कर्णालीको जुम्ला यतिबेला प्राकृतिक सुन्दरताको चर्चासँगै एउटा गम्भीर विश्वव्यापी बहसको केन्द्र बनेको छ। प्रकृतिको अनुपम उपहार र जैविक विविधताको भण्डार मानिने जुम्लाको प्रसिद्ध पर्यटकीय गन्तव्य गिडिदहमा हालै पहिलो पटक पर्या–पर्यटन तथा जलवायु सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ।
समुद्री सतहबाट ३ हजार ४८५ मिटरको चुनौतीपूर्ण उचाइमा अवस्थित गिडिदहको नीलो कञ्चन पानी साक्षी राखेर आयोजना गरिएको यस सम्मेलनले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर र त्यसको समाधानका लागि विश्वको ध्यान ध्यानाकर्षण गराएको छ। तातोपानी गाउँपालिका–४ को आयोजना तथा विभिन्न साझेदार संस्थाहरूको सहकार्यमा सम्पन्न यस सम्मेलनले रैथाने संस्कृति र दिगो पर्यटनलाई जलवायु संरक्षणसँग जोड्ने नयाँ मार्गचित्र कोरेको छ।

‘प्रकृति हेरौँ, महसुस गरौँ, पर्यापर्यटन प्रवर्द्धनमा जुटौँ’ भन्ने मूल नाराका साथ सुरु भएको यस सम्मेलन केवल औपचारिक छलफलमा मात्र सीमित रहेन। सम्मेलनले स्थानीयवासी, जुझारु विद्यार्थी, जनप्रतिनिधि, पर्यावरणविद् र सरोकारवालाहरूको व्यापक सहभागितामा ‘गिडिदह पर्यटन प्रवर्द्धन तथा जलवायु घोषणापत्र–२०८३’ जारी गरेको छ।
१५ बुँदे यो ऐतिहासिक घोषणापत्रले हिमाली पर्यावरण जोगाउन स्थानीय स्तरबाटै कति बलियो कदम चाल्न सकिन्छ भन्ने कुराको उदाहरण प्रस्तुत गरेको छ। घोषणापत्रमा गिडिदह र यसको आसपासका महत्त्वपूर्ण जलाधार क्षेत्रहरूको संरक्षण, दुर्लभ जैविक विविधताको जगेर्ना, वन्यजन्तुको प्राकृतिक बासस्थानको सुरक्षा तथा चरण क्षेत्रको दिगो व्यवस्थापनलाई मुख्य प्राथमिकता दिइएको छ।

जलवायु परिवर्तनका कारण पग्लिँदै गएका हिमाल र सुक्दै गएका पानीका मुहानहरूलाई बचाउन यो ऐक्यबद्धता निकै अर्थपूर्ण मानिएको छ। अझ उत्साहजनक कुरा त के छ भने यो सम्मेलनले आधुनिक विकासका नाममा हुने कंक्रिटकरणलाई चुनौती दिएको छ।
तातोपानी गाउँपालिका–४ का वडाध्यक्ष अमरबहादुर रोकायाका अनुसार अब यस क्षेत्रमा निर्माण हुने पर्यटक विश्रामस्थल, भ्यु–टावर, संकेत चिन्ह तथा पदमार्गहरूमा सिमेन्ट र कंक्रिटको प्रयोगलाई पूर्ण रूपमा निरुत्साहित गरिनेछ। पर्यावरणमैत्री र स्थानीय सामग्रीको प्रयोग गरेर मात्र पूर्वाधार विकास गरिने नीति अख्तियार गरिएको छ।

यसका साथै गिडिदह क्षेत्रलाई प्लास्टिकमुक्त क्षेत्र बनाउने र शून्य फोहोर व्यवस्थापन रणनीति लागू गर्ने प्रतिबद्धताले दिगो पर्यटनको जग बसाल्ने निश्चित छ। यो सम्मेलनले पर्यावरण संरक्षणलाई स्थानीय नागरिकको जीविकोपार्जन र आर्थिक समृद्धिसँग समेत सुन्दर ढंगले जोडेको छ।
जुम्लाका रैथाने गाउँहरूमा सामुदायिक होमस्टे सञ्चालन गर्ने, स्थानीय भेषभूषा, संस्कृति र अर्गानिक परिकारको प्रवर्द्धन गर्ने नीति लिइएको छ। यसबाट रैथाने पहिचान त जोगिने नै छ, स्थानीय स्तरमै रोजगारीका अवसरहरू पनि सिर्जना हुनेछन्।

सबैभन्दा रोचक पक्ष त युवाहरूलाई ‘क्लाइमेट गाइड’का रूपमा तालिम दिएर परिचालन गर्ने योजना हो, जसले गर्दा यहाँ आउने पर्यटकहरूले प्रकृतिको आनन्द लिनुका साथै जलवायु परिवर्तनका चुनौती र स्थानीय अनुकूलनका प्रयासबारे पनि जानकारी पाउन सक्नेछन्।
घोषणापत्रले खाद्य सुरक्षा, रैथाने कृषि प्रणालीको संरक्षण, जडीबुटी जगेर्ना र डढेलो नियन्त्रण जस्ता संवेदनशील विषयमा जोड दिँदै स्थानीय अनुकूलन योजनाको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहका सरकारबीच बलियो समन्वय हुनुपर्ने सन्देश प्रवाह गरेको छ।
सम्मेलनलाई थप जीवन्त र जनमुखी बनाउन माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला र जिल्ला स्तरीय खुला देउडा प्रतियोगिता समेत आयोजना गरिएको थियो। देउडाको भाका र विद्यार्थीहरूको बुलन्द आवाजमार्फत जलवायु परिवर्तनका असर, चुनौती र समाधानका उपायबारे जनचेतना फैलाइयो, जसले गर्दा पर्यावरण संरक्षणको मुद्दा जनस्तरसम्म पुग्न सफल भयो।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री माधव चौलागाँईले हिमाली क्षेत्रको प्राकृतिक सम्पदा र बहुमूल्य जडीबुटीको संरक्षण देशकै लागि अपरिहार्य रहेको औंल्याउनुभयो। त्यस्तै, गौरीनन्द आचार्यले गिडिदहलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न राज्यका सबै निकायले विशेष ध्यान दिनुपर्ने विचार राख्नुभयो।
तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाँईले स्थानीय सरकारले आफ्नो क्षमताअनुसार करोडौँको लगानीमा नापजाँच, पदमार्ग, धर्मशाला निर्माण र सडकको डीपीआरजस्ता कार्य गरिसकेको जानकारी दिँदै यसलाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउन प्रदेश र संघीय सरकारको थप लगानी र सहयोग आवश्यक रहेको कुरामा जोड दिनुभयो।
१ हजार ५१० मिटर लम्बाइ, ३१० मिटर चौडाइ र ४२.८ मिटर गहिराइ भएको यो विशाल र सुन्दर प्राकृतिक ताल केवल एउटा पर्यटकीय स्थल मात्र होइन, यो जुम्लाको प्राण र पर्यावरणको ऐना हो।
दुर्लभ वनस्पति र वन्यजन्तुको आश्रयस्थल रहेको गिडिदहबाट सुरु भएको यो पर्या–पर्यटन र जलवायु चेतनाको लहरले कर्णालीको हिमाली पर्यावरण जोगाउन र विश्वलाई जलवायु न्यायको बलियो सन्देश दिन ऐतिहासिक कोसेढुङ्गा साबित गर्ने विश्वास गरिएको छ।
















