सुर्खेतको चौकुने गाउँपालिका–३ बेतामस्थित एक होटलमा बसिरहेका एक वृद्धको एक्कासी मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पञ्चपुरी नगरपालिका–४ बराइँचे निवासी ६८ वर्षीय रोजबहादुर शाही बिहीबार बिहान सुर्खेत सदरमुकामबाट लगामतर्फ जाँदै थिए। उनी खगेन्द्र थापाले सञ्चालन गरेको कर्णाली प्रदेश ०२०० ख ०१९५ नम्बरको मिनीबसमार्फत यात्रा गरेका थिए।
प्रहरीका अनुसार शाही दिउँसो चौकुने गाउँपालिका–३ बेतामस्थित राजु रामजालीको होटलमा आएर बसेका थिए। साँझ करिब ८ः३५ बजेको समयमा उनी एक्कासी बिरामी भई मृत्यु भएको जानकारी अस्थायी प्रहरी पोस्ट लगाममा प्राप्त भएको थियो।
सूचना प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक ज्योति सिंहको कमाण्डमा दुई सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको नेतृत्वमा सोको (SOCO) सहित पाँच सदस्यीय टोली पनि घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ।
घटनास्थलको आवश्यक अनुसन्धान तथा मुचुल्का प्रक्रिया सम्पन्न गरी राति ११ः४० बजे शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र सालकोट पठाइएको छ। मृतकका भाइ पनि घटनाका बेला सँगै रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिनुभयो।















