जिल्ला प्रहरी कार्यालय जुम्लाले लागूऔषध (चरेस र गाँजा) सम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार असार २२ गते साँझ करिब ७:०० बजे तातोपानी गाउँपालिका–१ राँकोस्थित नाग्म–जुम्ला सडकखण्डमा विशेष टोलीले शङ्कास्पद अवस्थामा रहेका जुम्ला तातोपानी–१ का २५ वर्षीय गोविन्द शाहीलाई खानतलासी गर्दा उनको साथबाट चरेसजस्तो देखिने कालो पदार्थ दुई वटा डल्ला बरामद भएको थियो। तौल गर्दा उक्त पदार्थ १ ग्राम ४२ मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
त्यसपछि प्रहरीले हिमा गाउँपालिका–१ स्याउगाउँका २५ वर्षीय रसल शाहीलाई पनि शङ्कास्पद अवस्थामा फेला पारी खानतलासी गरेको थियो। उनको साथबाट चरेसजस्तो देखिने कालो पदार्थ एक डल्ला बरामद भएको थियो। साथै, घरमा गरिएको खानतलासीका क्रममा कोठाभित्र प्लास्टिकको बोराभित्र लुकाइराखिएको अर्को एक डल्ला चरेस तथा सुकेको गाँजाको धुलोजस्तो पदार्थ समेत फेला परेको प्रहरीले जनाएको छ।
बरामद लागूऔषधमध्ये चरेसको कुल तौल ३ ग्राम १६ मिलिग्राम र गाँजाको तौल १.७४५ ग्राम रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। सम्मानित जुम्ला जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।















