बिहीबार, २१ श्रावण, २०८३

चन्दननाथ सहकारी संस्थाले बजार भाउ भन्दा बढी मूल्यमा स्याउ खरिद गर्दै  

चन्दननाथ सहकारीले यसअघि पनि कर्णालीका रैथाने उत्पादन मार्सी चामल, फापर, सिमी, भटमास, चिनो, कागुनो, चामल र पिठोलाई काठमाडौंको भद्रकाली, जुम्लाको खलंगा, सुर्खेत, नेपालगञ्ज र काठमाडौंसम्म पुर्‍याउँदै आएको छ।

वर्षौंदेखि जुम्लाका स्याउ किसानले एउटै पीडा दोहोर्‍याउँदै आएका छन्, स्याउ पूर्ण रूपमा पाक्न नपाउँदै बिक्री गर्नुपर्ने बाध्यता, उचित मूल्य नपाउने समस्या र उत्पादनको पैसा समयमै हात नपर्ने अवस्था। यसबीच, बिचौलियाले बढी लाभ लिने र किसान भने मेहनतअनुसारको प्रतिफलबाट वञ्चित हुने अवस्था सामान्यजस्तै बनेको थियो।

यही समस्याको दीर्घकालीन समाधान खोज्ने प्रयासस्वरूप चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, जुम्लाले यस वर्ष जिल्लाभरका किसानबाट ३० हजार कार्टुन (करिब ३ लाख केजी) स्याउ खरिद गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। सहकारीले बिहीबार आयोजना गरेको ‘जुम्लाको स्याउ खरिद तथा विविध विषयमा छलफल एवं पत्रकारसँग भेटघाट’ कार्यक्रममा किसानलाई उचित मूल्य, अग्रिम भुक्तानी र व्यवस्थित बजार उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो।

सहकारीका पदाधिकारीका अनुसार यो अभियान कुनै निजी व्यापारी वा कम्पनीसँग प्रतिस्पर्धा गर्न होइन, किसानलाई सुरक्षित, पारदर्शी र भरपर्दो बजार उपलब्ध गराउन सुरु गरिएको हो। बजारमा चलिरहेको मूल्यभन्दा प्रतिकेजी पाँच रुपैयाँसम्म बढी मूल्य दिएर स्याउ खरिद गरिने योजना बनाइएको छ।

सहकारीकी अध्यक्ष विष्णुमाया बुढाका अनुसार किसानको स्याउ परिपक्व नहुँदै बिक्री हुने प्रवृत्ति रोक्न र उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सहकारी आफैं बजारीकरणमा उत्रिएको हो।

उनले भनिन्, ‘गाउँपालिका, किसान र संस्थाको पहिचान झल्किने गरी ३० हजार कार्टुन व्यवस्थापन गरेका छौँ। यस वर्ष करिब तीन लाख केजी स्याउ बिक्री–वितरण गर्ने लक्ष्य राखेका छौँ।’

उनका अनुसार सहकारीले आफ्नै कोल्ड स्टोर निर्माण गरिसकेको छ। स्थानीय बजारमा खपत हुने स्याउ कोल्ड स्टोरमा भण्डारण गरिनेछ भने बाँकी उत्पादन सुर्खेत, नेपालगञ्ज, काठमाडौंलगायतका प्रमुख बजारमा पठाइने तयारी गरिएको छ।

सहकारीका प्रबन्धक रत्नराज शाहीले किसानको उत्पादनले उचित मूल्य पाओस् र बिक्री गरेलगत्तै भुक्तानी प्राप्त होस् भन्ने नै संस्थाको मुख्य उद्देश्य रहेको बताए। स्याउ बिक्री गर्नुअघि आर्थिक आवश्यकता भएका किसानलाई अग्रिम पेस्की उपलब्ध गराइने व्यवस्था गरिएको उनले जानकारी दिए।

चन्दननाथ सहकारीले यसअघि पनि कर्णालीका रैथाने उत्पादन मार्सी चामल, फापर, सिमी, भटमास, चिनो, कागुनो, चामल र पिठोलाई काठमाडौंको भद्रकाली, जुम्लाको खलंगा, सुर्खेत, नेपालगञ्ज र काठमाडौंसम्म पुर्‍याउँदै आएको छ। अब त्यही सञ्जालमार्फत जुम्लाको स्याउलाई पनि राष्ट्रिय बजारमा विस्तार गर्ने योजना बनाइएको हो।

यस अभियानले किसानलाई मात्र होइन, जुम्लाको पहिचान बनेको स्याउलाई पनि नयाँ बजार दिलाउने अपेक्षा गरिएको छ।

यसैबीच, जिल्लाको सर्वपक्षीय बैठकले भदौ पहिलो सातापछि मात्रै स्याउ टिप्ने र बिक्री–वितरण सुरु गर्ने निर्णय गरेको छ। 

कृषि शाखाका प्राविधिकले स्याउ परिपक्व भए/नभएको परीक्षण गरेपछि मात्रै टिप्न र निर्यातका लागि सिफारिस दिने व्यवस्था गरिएको छ। यसले काँचो स्याउ बजारमा पुग्ने समस्या न्यूनीकरण हुने विश्वास गरिएको छ।

कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा धेरै ४४ सय हेक्टर क्षेत्रफलमा जुम्लामा स्याउ खेती हुने गरेको छ। उत्पादन बढ्दै गए पनि बजार व्यवस्थापन चुनौतीपूर्ण रहँदै आएको अवस्थामा सहकारीको यो पहललाई किसानले आशाका रूपमा हेरेका छन्।

यदि घोषित योजना प्रभावकारी रूपमा कार्यान्वयन भयो भने, जुम्लाका किसानले वर्षौंदेखि भोग्दै आएको कम मूल्य, ढिलो भुक्तानी र बिचौलियामाथिको निर्भरता घट्न सक्ने अपेक्षा गरिएको छ। यसले जुम्लाको स्याउलाई राष्ट्रिय बजारमा थप प्रतिस्पर्धी बनाउनुका साथै कृषिमा आधारित स्थानीय अर्थतन्त्रलाई पनि नयाँ ऊर्जा दिने विश्वास गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार