लागुऔषध (ब्राउन सुगर) मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका फरार प्रतिवादी नेपालगञ्जबाट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आइतबार बिहान करिब ११:०० बजे फैसला कार्यान्वयनका क्रममा खटिएको प्रहरी टोलीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ शिव मन्दिर क्षेत्रमा खोजतलास गर्ने क्रममा ३४ वर्षीय कमरूदिन अन्सारी (राजु)लाई पक्राउ गरेको हो।
सम्मानित सुर्खेत जिल्ला अदालतको २०८० साउन १ गतेको फैसलाअनुसार लागुऔषध (ब्राउन सुगर) मुद्दामा अन्सारीलाई १ महिना १५ दिन कैद सजाय हुने फैसला भएको थियो। उनी फरार रहेपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।
प्रहरी वरिष्ठ नायब निरीक्षक (प्र.व.ना.नि.) ज्ञानेन्द्रबहादुर शाही नेतृत्वको टोलीले अन्सारीलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतको जिम्मामा राखेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी कबिन्द्र सिंह बोहराले फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयन प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।














