सुर्खेतको गुर्भाकोट नगरपालिका–११ स्थित भित्री सडकखण्डमा भिरबाट खसेको ढुङ्गा लाग्दा एक युवक गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आइतबार दिउँसो करिब १:०० बजे भित्रीखोलाबाट मेहेलकुना तर्फ आउँदै गरेको भे २ ह १०७६ नम्बरको अटोमा सवार गुर्भाकोट नगरपालिका–११ भित्रीखोलाका २३ वर्षीय यमबहादुर खत्रीलाई सडकमाथिको भिरबाट खसेको ढुङ्गाले लाग्दा पेट र छातीमा गम्भीर चोट लागेको हो।
घाइते खत्रीलाई तत्काल मेहेलकुना अस्पतालमा पुर्याई सामान्य उपचारपछि थप उपचारका लागि दिउँसो करिब २:०० बजे नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भीर भए पनि हल्का बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ।
उक्त अटो स्थानीय ३७ वर्षीय नोखबहादुर खत्रीले चलाइरहेका थिए। घटनापछि अटो र चालकलाई प्रहरी चौकी मेहेलकुनाको नियन्त्रणमा राखिएको छ।
घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी कबिन्द्र सिंह बोहराले घटनाको थप अनुसन्धान भइरहेको बताएका छन्।














