संयोग पनि कस्तो पर्यो भने, खाना खाने क्रममा म जिल्ला समन्वय समिति प्रमुख गौरिनन्द आचार्य, गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईं, जिल्ला प्रहरी प्रमुख डिएसपी चिरञ्जीवी दाहाल र पूर्वमन्त्री माधव चौलागाईं लगायतका भीआईपीहरूको लहरमा बस्न पुगेँ।
गिडिदहतर्फको यात्राको दोस्रो दिन। मेरो मनको डायरीमा यो दिन एउटा यात्राको पाना मात्र रहेन, बरु रोमाञ्चकता, आत्मीयता र कहिल्यै नमेटिने अनुभवहरूको संगालो बनेर कोरियो।

फुलचौल्या पाटनको त्यो चिसो, सिरेटोयुक्त रात! बिहानको करिब ४ बज्दा नबज्दै हाम्रा आँखा खुले। टोलीमा हामी सात जना पत्रकार थियौं, मानदत्त रावल, नौरते नेपाली, लोकेन्द्रराज गिरी, आकाश सुनार, दीपक विक, श्रीकृष्ण सुनार र म। ओछ्यानबाट बाहिर निस्कँदा चिसोले शरीर थुरथुर कामिरहेको थियो।
बिहानै केही जाँगरिला साथीहरूले दाउरा खोजी ल्याएर आगो सल्काउनुभयो। रातभरि शीतले भिजेको पाल र भुइँको चिसोका कारण आँखामा राम्रोसँग निद्रा परेको थिएन। चिसोले गलिसकेको शरीरलाई त्यो आगोको रापले अमृतले जस्तै न्यानोपन दियो। आगो ताप्दै केही बेर गफियौँ र आफ्नो अस्थायी बासस्थान (पाल) छोडेर हाम्रो पाइला गिडिदहतर्फ सोझिए।

फुलचौल्या पाटनबाट तल खोलासम्मको बाटो जङ्गली ओरालो थियो। सुखद कुरा, हिँड्नका लागि पदमार्ग निकै राम्रो बनाइएको रहेछ। मेरो एउटा पुरानै बानी छ, उकालो, ओरालोमा उही रफ्तार! ओरालोमा खुट्टा अलि बढी दुख्ने समस्या भए पनि म बिस्तारै हिँड्नै सक्दिनँ। म सँगसँगै पत्रकार आकाश सुनार र श्रीकृष्ण सुनार पनि ओरालो बाटो काट्दै निकै अगाडि बढ्नुभयो।

ओरालो सकिएपछि हामी एउटा आकर्षक झोलुङ्गे पुलमा पुग्यौँ, जसको निर्माण कार्य अझै जारी थियो। चैतको अन्तिम सातादेखि त्यही विकट भूगोलमा बसेर पसिना बगाइरहेका मजदुर साथीहरूसँग छोटो कुराकानी गरेर हामी अगाडि बढ्यौँ।
अबको बाटो खासै उकालो थिएन। जङ्गलको बीचबाट तेर्सो-तेर्सो गएको बाटो हिँड्न निकै आनन्ददायी थियो। बाटोको छेउमा मैले ‘गुन्नाइनो’ नामक जडीबुटी फेला पारेँ। त्यसको बास्ना यति मनमोहक थियो कि मैले लोभिएर जरासहित उखेलेर झोलामा हालिहालेँ। त्यसको सुगन्धले मेरो झोला मात्र होइन, वरिपरि हिँडिरहेका साथीहरूको मन पनि सुवासित बनाइदियो।

त्यसपछि जङ्गलमा ‘रुवा साग’ का बिरुवाहरू देखिए। मैले पहिलो पटक देखेकाले चिन्न सकिनँ, तर सँगै यात्रा गरिरहनुभएका एक स्थानीय बुबाले चिनाइदिनुभयो। मैले तुरुन्तै त्यसलाई क्यामेरामा कैद गरेँ। अगाडि बढ्दै जाँदा निगालो, खर्सु र ठिंगोका रुखहरूले घेरिएको त्यो घना जङ्गल र बाटोभरि फुलेका रङ्गीचङ्गी जङ्गली फूलहरूले यात्राको सारा थकान बिर्साइदिए।
घडीमा बिहानको १० बज्दै गर्दा हाम्रो अगाडि एउटा विशाल निलो कञ्चन संसार खुल्यो, त्यो नै सुन्दर गिडिदह थियो! हामी पुग्दा खाना पकाउने टोली बन्दोबस्तमा जुटिसकेको थियो भने केही पर्यटकहरू आउने-जाने क्रम सुरु भइसकेको थियो।

दहको त्यो अलौकिक रूप देखेपछि हामी सिधै पानीको किनारतर्फ तानियौँ। केही तस्बिर र भिडियोहरू खिच्यौँ, जसले हाम्रा क्यामेराका मेमोरी कार्ड मात्र होइन, मनका पाना पनि भरे। त्यसपछि पालो आयो राती बस्ने पाल टाँग्ने ठाउँ खोज्ने।
हामी पुग्नुभन्दा तीन दिनअघि नै तातोपानी गाउँपालिका–३ का केही सहयोगी युवाहरू त्यहाँ पुग्नुभएको रहेछ। उहाँहरूले हाम्रो अलमल्ल परेको टोलीलाई देखेपछि आफै अघि सरेर पाल बनाउन सहयोग गर्ने प्रस्ताव गर्नुभयो। उहाँहरूले जङ्गलबाट निगालो काटेर ल्याइदिनुभयो र म अनि अर्का एक भाइ मिलेर पालको एउटा बलियो संरचना तयार पार्यौँ।

काम सकिएपछि ती भाइहरूले आफ्नै लागि ल्याएको चाउचाउ उमालेर निकै मायाका साथ हामीलाई खान दिए। विकट हिमाली क्षेत्रमा आफूसँग भएको थोरै गाँस पनि बाँडेर अतिथि सत्कार गर्ने उनीहरूको त्यो पवित्र र निष्कपट व्यवहारले मेरो मन जुरुक्कै भयो। ती अज्ञात तर आत्मीय भाइहरूलाई मनैदेखि धन्यवाद!
दिउँसोसम्म त गिडिदहको किनार कुनै उत्सव भूमि जस्तै भइसकेको थियो। वातावरण, पर्यटन र जलवायु सम्बन्धी आयोजना गरिएको उक्त सम्मेलनमा करिब छ सय (५६४) जनाको उत्साहजनक उपस्थिति थियो।

कार्यक्रमका प्रमुख अतिथि पूर्व वन तथा वातावरण मन्त्री माधव चौलागाईं हुनुहुन्थ्यो भने अध्यक्षता तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले गर्नुभएको थियो। त्यस्तै, विशेष अतिथिका रूपमा जिल्ला समन्वय समिति प्रमुख गौरिनन्द आचार्य उपस्थित हुनुहुन्थ्यो।
त्यो हिमाली काखमा देउडाको घन्किएको ताल, विद्यार्थीहरूको वक्तृत्वकला र सांस्कृतिक प्रस्तुतिले सुनमा सुगन्ध थपेको थियो। प्राकृतिक सौन्दर्य र संस्कृतिको त्यो फ्युजन साँच्चै लोभलाग्दो थियो।

‘एक थाल भात’ र अदालतको मुद्दा!
दिउँसोको भोजनको समय भयो। आयोजकले करिब ३०० जनाको अनुमान गरेर तयारी गरेका रहेछन्, तर मान्छे पुगिदिए ५६४ भन्दा बढी! परिणामस्वरुप, खाना खाने थालको हाहाकार भयो।
भोको पेट, हातमा थाल छैन! म पनि यताउता थाल खोज्दै भौंतारिन थालेँ। एक जना दिदीले भात खाँदै गरेको देखेर ‘उहाँले खाइसकेपछि त्यही थाल धोएर खाम्ला’ भनेर ढुकेर बसेँ, तर त्यो दाउ पनि चलेन। अन्ततः मेरो उद्धार एक जना चिनजानका अटो चालक दाइले गरिदिनुभयो। उहाँले कताबाट हो एउटा थालको जोहो गरिदिनुभयो।

संयोग पनि कस्तो पर्यो भने, खाना खाने क्रममा म जिल्ला समन्वय समिति प्रमुख गौरिनन्द आचार्य, गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईं, जिल्ला प्रहरी प्रमुख डिएसपी चिरञ्जीवी दाहाल र पूर्वमन्त्री माधव चौलागाईं लगायतका भीआईपीहरूको लहरमा बस्न पुगेँ।
खाना खाइसकेपछि मैले अलि पर पुगेर ठट्टा गर्दै भनेँ, ‘आज त बडो मुस्किल भयो, भात खाने थाल पनि पाइएन!’
मेरो कुरा सुनेर समन्वय प्रमुख गौरिनन्द आचार्यले प्रफुल्ल मुद्रामा हाँस्दै भन्नुभयो, ‘के भन्नुहुन्छ विवेन्द्रजी, आजको यो भिडमा भात खाने थाल पाएपछि त मलाई अदालतबाट वर्षौंदेखिको मुद्दा जितेजस्तो महसुस भइरहेको छ!’

उहाँको त्यो जबाफ सुनेर हामी सबै पेट मिचीमिची हाँस्यौँ। यो संवाद यो यात्राकै सबैभन्दा रमाइलो र अमिट सम्झना बन्यो।
खानापछि फेरि औपचारिक कार्यक्रम, पुरस्कार वितरण, देउडा र पञ्चेबाजाको धुनमा नाचगान चलिरह्यो। साँझ छिप्पिँदै जाँदा स्थानीय भुसुनाहरूले भने हामीलाई टोकेर अलि सताउन थाले।

रातिको खाना खाएर हामी आ-आफ्नो पालभित्र घुस्यौँ। यो रात हामी पत्रकारहरू मध्ये छ जना एउटै पालको क्षेत्रमा थियौँ भने लोकेन्द्रराज गिरी साथी अर्कै ठाउँमा व्यवस्थापन हुनुभएको थियो।
स्लिपिङ ब्यागभित्र पस्नुअघि हामीले भोलिको फिर्ती यात्राको रणनीति बनायौँ। पत्रकार मानदत्त रावलले भन्नुभयो, ‘उज्यालो भएपछि घाम चर्किन्छ र उकालो हिँड्न कठीन हुन्छ, त्यसैले भोलि राति (बिहान हुनुअघि) नै यात्रा सुरु गर्नुपर्छ।’ सबैले टाउको हल्लाएर सहमति जनायौँ र भोलिको यात्राको चित्र आँखामा बुन्दै निद्राको काखमा ढल्यौँ।

गिडिदहको यो दोस्रो दिन मेरो लागि एउटा भौगोलिक यात्रा मात्र थिएन। यो त प्रकृतिसँगको गहिरो साक्षात्कार, मानिसहरूको अद्भूत आत्मीयता, कर्णालीको समृद्ध संस्कृति र जीवनका रमाइला भोगाइहरूको एउटा सिंगो दस्तावेज थियो।
घना जङ्गलको सुवास, गिडिदहको नीलो पानी, थालको त्यो कसरत र साथीहरूको साथ, यी सबै मेरो स्मृतिमा जीवनभरिका लागि कैद भएका छन्।
















