शुक्रबार, १९ असार, २०८३

हिमाको नेत्रज्योति माविमा सुनौं महिनावारीका कुराको तेस्रो संस्करण

महिनावारीको समयमा छुट्टै कोठा खोज्ने मानसिकताबाट माथि उठेर, सधै सुत्ने आफ्नै घरको न्यानो कोठामा ससम्मान बस्न पाउनुपर्छ भन्ने वैचारिक बहस हिमामा सुरु भइसकेको छ। ​

जुम्लाको हिमा गाउँपालिकामा यतिबेला परिवर्तनको नयाँ हावा बहिरहेको छ। वर्षौँदेखि समाजको पिँधमा जरा गाडेर बसेक महिनावारी विभेद जस्तो कुरीतिलाई भत्काउँदै यहाँका नागरिकहरू अब उज्यालो र सभ्य समाज निर्माणको यात्रामा अगाडि बढेका छन्। कुनै समय घरको अँध्यारो कुनामा लुकाएर राखिने र कानेखुसी मात्र गरिने महिनावारीका विषयहरू आजभोलि खुला मञ्च, विद्यालयका प्राङ्गण र सार्वजनिक चौतारीहरूमा सानका साथ उठ्न थालेका छन्।

यसै सन्दर्भमा, हिमा गाउँपालिकाको नेत्र ज्योति प्राविधिक माध्यमिक विद्यालयमा आयोजना गरिएको ‘मर्यादित महिनावारीमा सुनौँ महिनावारीका कुरा’ अभियानको तेस्रो संस्करणले समाज रूपान्तरणको एउटा निकै सुन्दर र सकारात्मक तस्बिर प्रस्तुत गरेको छ। जहाँ स्थानीय सरकार, विकास साझेदार संस्था, शिक्षक, विद्यार्थी र धार्मिक अगुवाहरू एउटै थलोमा उभिएर छाउपडी प्रथा अन्त्य गर्ने सामूहिक सङ्कल्प गरेका छन्।



​समस्या लुकाएर होइन, बाहिर ल्याएर मात्र समाधान गर्न सकिन्छ भन्ने चेतना छात्राहरू रानीपुरा रोकाया, बबिता रोकाया र सपना थापाहरूमा आउनु आफैमा एउटा ठूलो वैचारिक क्रान्ति हो। आफ्नो हकअधिकारका लागि विद्यालयको प्राङ्गणमा उभिएर निर्धक्क बोल्न सक्ने यी किशोरीहरू नै भोलिका हिमा गाउँपालिकाका परिवर्तनका संवाहक हुन्।

​कुनै पनि समाजको कुरीति अन्त्य गर्न स्थानीय सरकारको इच्छाशक्ति सबैभन्दा महत्त्वपूर्ण हुन्छ। यस मामिलामा हिमा गाउँपालिकाले आफूलाई अब्बल साबित गरेको छ। गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीको नेतृत्वमा पालिकाले ‘मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि’ नै निर्माण गरेर यसलाई संस्थागत गरेको छ। यो कार्यविधिले महिनावारीलाई केवल महिलाको समस्या नभई सिङ्गो समाजको चासोको विषय बनाएको छ।

​’महिलाहरुका यी तिक्त र मर्माहत पार्ने अनुभवले स्थानीय सरकार यस कुप्रथालाई निर्मूल पार्न दृढ संकल्पित छ,’ उनले भने, ‘हिमा गाउँपालिकाले ‘मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि’ नै निर्माण गरेर सम्पूर्ण गाउँ, बस्ती, टोल र विद्यालयहरूमा युवा तथा किशोरकिशोरीहरू केन्द्रित सचेतनामूलक अभियान सञ्चालन गरिरहेको छ।’



गाउँपालिकाले पालिकाभित्रका सम्पूर्ण माध्यमिक विद्यालयहरूमा पुगेर विद्यार्थी र शिक्षकहरूसँग प्रत्यक्ष संवाद गर्ने अभियान चलाएको अध्यक्ष शाहीको भनाई छ। उनका अनुसार विद्यालयमा महिनावारी प्याडको सहज उपलब्धता, त्यसको सुरक्षित विसर्जनका लागि खाडलको व्यवस्थापन र शौचालयको सहज प्रयोगको वातावरण मिलाउन पालिकाले प्रशासनलाई सक्रिय बनाएको छ।

‘भाषणभन्दा पनि काममा जोड दिँदै, महिनावारीको बेला महिलालाई थप पोषणयुक्त खानेकुरा दिने, पुरुष दाजुभाइले घरको काममा सघाउने र मानसिक रूपमा बलियो बनाउने वातावरण सिर्जना गर्न घरपरिवारलाई अपिल गर्छु,’ उनले भने।

​हिमा गाउँपालिकाको यो उज्यालो यात्रामा खानेपानी, सरसफाइ तथा स्वच्छता को क्षेत्रमा काम गरिरहेको सुस्वा परियोजनाले निकै महत्त्वपूर्ण र सकारात्मक भूमिका खेलिरहेको छ।



गाउँपालिकाकी उपाध्यक्ष सुर्पुना शाहीले स्थानीय सरकार र सुस्वा परियोजनाले चेतना र विकासको ‘बाटो देखाइदिने’ र ‘बाटो खनिदिने’ काम गरिरहेका छन्। सुस्वाले महिनावारीको समयमा आवश्यक पर्ने सरसफाइ, सुरक्षित शौचालय र स्वच्छ खानेपानीको पहुँचलाई सहज बनाउन प्राविधिक र चेतनामूलक सहयोग प्रदान गरिरहेको छ।

भौतिक संरचना (शौचालय/धारा) निर्माण मात्र नभई, महिनावारीको बेला ती संरचनाहरू महिलाले निर्धक्क प्रयोग गर्न पाउनुपर्छ भन्ने चेतना गाउँ–गाउँमा फैलाउन सुस्वा परियोजनाले स्थानीय सरकारसँग मिलेर काम गरिरहेको सुस्वा परियोजना हिमा गाउँपालिकाकी प्रमुख सुमित्रा शाहीले बताइन्।

​कुनै पनि सामाजिक परिवर्तन तब मात्र पूर्ण हुन्छ, जब समाजका परम्परागत र धार्मिक अगुवाहरूले त्यसलाई आत्मसात् गर्छन्। हिमा गाउँपालिकामा देखिएको सबैभन्दा सकारात्मक पक्ष भनेकै लामा विष्णुका थानका धामी जनके रोकाया लगायतका धार्मिक गुरुहरूको प्रगतिशील विचार हो।



धामी जनके रोकायाले महादेवलाई पार्वती र रामलाई सीता चाहिएको दृष्टान्त दिँदै, सृष्टिको निरन्तरताका लागि महिलाको भूमिका अपरिहार्य रहेको कुरा सार्वजनिक रूपमै स्वीकार गरे। ‘हामी धामीहरू स्वर्गबाट झरेका होइनौँ, हाम्रै आमाको गर्भबाट जन्मेका हौँ,’ उनले भने।

धामी–झाँक्रीहरू नै महिनावारीलाई पाप नभई प्राकृतिक नियम मान्न तयार हुनु हिमा गाउँपालिकाले सञ्चालन गरेको सचेतना अभियानको निकै ठूलो उपलब्धि हो।

​गाउँपालिकाकी उपाध्यक्ष सुर्पुना शाहीले महिलाका पीडालाई नजिकबाट बुझेर जसरी अपनत्व ग्रहण गरेकी छन्, त्यसले किशोरीहरूमा ठूलो ढाडस मिलेको छ। विगतका कहालीलाग्दा दिनहरू (जौको रोटी मात्र खानुपर्ने, भाँडाकुँडा छुन नपाइने) को स्मरण गर्दै उनले अहिलेको पुस्ताले पाएको शिक्षा र चेतनाको अवसरलाई सही सदुपयोग गर्नुपर्नेमा जोड दिइन्। ‘महिनावारी भनेको त एउटा फूल फुल्ने प्राकृतिक प्रक्रिया मात्र हो,’ उनले भनिन्।

महिनावारीको समयमा छुट्टै कोठा खोज्ने मानसिकताबाट माथि उठेर, सधै सुत्ने आफ्नै घरको न्यानो कोठामा ससम्मान बस्न पाउनुपर्छ भन्ने वैचारिक बहस हिमामा सुरु भइसकेको छ।

गाउँपालिकाको स्पष्ट नीति र सुस्वा परियोजनाको प्रभावकारी साझेदारीले गर्दा हिमाका किशोरीहरूको अनुहारमा अब डर होइन, आत्मविश्वास देखिन थालेको छ। समाजका भद्रभलाद्मी, शिक्षक, युवा र धार्मिक अगुवाहरू सबै मिलेर यसलाई एउटा महाअभियानका रूपमा अगाडि बढाउँदैछन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार