समयको गतिसँगै इतिहासका धेरै पानाहरू धमिलो हुँदै जान्छन्, तर केही यस्ता घटना हुन्छन् जसले इतिहासको धारलाई नै सदाका लागि बदलिदिन्छन्। वि.सं. २०५८ साल जेठ १९ गते (१ जुन २००१) को त्यो शुक्रबारे रात नेपाली इतिहासको त्यस्तै एउटा अकल्पनीय र त्रासदीपूर्ण मोड थियो।
राजा वीरेन्द्रको वंश नै विनास हुने गरी नारायणहिटी राजदरबारभित्र भएको उक्त नरसंहारले आज २५ वर्ष पूरा गरिसकेको छ। तर, ढाई दशक बितिसक्दा पनि आम नेपाली मानसपटलमा एउटै प्रश्न अनुत्तरित छ– “के वास्तवमै युवराज दीपेन्द्रले नै त्यो आत्मघाती कदम चालेका थिए, या पर्दापछाडि कुनै अर्कै भयानक चक्रव्यूह रचिएको थियो?”
त्रिभुवन सदनको त्यो ‘कालो शुक्रबार’
जेठको तेस्रो हप्ताको त्यो शुक्रबार नारायणहिटी दरबारभित्रको त्रिभुवन सदनमा नियमित पारिवारिक भोज (भतेर) को आयोजना गरिएको थियो। साझ ७:३० बजेको समयका लागि २५ जना शाही आफन्तहरूलाई आमन्त्रण गरिएको थियो। साँझ छिप्पिँदै गर्दा पाहुनाहरू आउने क्रम सुरु भयो। तर, सो जमघटमा एउटा महत्त्वपूर्ण अनुपस्थिति थियो– अधिराजकुमार ज्ञानेन्द्र शाह, जो त्यसबेला पोखरा भ्रमणमा थिए।
जाँचबुझ समितिको प्रतिवेदन अनुसार, बेलुकी ७ बजे युवराज दीपेन्द्र त्रिभुवन सदनको भुइँतल्लामा रहेको ‘बिलियर्ड हल’ मा एक्लै स्नूकर खेलिरहेका थिए। उनले आफ्ना एडीसीलाई मनपर्ने ह्विस्की ल्याउन लगाएर एक पेग पिएका थिए। सुरुमा उनी सामान्य मुडमा थिए, पाहुनाहरूलाई आफैँले पेय पदार्थ पस्किएका थिए र सबैसँग हाँसिमजाक गरिरहेका थिए।
त्यसबीच, दीपेन्द्रले आफ्नी प्रेमिका देवयानी राणासँग मोबाइलमा संवाद पनि गरेका थिए। बेलुकी ८:३० बजे राजा वीरेन्द्र त्रिभुवन सदन आइपुगे। तर, सोही समयतिर अत्यधिक मदिरा र अन्य नसालु पदार्थका कारण दीपेन्द्र अर्धचेत भई भुइँमा ढलेको दाबी प्रतिवेदनमा गरिएको छ। उनलाई पारस, गोरख, नीराजन र राजीवले बोकेर उनको शयनकक्षमा पुर्याएका थिए।
सरकारी प्रतिवेदनको ‘स्क्रिप्ट’ र विरोधाभास
सरकारी जाँचबुझ समितिले तयार पारेको १३९ पानाको प्रतिवेदनले दीपेन्द्रलाई नै मूल दोषी ठहर गरेको छ। प्रतिवेदनका अनुसार, कोठामा सुताइएका दीपेन्द्र केही बेरमै ब्युँझिए, उनले सैनिक पोशाक (कमब्याट ड्रेस) लगाए र एम–१६ राइफल, एमपी–५ सबमेशिन गन र पेस्तोलसहित घातक हतियारहरूले सुसज्जित भएर ९ बजेको आसपास बिलियर्ड हलमा पुनः प्रवेश गरे।
त्यसपछि सुरु भयो ‘भुटुटुटु’ गोलीवर्षण। राजा वीरेन्द्र, रानी ऐश्वर्य, राजकुमार नीराजन, राजकुमारी श्रुति, अधिराजकुमार धीरेन्द्रसहित परिवारका सदस्यहरूमाथि अन्धाधुन्ध गोली प्रहार भयो। वीरेन्द्रको वंश सखाप भयो। अचम्मको कुरा, सोही कोठामा रहेका ज्ञानेन्द्रका परिवारका सदस्यहरू (पारस, हिमानी र आमा कोमल) भने सुरक्षित रहे, यद्यपि कोमललाई गोली लागेको थियो।
तर, यो सरकारी भाष्यमाथि सुरुदेखि नै गम्भीर प्रश्नहरू उठ्दै आएका छन्:
मेडिकल रिपोर्टको विरोधाभास: दीपेन्द्रको उपचार र शल्यक्रिया गरेका शाही चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठका अनुसार दीपेन्द्रको मस्तिष्कमा मदिराको मात्रा देखिएको थिएन। प्रहरी प्रयोगशालाको रिपोर्टले पनि चुरोटका ठुटाहरूमा निकोटिन बाहेक अन्य लागुऔषध फेला नपरेको उल्लेख गरेको छ। त्यसो भए, केही मिनेटअघि मात्रै आफैँ लुगा फुकाल्न नसक्ने गरी ढलेको व्यक्ति कसरी अचानक सैनिक कमान्डोजस्तो फुर्तिलो भएर अत्याधुनिक हतियारहरू चलाउन सक्षम भयो?
