भाग -१
गहिरो निलो पानी, चारैतिरको प्राकृतिक सौन्दर्य र विशाल स्वरूपले हामीलाई साँच्चिकै मोहित बनायो। सामाजिक सञ्जालका तस्बिरमा देखेको आकाशे तालभन्दा प्रत्यक्ष आँखाले देखेको आकाशे ताल धेरै सुन्दर, भव्य र अविस्मरणीय लाग्यो।
“भन्छन् नि, जति सुन्दर गन्तव्य, त्यति नै कठिन यात्रा।” यो भनाइ हाम्रो आकाशे ताल यात्रामा पूर्ण रूपमा लागू भयो। तीन दिनको यो यात्रा केवल एउटा गन्तव्यसम्म पुग्ने यात्रा मात्र थिएन, यो प्रकृतिसँगको आत्मीय भेट, चुनौतीसँगको संघर्ष र जीवनभर सम्झिरहने सुन्दर अनुभवहरूको संगालो थियो।
हाम्रो गन्तव्य थियो, “आकाशे ताल (Sky Lake)”। हामीले कल्पना गरेभन्दा धेरै फरक र अझ सुन्दर रहेछ भन्ने अनुभूति त्यहाँ पुगेपछि भयो। हामीले सामाजिक सञ्जालमा देखेको आकाशे ताल निलो र सुन्दर थियो।
तस्बिरहरू हेर्दा ताल सायद त्यति ठूलो छैन होला, सामान्य होला भन्ने मात्र कल्पना गरेका थियौँ। तर प्रत्यक्ष पुग्दा आकाशे ताल हाम्रो कल्पनाभन्दा बिल्कुलै फरक र विशाल रहेछ।

गहिरो निलो पानी, चारैतिरको प्राकृतिक सौन्दर्य र विशाल स्वरूपले हामीलाई साँच्चिकै मोहित बनायो। सामाजिक सञ्जालका तस्बिरमा देखेको आकाशे तालभन्दा प्रत्यक्ष आँखाले देखेको आकाशे ताल धेरै सुन्दर, भव्य र अविस्मरणीय लाग्यो।
आकाशे ताल जाने अवसर मुख्यतः अहिलेको दुईदिने सार्वजनिक बिदाले जुराएको थियो। यसअघि पनि आकाशे तालका सुन्दर तस्बिरहरू सामाजिक सञ्जालमा राखेको देख्दा त्यहाँ पुग्ने इच्छा थियो, तर कहिले जाने भन्ने सोच बनिसकेको थिएन।
दुई दिनको बिदाले भने यस्तो लामो यात्रा गर्न पर्याप्त समय मिल्यो। किनकि आकाशे तालजस्तो गन्तव्य एकै दिनमा पुगेर फर्किन सकिने ठाउँ रहेनछ। त्यसैले लामो समयदेखि मनमा रहेको आकाशे ताल पुग्ने इच्छा यसपटक पूरा गर्ने अवसर मिल्यो।
आकाशे तालको हाम्रो यात्रा पनि एकैचोटि तय भएको थिएन। आकाशे ताल जाने हाम्रो छलफल करिब दुई–तीन हप्ताअघिदेखि नै चलिरहेको थियो। सबै साथीहरू आ–आफ्नै काममा व्यस्त हुने र सबैको समय एकैपटक नमिल्ने भएकाले पटक–पटक योजना बनाउने र फेरि स्थगित गर्ने क्रम चलिरह्यो।

पहिलोपटक हामीले योजना बनाएर आकाशे ताल यात्राका लागि आवश्यक पर्ने सामानसमेत किनिसकेका थियौँ। सबै तयारी पूरा भइसकेपछि पनि साथीहरूको समय नमिलेका कारण अन्ततः त्यो योजना रद्द गर्नुपर्यो। त्यसपछि फेरि कहिले जाने भन्ने निश्चित थिएन।
अन्तिमपटक भने हामीले कुनै ठूलो योजना नै बनाएनौँ। अचानक भेट हुँदा “अब भोलि नै जाऔँ” भन्ने कुरा चल्यो र त्यही सहज कुराकानीबाट यात्रा तय भयो। सबै साथीहरूको समय जसोतसो मिल्यो र अन्ततः शुक्रबारको दिन यात्रा सुरु गर्ने निधो भयो।
शुक्रबार दिउँसो करिब साढे ३ बजेतिर हामी जुम्ला बजारबाट आकाशे तालतर्फ लाग्यौँ। साढे ३ बजे हिँड्नुको कारण पनि सबै साथीहरूको समय मिलाउनु नै थियो।
साथी संगीता कार्यालयबाट सामान्यतया अझ ढिलो छुट्ने भए पनि त्यस दिन विशेष गरी करिब ३ बजेतिरै समय मिलाएर आइन्। अन्ततः लामो समयदेखि छलफलमा रहेको हाम्रो योजना कुनै ठूलो तयारीबिना नै वास्तविक यात्रामा परिणत भयो।

सुरुमा हामीले पाल, सानो ग्यासलगायतका सामान बोकेर बाटोमा आफैँ खाना बनाउँदै, विश्राम गर्दै जाने योजना बनाएका थियौँ। तर लामो र कठिन उकालो हिँड्नुपर्ने भएपछि भारी सामान बोक्न गाह्रो हुने सोचेर त्यो योजना परिवर्तन गर्यौँ र आवश्यक खानेकुरा मात्र लिएर जाने निर्णय गर्यौँ।
हामी दस जना साथीहरू पाँच वटा मोटरसाइकलमा उत्साहका साथ आकाशे तालतर्फ अघि बढ्यौँ। नजानिँदो रूपमा सुरु भएको त्यो यात्रा अन्ततः हाम्रो जीवनकै अविस्मरणीय यात्रामध्ये एक बन्ने थियो।
पहिलो दिन
साउन ८ गते शुक्रबार दिउँसो करिब साढे ३ बजे हामी जुम्ला बजारबाट पाँच वटा मोटरसाइकलमा दस जनाको टोली भई यात्रा सुरु गर्यौँ। मनसुनको समय भएकाले बाटोभरि मुसलधारे वर्षा परिरहेको थियो।
देपालगाउँ पुग्दासम्म पानी यति धेरै पर्यो कि मोटरसाइकल चलाउनसमेत निकै कठिन भयो। चिप्लो हिलो र जोखिमपूर्ण बाटोमा हामी एकअर्काको सहारा बन्दै सावधानीपूर्वक अघि बढिरहेका थियौँ।

त्यो रात हाम्रो योजना चोत्राभन्दा पनि माथि, स्काइ लेक ट्रेकिङ मार्ग सुरु हुने स्थानसम्म पुग्ने थियो। तर हामी घरबाटै केही ढिलो, साढे ३ बजे मात्र निस्किएका थियौँ। गुठीचौरदेखि माथिको बाटो झन् खराब थियो, हिलो नै हिलो, चिप्लो र जोखिमपूर्ण।
कतिपय ठाउँमा मोटरसाइकल हिलोमा अड्किन्थ्यो र हामी पछाडिबाट धकेल्दै अघि बढ्नुपर्थ्यो। कहिले बाइक अड्किने, कहिले एकअर्कालाई धकेल्न सहयोग गर्नुपर्ने भएकाले यात्रा निकै ढिलो भयो। यी सबै कारणले गर्दा हामीले त्यस दिनको योजनाअनुसार ट्रेकिङ मार्गसम्म पुग्न सकेनौँ।
त्यसमाथि साँझ परिसकेको थियो। चिप्लो र जोखिमपूर्ण बाटोमा अँध्यारोले झन् कठिन बनाएको थियो। वरिपरि केही स्पष्ट देखिँदैनथ्यो। मोटरसाइकलको बत्तीको सहारामै हामी बिस्तारै अघि बढिरहेका थियौँ।
त्यो अँध्यारो रात, लगातारको वर्षा र जोखिमपूर्ण बाटोमा बाइक चलाउँदै गर्दा हामीलाई बारम्बार लागिरहेको थियो, सायद हामी गलत समयमा यो यात्रामा निस्किएछौँ।

हाम्रो योजना पहिलो दिनमै आकाशे तालको ट्रेकिङ मार्ग सुरु हुने स्थानसम्म पुग्ने र भोलिपल्ट बिहानै, उज्यालो नहुँदै पदयात्रा सुरु गरेर सही समयमा गन्तव्यमा पुग्ने थियो। तर मौसम, खराब बाटो र ढिलो प्रस्थानका कारण हामी पहिलो दिनको लक्ष्यसम्म पुग्न सकेनौँ।
अन्ततः राति करिब १० बजे चोत्रास्थित स्काइ लेक होटलमै बास बस्यौँ। कठिन र जोखिमपूर्ण बाटोले शरीर थाकेको थियो, तर साथीहरू धर्मेन्द्र, विकास, टिका र नयनसँगका रमाइला गफगाफले सबै थकान बिर्साइदियो। हाँसो र रमाइलोमा समय बित्दै गयो।
राति करिब १२ बजे मात्र खाना तयार भयो। सँगै बसेर खाना खायौँ र अर्को दिनको नयाँ यात्राको उत्साह बोकेर विश्राम गर्यौँ।
त्यो दिनको यात्राबाट हामीले एउटा महत्त्वपूर्ण कुरा महसुस गर्यौँ, यस्तो वर्षा र खराब मौसममा उक्त बाटोमा मोटरसाइकल यात्रा गर्नु उचित रहेनछ। यात्रा गर्नैपर्ने भए पनि हामी घरबाट धेरै ढिलो निस्किएका रहेछौँ। दिउँसो ३ बजेको सट्टा १२, १ बजेतिरै निस्किएको भए उज्यालोमै धेरै बाटो पार गर्न सकिने र यात्रा केही सहज हुने रहेछ भन्ने अनुभव भयो।

















