बिहीबार, ११ असार, २०८३

अन्तर्वार्ता : स्वदेशमै बेरोजगार भएँ भनेर भौतारिनु पर्दैन, बरु रोजगार दिन सकिन्छ


विदेशी भूमिमा बगाएको पसिना र सिकेको सीपलाई स्वदेशको माटोमा सिँचेर उदाहरणीय बनेका युवा उद्यमी हुनुहुन्छ, चित्र बुढा। जुम्लाको विकट परिवेशबाट उहाँ वैदेशिक रोजगारीका लागि अरब पुग्नु भएको थियोे।

त्यहाँ झन्डै एक दशक लामो समय शून्य तह (हेल्पर) बाट संघर्ष सुरु गर्दै उहाँ पाँचतारे होटेलको सुपरभाइजर लेभलको सेफ सम्म बन्न सफल हुनुभयो। तर, सन् २०२० को कोरोना महामारीपछि आफ्नो सीपलाई आफ्नै जन्मभूमिमा उपयोग गर्ने दृढ संकल्पका साथ उहाँ नेपाल फर्किनु भयो।

जुम्लाको गुठीचौर गाउँपालिका वडा नं. ३ मा उहाँले बुवा र आमाको नामबाट ‘सुर एन सुपन्न अर्गानिक होटेल तथा होमस्टे’ स्थापना गर्नुभयो। जुम्लाका रैथाने र अर्गानिक उत्पादनहरूलाई प्रवर्द्धन गर्दै उनले स्थानीय ‘रुगा सागको फाँडो’लाई अन्तर्राष्ट्रिय स्तरमा ‘जुम्ली क्लाउडी सुप’ को रूपमा चिनाउनु भएको छ।

होटेल व्यवसायसँगै व्यावसायिक भेडा पालन (स्रोत केन्द्र) समेत चलाइरहेका बुढाले स्थानीय युवाहरूलाई सीपमूलक तालिम दिएर स्वरोजगार बन्न प्रेरित गरिरहनु भएको छ।

प्रस्तुत छ, जुम्लाको पर्यटन, अर्गानिक खानाको ब्राण्डिङ, युवा स्वरोजगार, सरकारी प्रक्रियाका झमेला र उद्यमशीलताका चुनौती तथा सम्भावनाहरूका बारेमा कुटिरो विशेष संवादका लागि महेश नेपालीले उहाँसँग गरेको कुराकानीको सम्पादित अंश।

नमस्कार, कुटिरो विशेष संवादमा यहाँलाई हार्दिक स्वागत छ।

नमस्कार, धन्यवाद। होटेल व्यवसायले टुरिजम (पर्यटन) मार्फत नेपाललाई समृद्ध बनाउन र व्यवसाय प्रति पहिचान बनाउन अहम् भूमिका खेलिरहेको हुन्छ। मैले लामो समय (लगभग १० वर्ष) विदेशमा अर्काको ठाउँमा काम गरेँ। सन् २०२० मा जब कोरोना महामारी सुरु भयो, त्यसपछि म जुम्ला फिर्ता भएँ। यहाँ आएर सोचेँ, जुम्ला त हरेक कुराले समृद्ध ठाउँ छ, हामीले सुनेको भन्दा फरक छ। यहीँ केही गर्नुपर्छ भन्ने सोच र उत्साहका साथ मैले यो व्यवसाय सुरु गरेँ।

​तर तपाईं जुन बेला अरब (विदेश) जानुभयो, त्यो बेला त यहाँ बेरोजगारी छ, कमाइ खाने भाँडो छैन, यहाँ बस्न कठिन छ भन्ने सोचेरै जानुभएको होला नि? कि अरू कुनै कारण थियो?

​अवश्य पनि, कारण त्यही नै हो। हामीसँग यहाँ रोजगारी थिएन। हामी एकदम न्यून वर्गबाट आएका मान्छे हौँ, हामीसँग पहुँच थिएन। संघर्ष गर्नुपर्छ भन्ने त थियो, तर सुरुमै यसरी आफ्नै होटेल खोल्नुपर्छ भन्ने ठ्याक्कै सोच बनिसकेको थिएन।

बाहिर गएर केही न केही सिकेर आउँछौँ र आफ्नै ठाउँमा केही गर्छौँ भन्ने एउटा उद्देश्य भने अवश्य थियो। लामो बसाइ र त्यहाँको सिकाई पछि, अर्काको ठाउँमा धेरै मेहेनत गर्नुभन्दा आफ्नै ठाउँमा सीपको सदुपयोग गर्ने निर्णय गरेर म २०२० मा फर्किएँ।

विदेशबाट फर्किएपछि सुरुवाती दिनमा जुम्लामा काम सुरु गर्दा कस्ता अनुभव वा चुनौती रहे?

हामी गाउँ छोडेर जाँदा सुरुमा जुम्ली भाषाबाहेक अरू राम्रोसँग बोल्न पनि आउँदैनथ्यो। काठमाडौँ जाँदा पनि हाम्रो बोलीको ‘टोन’ ले गर्दा पहाडतिरको मान्छे भनेर चिन्थे।

सुरुवाती पोइन्टमा साह्रै नै गाह्रो भयो। तर बिस्तारै घुलमिल हुँदै काम गरियो। विदेशको राम्रो जागिर छोडेर जुम्ला आउँदा साथीहरूले यहाँ चुनौती छ पनि भनेका थिए।

यहाँ आएपछि मैले ‘सुर एण्ड सुपन्न अर्गानिक होमस्टे/होटेल’ खोल्ने निधो गरेँ। यसको नामाकरण मेरो बुवा (सुर बुढा) र आमा (सुपन्ना बुढा) को नामबाट गरेको हुँ।

जुम्लामा उत्पादित रैथाने चिज पाहुनाहरूलाई खुवाउने उद्देश्यले अर्गानिक अवधारणा सुरु गर्यौँ। ६ वर्षको अन्तरालमा आज यो एउटा ब्राण्डको रूपमा चिनिन सफल भएको छ।

तपाईंले विदेशमा हुँदा के काम गर्नुभएको थियो?

म एकदम जिरो लेभलबाट होटेल लाइनमा छिरेको मान्छे हुँ। म सुरुमा हेल्पर (होटेल सहयोगी) हुँदै फाइभ स्टार होटेलको सुपरभाइजर लेभलको सेफ (जसलाई हाम्रो भाषामा CDP – Chef de Partie भनिन्छ) सम्म पुगेर ब्याक भएको हुँ।

होटेल लाइनकै ज्ञान र अनुभव भएकाले मलाई यहाँ पनि होटेलमै केही गर्नुपर्छ भन्ने आत्मविश्वास भयो।

यहाँको त्यो सीप र ज्ञानलाई अहिले जुम्लामा कसरी उपयोग गरिरहनुभएको छ?

मैले सिकेको सीप ममा मात्र सीमित नरहोस् भनेर अहिले म जुम्लाका विभिन्न ठाउँहरूमा तालिम दिने गर्छु। गैरसरकारी संस्थाहरू र साना तथा घरेलु उद्योग कार्यालय वा पालिकाहरूको माग अनुसार होटेल व्यवस्थापन, सीप वृद्धि र युवा स्वरोजगार सम्बन्धी तालिम दिइरहेको छु।

यसका साथै, मेरो ज्ञान र सीपकै कारण अहिले जुम्लाको तातोपानी गाउँपालिका, चन्दनाथ नगरपालिका र पातारासी गाउँपालिकाका विद्यालयहरूमा ‘दिवा खाजा कार्यक्रम’ मा अर्गानिक खाजा मेनु क्रिएट गर्ने अवसर पाएँ।

विश्व खाद्य कार्यक्रम र स्थानीय पालिकाहरूसँगको समन्वयमा अहिले यी पालिकाहरू अर्गानिकमय भएका छन्। बच्चाहरू स्वस्थ छन् र स्कुल जान रुचाउँछन्।

होटेलसँगै तपाईंले भेडा पालन व्यवसाय पनि गरिरहनुभएको छ, त्यसको अवस्था कस्तो छ?

हो, होटेलसँगै कृषिमा पनि सम्भव हुनुपर्छ भनेर भेडा पालन सुरु गरेँ। अहिले मसँग बीउका लागि २०० माउ भेडा छन् र वार्षिक रूपमा यो संख्या ३०० को हाराहारीमा पुग्छ। हाम्रो टार्गेट वर्षमा १५० देखि २०० वटा भेडा बेच्ने हो।

भेडा पालनमा एकदम राम्रो आम्दानी छ। पहिला हाम्रो गाउँमा मासु प्रतिकेजी एक हजार देखि १२ सय रुपैयाँमा किनबेच हुन्थ्यो, तर हामीले स्रोत केन्द्र स्थापना गरेर काम गरेपछि अहिले ८०० रुपैयाँ पुर्‍याएका छौँ। उत्पादन बढाएर मूल्य आम मान्छेको पहुँचमा पुर्‍याउने हाम्रो सोच हो।

हाम्रा युवाहरूमा कामलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुहुन्छ? यहाँ बेरोजगारीको कुरा धेरै हुन्छ नि?

यहाँ मान्छेहरूमा अलिकति व्यवसायिक कन्सेप्ट छैन। गाउँमा दुई जनाले क्यारामबोर्ड खेलिरहेका छन् भने चार जना हेरेर बसिरहेका हुन्छन्, तर केही गर्नुपर्छ भन्ने सोच राख्दैनन्। हामी बेरोजगार छौँ भन्छौँ, तर सानातिना काम गर्न हिचकिचाउँछौँ।

जुम्लाका अधिकांश होटेलहरूमा खाना पकाउने मान्छेहरू नेपालगन्ज, सुर्खेत वा काठमाडौँबाट आएका छन्। उनीहरू यहाँ ५०-६० हजार तलब खाएर जान्छन्। तर हाम्रा स्थानीय युवाहरू ‘होटेलमा भाँडा माझ्ने काम पनि कसैले गर्छ र?’ भन्दै ट्याग लगाउँछन्।

काम सानो-ठूलो हुँदैन। विदेशमा गएर त हाउसकिपिङ, ट्वाइलेट क्लिनर वा जुनसुकै काम पनि गरिन्छ नि, किनभने त्यहाँ कामको भ्यालु छ। यहाँ काम गर्ने मान्छेलाई हेर्ने दृष्टिकोण र चेतनामा अझै वृद्धि हुन बाँकी छ।

तपाईंको होटेल व्यवसायको सुरुवाती दिनका कठिनाइ र अहिलेको अवस्था कस्तो छ? यसबाट कस्तो आम्दानी भइरहेको छ?

सुरुमा सबैभन्दा ठूलो समस्या ट्रान्सपोर्टेसन (यातायात) को थियो। सडक कच्ची, हिलाम्मे र धुलाम्मे थियो, गाडीभाडा र खर्च बढी हुन्थ्यो। तर विगत तीन वर्षयता सडक ग्राभेल भएपछि र गाडी, बिजुली, पानीको एक्सेस (पहुँच) भएपछि धेरै आनन्द भएको छ। अहिले पर्यटक र कस्टमरहरू ब्याक-टु-बैकै आइरहेका छन्।

आम्दानीको कुरा गर्दा, मेरा दुई छोरी काठमाडौँ र एक छोरा जुम्ला बजारमा पढिरहेका छन्। होटेलका स्टाफहरू म्यानेज गरेर, परिवारका सदस्यहरू (बुढाबुढी र अन्य) मिलेर काम गरिरहेका छौँ।

मेरो एउटा अवधारणाबाट ५-६ जनाले रोजगारी पाइरहेका छन् र परिवार राम्रोसँग चलेको छ। आत्मविश्वास र कडा मेहेनत भयो भने मान्छे कहिल्यै असफल हुँदैन।

गुठीचौर त अहिले जुम्लाकै प्रमुख पर्यटकीय गन्तव्य बनेको छ। हिजोका दिनमा यहाँ यत्तिको सम्भावना होला भन्ने सोच्नुभएको थियो?

म धेरै ठाउँ घुमेकाले मलाई यो सम्भावना छ भन्ने लाग्थ्यो। यो ठाउँ रारा तालबाट पनि नजिक पर्छ र जुम्लाकै लागि पनि उत्कृष्ट पिकनिक स्पट हो। यहाँको इन्भायरमेन्ट (वातावरण) नै छुट्टै छ।

अहिले जुम्लामा एमबिबिएस (MBBS), स्टाफ नर्सको पढाई हुने प्रतिष्ठान, विभिन्न संघसंस्थाहरू र कार्यालयहरू भएकाले मान्छेहरू ‘गुठीचौर जाऔँ’ भन्छन्। अहिले अटो चढेरै सजिलै आउन सकिन्छ।

तपाईंले विदेशको राम्रो जागिर छोडेर आउँदा कत्तिको रिस्क (जोखिम) महसुस भयो?

म विदेशमा हुँदा नेपाली १ लाख ८० हजार रुपैयाँ जति तलब हुन्थ्यो। त्यो जागिर छोडेर आउँदा सुरुका दुई दिन त मलाई निद्रै लागेन। झ्याप्पै छोडियो, अब यहाँ के होला भन्ने डर थियो।

तर ममा एउटा आत्मविश्वास के थियो भने, ममा सीप छ, असफल भएँ भने दुई-चार वर्ष दुख गरेर फेरि विदेश जाउँला वा साझेदारीमा काम गरुँला। अर्को कुरा, होटेलमा असफल भए कृषि (भेडा पालन) मा सफल हुन्छु भन्ने ‘ब्याकअप प्लान’ थियो।

अहिले मेरो होटेल कुनै भीआईपी वा लक्जरी स्टाइलको छैन; ढुङ्गा, माटो र काठले बनेको साधारण घर हो। तर यहाँ पाहुनाहरूले अर्गानिक खाना र स्थानीय न्यानोपनको भरपूर आनन्द लिनुहुन्छ।

तपाईंले आफ्नो रैथाने खानालाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन के-के गर्नुभयो?

अस्ति भर्खरै ४५ देशका इन्टरनेसनल सेफ सोसाइटीले आयोजना गरेको खाना प्रदर्शनीमा म झापाको दमक गएको थिएँ। त्यहाँ मैले जुम्ली खानाको प्रदर्शनी गरेँ। हाम्रो स्थानीय ‘रुवा सागको फाँडो’ (मकैको पीठो, रुगा साग र घिउ हालेर बनाइने) लाई मैले ‘जुम्ली क्लाउडी सुप’ (Jumli Cloudy Soup) नाम दिएर प्रस्तुत गरेँ, जसलाई अन्तर्राष्ट्रिय मार्केटले निकै रुचायो।

त्यस्तै १५ वटा रैथाने आइटम राखेर ‘जुम्ली थाली’ र चिनोबाट ‘जुम्ली स्वीट चिनो हनि पुडिङ’ बनाएँ। पहिला गरिबले खाने भनिने चिनो, फाँडो अहिले धनी र स्वास्थ्य सचेत मान्छेहरूको रोजाई बनेको छ।

गत साल काठमाडौँको भृकुटीमण्डपमा ३५ वर्षमुनिका युवा सेफहरूको रिसर्च हुँदा मलाई पनि देशका ५० प्रभावशाली युवाको सूचीमा समेटियो, किनकि मैले व्यावसायिक काम मात्र गरिनँ, डोल्पा, बाजुरा जस्ता दुर्गम ठाउँका गाउँ-गाउँमा गएर स्थानीयलाई उनीहरूकै राइस कुकरमा केक बनाउन समेत सिकाएर समुदायलाई योगदान दिएँ।

विदेशको कमाइ भन्दा यहाँ कमाइ कम हुँदा पनि खुसी मिल्दो रहेछ है? नेपालमा व्यवसाय गर्दाका जटिलता के हुन्?

एकदम सर! विदेशमा पैसा नै सबथोक होइन रहेछ जस्तो लाग्छ। यहाँ कसैको मर्दा-पर्दा, सुख-दुखमा साथ दिन पाउँदा छुट्टै खुसी मिल्छ। विदेशको लाइफ त होस्टेलको जस्तो एकहोरो हुन्छ, ज्यान त्यहाँ भए पनि ध्यान र सोच आफ्नै जन्मठाउँमा हुन्छ।

नेपालमा जटिलताको कुरा गर्दा, सरकारी र कानुनी प्रक्रिया निकै झन्झटिलो छ। एउटा भेडा उद्योगको स्रोत केन्द्र दर्ता गर्न झन्डै ६ महिना लाग्यो। सरकारी काममा ‘क्विक डिसिजन’ (चाँडो निर्णय) हुँदैन।

अर्को ठूलो जोखिम भनेको जुम्लाको बजारमा ‘उधारो’ संस्कृति छ। चिनजानको भरमा उधारो खाने र वर्षौँ गायब भइदिने प्रवृत्तिले गर्दा जुम्लाका धेरै ठूला-ठूला व्यवसायहरू डुबेका छन्।

पर्यटन र हस्पिटालिटी (अतिथि सत्कार) को क्षेत्रमा अझै सुधार गर्नुपर्ने कुरा के देख्नुहुन्छ?

हस्पिटालिटीमा हाम्रो कमजोरी छैन, ग्राहकले खोजे जस्तो फ्यासिलिटी दिइरहेका छौँ। तर बाहिरबाट आउने ग्राहकको रैथाने मागलाई अझै पूर्ण रूपमा पुर्याउन सकिएको छैन।

हामीले बाह्य वातावरण अझ सुन्दर बनाउनुपर्छ। जस्तै मनाङ तिर खोलानालाकै छेउमा भुइँमै बसौँ-बसौँ लाग्ने वातावरण हुन्छ। हाम्रो जुम्ला बजारमा भने होटेल नजिकै नाला वा खोला गनाउने समस्या छ।

बजार भन्दा गुठीचौर जस्तो शान्त र सुन्दर ठाउँमा मान्छे रमाउँछन्। अटो व्यवसायी, गाडी चालक, होटेल व्यवसायी सबैले आफ्नो व्यवहार परिवर्तन गरेर पाहुनालाई स्वागत गर्ने हो भने गुठीचौरले मात्रै पनि जुम्लालाई समृद्ध बनाउन सक्छ।

अन्त्यमा, तपाईंको उमेरका र विशेष गरी युवाहरूलाई के सुझाव दिन चाहनुहुन्छ?

मेरो सुझाव के छ भने, जब तपाईं २० वर्ष पार गर्नुहुन्छ, ३० वर्षको उमेरसम्म कुनै न कुनै कडा वा अनुभवी मान्छेसँग बसेर धेरै मेहेनतका साथ काम सिक्नुस्। जब ३० वर्ष पुग्नुहुन्छ, तब आफ्नो व्यवसाय वा करियरबारे केही निर्णय लिनुस्।

३० देखि ४० वर्षको उमेर भनेको ‘डिसिजन मेकर’ (निर्णय लिने) मुख्य उमेर हो। यो उमेरभित्र तपाईंले जे गर्नुहुन्छ, अनुभव र मेहेनतका साथ गर्नुस्। एउटा काममा असफल भए ब्याकअप प्लान राख्नुस् (भैँसी पालेर भएन गाई पाल्नुस्, गाई भएन भेडा पाल्नुस्)।

४० वर्ष कटेपछि ठूला निर्णय लिन गाह्रो हुन्छ। विदेश जानुहुन्छ भने पनि जानुस्, तर त्यहाँबाट केही सीप र ज्ञान सिकेर आउनुस् र आफ्नै ठाउँमा लगानी गर्नुस्। आफ्नो भ्यालु आफै बनाउनुस्। आत्मविश्वास र कडा मेहेनत कहिल्यै नछोड्नुस्।

हवस हामीलाई अमूल्य समय दिनुभयो, तपाईंलाई धेरै-धेरै धन्यवाद।

तपाईंहरूलाई पनि मेरो र मेरो होटेलको तर्फबाट धेरै-धेरै धन्यवाद।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार