारी निकाय, स्थानीय तह र युवाबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

त्यस्तै, हिमा गाउँपालिकाकी उपाध्यक्ष सुर्पुना शाहीले युवालाई सामाजिक अभियानमा निरन्तर सक्रिय बनाउन स्थानीय तहबाट समेत आवश्यक सहयोग र सहकार्य हुनुपर्ने बताइन्।

तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलले सामाजिक विकृति अन्त्यका लागि समुदायको सोच र व्यवहार परिवर्तन आवश्यक रहेको भन्दै त्यस अभियानमा युवाको सक्रियता प्रभावकारी हुने धारणा राखिन्।

जिल्ला समन्वय अधिकारी रोम महतले जिल्लाका विभिन्न क्षेत्रमा भइरहेका सामाजिक अभियानलाई समन्वय गर्दै युवाहरूको क्षमता र नेतृत्व विकासमा जोड दिनुपर्ने बताए। उनका अनुसार युवाहरू संगठित भएर स्थानीय समस्यालाई प्राथमिकताका साथ उठाउन सके त्यसले नीति निर्माण र सेवा प्रवाहमा समेत सकारात्मक प्रभाव पार्न सक्छ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, जुम्लाका संयोजक भेष बहादुर रावलका अनुसार सञ्जालको मुख्य उद्देश्य युवाहरूलाई समुदायस्तरका सवालमा सक्रिय रूपमा परिचालन गर्नु हो। स्वास्थ्य, शिक्षा, बालअधिकार, लैङ्गिक समानता तथा सामाजिक रूपान्तरणका क्षेत्रमा युवालाई नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम बनाउन सञ्जाल महत्वपूर्ण माध्यम बन्न सक्ने उनले बताए।

किर्डाक नेपालका कार्यक्रम संयोजक शिवचन्द्र कार्कीले जिल्लाका सबै पालिकाबाट युवा–युवतीको उत्साहजनक सहभागिता भएको बताए। उनका अनुसार कार्यक्रममा युवा अभियानकर्मीको भूमिका, समुदायमा देखिएका समस्या, विगतका अभियानका अनुभव तथा आगामी दिनमा युवाहरूबीच सहकार्य र समन्वयलाई प्रभावकारी बनाउने रणनीतिबारे गहन छलफल भएको थियो।

जुम्लामा बालविवाह, विद्यालय छाड्ने अवस्था, लागुऔषध तथा कुलत, लैङ्गिक विभेद र बालअधिकारसँग सम्बन्धित सवालमा समुदायस्तरमा निरन्तर अभियानको आवश्यकता देखिन्छ। यस्ता विषयमा बाहिरबाट मात्रै कार्यक्रम सञ्चालन गर्नुभन्दा स्थानीय युवालाई नै अभियानको नेतृत्वमा ल्याउँदा त्यसको प्रभाव दीर्घकालीन हुन सक्ने संयोजक कार्कीको मत छ।

नवनिर्वाचित अध्यक्ष विवेक शाहीले सञ्जाललाई कागजमा सीमित नराखी गाउँबस्तीमै पुगेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। बालअधिकारको रक्षा, कुलतविरुद्ध सचेतना, बालविवाह तथा अन्य सामाजिक विकृति अन्त्यका लागि युवाहरूलाई परिचालन गर्ने उनको भनाइ छ।

उनले जुम्लाका विकट बस्तीमा रहेका युवाको आवाजलाई स्थानीय सरकारसम्म पुर्‍याउने र समुदायका समस्या समाधानका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने बताए। युवाहरूको सक्रियताले सामाजिक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गर्दै उनले सञ्जाललाई सबै युवाको साझा अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाए।

जुम्लामा गठन भएको यो सञ्जाल युवाहरूलाई एउटै संरचनामा जोड्ने प्रयास मात्र होइन, सामाजिक सवालमा उनीहरूको भूमिका पुनःपरिभाषित गर्ने सुरुवात पनि हो। नेतृत्व चयनमै लोकतान्त्रिक अभ्यास अपनाएको सञ्जालले अब समुदायका वास्तविक समस्या कति प्रभावकारी रूपमा उठाउँछ भन्ने महत्वपूर्ण हुनेछ।

गाउँका समस्या गाउँकै युवाले बुझ्छन् र समाधानका लागि समुदायलाई पनि उनीहरूले नै सजिलै जोड्न सक्छन्। त्यसैले संगठित युवा शक्ति सामाजिक रूपान्तरणको बलियो आधार बन्न सक्छ। जुम्लामा सुरु भएको ‘समुदाय युवा अभियानकर्मी सञ्जाल’को आगामी यात्रा यही सम्भावनालाई व्यवहारमा बदल्ने अवसरका रूपमा हेरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार