सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडपपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार आइतबार राति भएको विवाद नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो। घटनामा प्रहरीको गोली लागेर आठ जना प्रदर्शनकारी घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
घटनापछि थप अप्रिय अवस्था सिर्जना हुन नदिन प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी सुनसरीको दक्षिण क्षेत्रका हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेका छन्।
कर्फ्यु अवधिभर सर्वसाधारणको आवतजावत, भेला, जुलुस, सभा तथा प्रदर्शनलगायत सबै गतिविधिमा रोक लगाइएको प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार हरिनगरा बजार क्षेत्रमा पूर्वतर्फ नूनिया टोल, पश्चिमतर्फ खुनिया धार, उत्तरतर्फ हरिनगरा गाउँपालिका कार्यालय र दक्षिणतर्फ बसन्तपुर मोडसम्मको क्षेत्र कर्फ्युको दायरामा परेको छ।
हाल प्रभावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा उपस्थिति बढाइएको छ भने अवस्था सामान्य बनाउन प्रशासनले निगरानी तीव्र पारेको छ।














