जुम्लामा प्रहरीले ३३० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चन्दननाथ नगरपालिका–६ छिनास्थित एक घरको कोठामा लागुऔषध सेवन भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले बुधबार राति करिब ८ बजे छापा मारेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी निरीक्षक शालिकराम खनालको कमाण्डमा खटिएको ११ जनाको प्रहरी टोलीले उक्त स्थानमा पुगेर कानुनबमोजिम खानतलासी गर्दा लुकाइछिपाई राखिएको अवस्थामा ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका–६ छिनाका २३ वर्षीय रविन्द्र रोकाया, सोही स्थानका २९ वर्षीय विष्णु रावल र बाँकेको तत्कालीन उपमहानगरपालिका–५ फुलटिक्राका स्थायी बासिन्दा तथा हाल चन्दननाथ नगरपालिका–६ बसपार्कस्थित सोनेरी एन्ड मोटरपार्टसका सञ्चालक ३६ वर्षीय महमद सकिल रङरेट रहेका छन्।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बरामद पदार्थलाई मान्यता प्राप्त तराजुमा तौल गर्दा शुद्ध ३३० मिलिग्राम रहेको प्रहरीको भनाइ छ।
घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
















