व्यापारी तथा राजनीतिज्ञ गणेशबहादुर शाहीले आफ्नो जन्मदिनको अवसरलाई सामाजिक सेवासँग जोड्दै ९० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्।
आठबीस नगरपालिका–५, दैलेखस्थित न्यू भेरी कर्णाली मोर्डन इङ्लिस स्कुलमा आयोजित कार्यक्रममा जेहेन्दार तथा अध्ययनशील विद्यार्थीलाई कापी, पेन्सिल, इरेजर, कटरलगायत आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो।
जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्र सीमित नगरी सामाजिक सेवामार्फत मनाउने उद्देश्यले विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको शाहीले बताए।

उनले भने, ‘शिक्षा नै राष्ट्र विकासको प्रमुख आधार हो। विद्यार्थीको उज्ज्वल भविष्य निर्माणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्छ।’
विद्यालयका प्रबन्ध निर्देशक भरत साउद सृजनका अनुसार कार्यक्रममा ९० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो।
उनले जन्मदिनको अवसरमा शाहीले देखाएको सामाजिक उत्तरदायित्व र शिक्षाप्रतिको प्रतिबद्धता प्रशंसनीय तथा प्रेरणादायी रहेको बताउँदै विद्यालय परिवारका तर्फबाट धन्यवाद व्यक्त गरे।
साउदले यस्ता रचनात्मक सामाजिक कार्यले विद्यार्थीमा अध्ययनप्रतिको रुचि, आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘समाजका अन्य व्यवसायी, राजनीतिज्ञ, जनप्रतिनिधि तथा सहयोगी मन भएका व्यक्तिहरूलाई पनि जन्मदिन तथा अन्य विशेष अवसरलाई सामाजिक सेवासँग जोड्न आग्रह गर्छु।’
शैक्षिक सामग्री प्राप्त गरेका विद्यार्थीहरूले सहयोगदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ मेहनतका साथ अध्ययन गरी विद्यालय, परिवार र राष्ट्रको नाम उज्ज्वल बनाउने प्रतिबद्धता जनाएका छन्।
जन्मदिनको अवसरलाई सामाजिक सेवा र शिक्षासँग जोडेर गरिएको उक्त सहयोगले विद्यार्थीलाई अध्ययनमा थप प्रेरणा मिल्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको विद्यालयले जनाएको छ।

















