सोमबार, ११ श्रावण, २०८३

१८ वर्ष राजनीति गरेका राप्रपाका पूर्व जिल्ला उपाध्यक्ष देवकोटाले छोडे पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व जिल्ला उपाध्यक्ष तथा अघिल्लो निर्वाचनमा प्रदेश सभा उम्मेदवार गिल्बादी अंगत प्रसाद देवकोटाले पार्टीको साधारण सदस्यसहित सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्।

देवकोटाले १८ वर्ष लामो राजनीतिक यात्रा अन्त्य गर्दै पार्टीबाट अलग भएको घोषणा गरेका हुन्। उनले एक प्रेस विज्ञप्ति जारी गर्दै आफूले राप्रपामा रहेर पूर्व जिल्ला उपाध्यक्ष, प्रदेश सभा उम्मेदवार तथा प्रवास विभाग केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्दै पार्टी संगठन निर्माणमा योगदान पुर्‍याएको उल्लेख गरेका छन्।

विगत १८ वर्षदेखि राष्ट्र, राष्ट्रियता, राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा विभिन्न आन्दोलन, संघर्ष तथा सडक अभियानमा सक्रिय सहभागिता जनाएको बताउँदै उनले पार्टीभित्रको पछिल्लो अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

देवकोटाले हजारौँ राष्ट्रवादी युवाको संघर्ष र समर्पणका बाबजुद पार्टीभित्र पदलोलुप, स्वार्थी र अवसरवादी प्रवृत्तिले पार्टीलाई बन्धक बनाएको अनुभूति भएको बताएका छन्। यस्ता प्रवृत्तिका कारण इमानदार तथा राष्ट्रवादी युवाको योगदान र भविष्य निराश बनेको उनको भनाइ छ।

उनले पार्टीबाट अलग हुने निर्णय व्यक्तिगत रिस, द्वेष वा आवेगका कारण नभई आत्मसम्मान, सिद्धान्त र राष्ट्रप्रतिको प्रतिबद्धता कायम राख्ने उद्देश्यले गरिएको स्पष्ट पारेका छन्।

पार्टी छाडे पनि आफ्नो राजनीतिक आस्था र विचार परिवर्तन नहुने बताउँदै देवकोटाले हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था र राष्ट्रवादी विचारका पक्षमा जीवनभर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

राजीनामा घोषणा गर्दै उनले राप्रपामा रहँदा साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण साथी, शुभेच्छुक तथा अग्रजप्रति आभार व्यक्त गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार