बिहीबार, २८ श्रावण, २०८३

गुठीचौरमा जिल्ला समन्वय समितिले निर्माण गर्‍यो, महिला पुरुषका लागि छुट्टाछुट्टै सार्वजनिक शौचालय

जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य गुठीचौरमा पर्यटकको सहजताका लागि महिला तथा पुरुषका लागि छुट्टाछुट्टै सार्वजनिक शौचालय निर्माण गरिएको छ। जिल्ला समन्वय समिति, जुम्लाको पहलमा पिकनिक स्पटनजिकै शौचालय निर्माण सम्पन्न गरिएको हो।

पर्यटकको बढ्दो आवागमनसँगै आवश्यक रहेको शौचालय निर्माणका लागि जिल्ला समन्वय समितिमा रहेका पुराना जस्ता पाता, काठलगायत सामग्रीको पुनः प्रयोग गरिएको जिल्ला समन्वय समितिले जनाएको छ। श्रमदान तथा कर्मचारीको निरन्तर प्रयासबाट निर्माण सम्पन्न गरिएको हो।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्यले पर्यटकीय क्षेत्रको विकास ठूला पूर्वाधारबाट मात्रै नभई पर्यटकलाई आवश्यक पर्ने आधारभूत सुविधाबाट पनि हुने बताए। ‘गुठीचौर जुम्लाको महत्वपूर्ण पर्यटकीय सम्पदा हो। यहाँ आउने पर्यटकलाई आवश्यक पर्ने आधारभूत सुविधा उपलब्ध गराउनु हाम्रो दायित्व हो,’ उनले भने, ‘उपलब्ध स्रोतसाधनको सदुपयोग गर्दै आवश्यक पूर्वाधार थप्दै जानेछौँ।’

समितिका उपप्रमुख जनक थकालीले गुठीचौरको प्राकृतिक सौन्दर्य अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई शौचालयको अभाव नहोस् भन्ने उद्देश्यले निर्माण गरिएको बताए। ‘महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय निर्माण भएपछि पर्यटकलाई केही सहज हुनेछ,’ उनले भने, ‘गुठीचौरको सरसफाइ र पर्यटकमैत्री वातावरण कायम राख्न सबैको सहयोग आवश्यक छ।’

जिल्ला समन्वय अधिकारी रोमबहादुर महतले समितिमा रहेका जस्ता पाता, काठलगायत प्रयोगमा नआएका सामग्रीलाई उपयोग गरेर शौचालय निर्माण गरिएको बताए। ‘नयाँ सामग्री खरिदमा ठूलो खर्च गर्नुको सट्टा कार्यालयमा रहेका सामग्रीको सदुपयोग गरेका छौँ,’ उनले भने, ‘कर्मचारीको श्रमदान र प्राविधिक टोलीको सहयोगमा निर्माण सम्पन्न भएको हो।’

हरियाली मैदान, खुला भू-दृश्य र प्राकृतिक सौन्दर्यका कारण गुठीचौर जुम्लाको लोकप्रिय घुम्ने तथा पिकनिक गन्तव्यका रूपमा परिचित छ। सार्वजनिक शौचालय निर्माणसँगै यहाँ आउने पर्यटकलाई आधारभूत सुविधामा केही सहज हुने समन्वय अधिकारी महतको भनाई छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार