जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ भण्डारीवाडामा बेहोस अवस्थामा फेला परेका २२ वर्षीय सन्त बहादुर भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
प्रहरीका अनुसार साउन ७ गते राति ९ बजे स्थानीय २१ वर्षीय अनिल भण्डारीको घरमा सँगै सुतिरहेका सन्त बहादुर भण्डारी अर्को दिन बिहान ८ बजे आगनमा बेहोस अवस्थामा फेला परेका थिए। उनको नाक र मुखबाट रगत बगिरहेको अवस्थामा फेला परेपछि तत्काल उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला ल्याइएको थियो।
अवस्था गम्भीर भएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज न्यूरो मेडिकल अस्पतालमा थप उपचारका लागि पठाइएको थियो। तर, आज ११ गते बिहान ९ बजे डाक्टरले उनको मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिए।
यस घटनाबारे जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी चिरञ्जीवी दाहालले भने, ‘बेहोस अवस्थामा फेला परेका युवकको उपचारका क्रममा मृत्यु भएको खबर प्राप्त भएको छ। घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ।’
मृतक भण्डारी कनकासुन्दरी गाउँपालिका–८ भण्डारीवाडाका स्थानीय हुन्। उनीसँगै सुतिरहेका अनिल भण्डारी र गोपाल सार्की पनि सोही ठाउँका बासिन्दा हुन्। घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ।
















