माननीय शिक्षा तथा खेलकुद मन्त्रीज्यू,
सिंहदरबार, काठमाडौँ, नेपाल।
विषय: शिक्षा नियमावलीको १०औँ संशोधनको सरुवा व्यवस्था पुनर्विचार सम्बन्धमा।
महोदय,
नेपालका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तर्फबाट ‘शिक्षा नियमावली, २०५९’ को दसौँ संशोधनका केही व्यवस्थाहरूप्रति असन्तुष्टि र आफ्नो गम्भीर पीडा व्यक्त गर्न यो खुला पत्र प्रस्तुत गरेको छु।
शिक्षक सरुवा प्रक्रिया निष्पक्ष र पारदर्शी हुनुपर्छ भन्ने कुरामा दुईमत छैन। तर, एकपटक पनि घरपायक सरुवाको अवसर नदिई सेवा अवधि ३ वर्ष पुग्नुपर्ने र अंक (नम्बर) का आधारमा मात्र सरुवा हुने नयाँ व्यवस्थाले म जस्ता दुर्गम तथा गम्भीर समस्यामा परेका शिक्षकहरूलाई ठुलो अन्याय भएको छ।
म विगत २०८० साल चैत २८ गते पर्सा जिल्लाबाट प्रा.वि. तहमा स्थायी नियुक्ति लिएको शिक्षक हुँ। स्थानीय सरकारको ढिलाइका कारण पदस्थापन ढिलो हुँदा म लगायत ४६ जना शिक्षकले एउटा ग्रेड गुमाउनु पर्यो। पछि तत्कालीन मन्त्रीज्यूको पालामा आएको सरुवा मापदण्ड र चलखेलका कारण पहुँचवालाहरूको मात्र सरुवा भयो, तर हामी पहुँचविहीन शिक्षकहरू मर्कामा पर्यौँ।
हाल मधेस प्रदेशका करिब ६०% विद्यालयमा विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) छैन, जसका कारण सरुवाका लागि वडाध्यक्षबाट सहमति लिन खोज्दा समेत प्रशासनिक असहयोगका कारण विगत २ वर्षदेखि मैले दरखास्त पेस गर्न पाएको छैन।
म जाजरकोट जिल्लाको स्थायी बासिन्दा हुँ। जाजरकोटबाट कार्यक्षेत्र पुग्न ६५०–७०० किलोमिटर दुरी पार गर्नुका साथै एकपटकमा १० हजार भाडा खर्च र यहाँको कोठा भाडा र अन्य खर्च जोड्दा जागिरको तलबले पुग्न गाह्रो देखिन्छ।
उता भूकम्पका कारण मेरो घर भत्किएर मेरा बालबच्चाहरू अझै पनि अस्थायी टहरामा असुरक्षित रूपमा बसिरहेका छन्। हालै मात्र पहिरोले टहरा पुरिँदा गाउँमा मानवीय क्षति समेत भएको छ।
यस्तो विकराल पारिवारिक संकट र मानसिक तनावका बीच, आफ्ना साना बालबच्चालाई टहरामै छोडेर मधेस प्रदेशमा आएर खुसी मनले शिक्षण कार्य गर्न अत्यन्तै कठिन भइरहेको छ। साथै, यहाँको भाषिक समस्याका कारण शिक्षण सिकाइमा थप चुनौती भोग्नुपरेको छ।
अतः जाजरकोट भूकम्प पीडित तथा असाध्यै व्यावहारिक मर्कामा परेका शिक्षकहरूको मानवीय अवस्थालाई मध्यनजर गर्दै सरुवा प्रक्रियामा विशेष सहजता र प्राथमिकताका लागि आवश्यक पहल गरिदिनुहुन सम्माननीय मन्त्रीज्यू समक्ष हार्दिक अनुरोध गर्दछु।
भवदीय,
खिम बहादुर खड्का
भेरी नगरपालिका-२, जाजरकोट
श्री तिलावे राष्ट्रिय आधारभूत विद्यालय, वीरगन्ज म.न.पा.-२७, रामपुर, पर्सा।
