समयको अमिल्दो चक्र: नेपाल टेलिकमको रेकर्ड अनुसार दीपेन्द्रको फोनबाट देवयानीलाई अन्तिम कल राति ८:३९ मा गएको थियो, जुन ३२ सेकेन्डको थियो। उता छाउनी सैन्य अस्पतालको रेकर्ड अनुसार राति ९:१५ बजे राजा, रानी र नीराजनलाई मृत घोषित गरिसकिएको थियो। दरबारदेखि अस्पतालको दूरी, डाक्टर आइपुग्न लागेको समय र घटनापछिको अलमललाई हिसाब गर्दा ८:३९ देखि ९:१५ सम्मको साढे ३५ मिनेटभित्र यो सबै प्रक्रिया कसरी सम्भव भयो?
दायाँहाते दीपेन्द्र र देब्रे कञ्चटको गोली: दीपेन्द्र दाहिने हात चल्ने (Right-handed) व्यक्ति थिए। तर, उनलाई लागेको गोली देब्रे कानको पछाडिबाट पसेर दाहिनेतर्फबाट निस्किएको थियो। आत्महत्या गर्ने व्यक्तिले यस्तो असजिलो कोणबाट गोली हान्नु असम्भवप्रायः देखिन्छ। थप रूपमा, जुन पेस्तोलबाट उनले आत्महत्या गरेको भनियो, त्यो उनी ढलेको ठाउँभन्दा टाढा पोखरीको पानीभित्र फेला परेको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र ‘बिग लाई’ (BIG LIE) को आशंका
घटनाको भोलिपल्ट नेपालका राष्ट्रिय सञ्चारमाध्यमहरू गोरखापत्र र कान्तिपुर पूर्णतः मौन थिए। यहाँसम्म कि गोरखापत्रले राजा वीरेन्द्रले इटालीको राष्ट्रिय दिवसमा शुभकामना सन्देश पठाएको पुरानो समाचार छापिरहेको थियो। नेपाली जनता आफ्ना प्रिय राजाको मृत्युको खबर पाउन १६ घण्टा कुर्न बाध्य भए।
तर, अचम्मलाग्दो गरी अमेरिकी र ब्रिटिश सञ्चारमाध्यमहरू (जस्तै BBC र CNN) ले घटनाकै रातिदेखि नै “दीपेन्द्रले प्रेम र विवाहको विबादका कारण परिवारको हत्या गरी आत्महत्या गरे” भन्ने भाष्य संसारभर फैलाइसकेका थिए।
हिटलरले आफ्नो पुस्तक मेइन काम्फ (Mein Kampf) मा व्याख्या गरेको ‘बिग लाई’ (ठूलो झूट) को सिद्धान्त जस्तै, अन्तर्राष्ट्रिय वृत्तमा यो कथालाई यति धेरै पटक दोहोर्याइयो, डकुमेन्ट्री र चलचित्रहरू बनाइयो कि संसारले यसलाई अकाट्य सत्य मान्न थाल्यो। तर, के यो साच्चै सत्य थियो कि कुनै ठूलो भूराजनीतिक खेलको कभर-अप स्टोरी (दायाँबायाँ मोड्ने प्रपञ्च)?
भूराजनीतिक कनेक्सन र ‘मडसेन’को दाबी
अमेरिकी सेनाका पूर्व अधिकारी एवं खोज पत्रकार वेन मडसेन (Wayne Madsen) ले न्यूयोर्कबाट प्रकाशित हुने प्रतिष्ठित पत्रिका “मन्थली रिभ्यु” मा एउटा सनसनीपूर्ण दाबी गरेका थिए। उनको दाबी अनुसार, दरबार हत्याकाण्डभन्दा केही महिना अघि मात्रै अमेरिकी गुप्तचर निकाय (CIA) ले महाराजगञ्जस्थित ज्ञानेन्द्रको निजी निवास कम्पाउन्डभित्र आफ्नो कार्यालय स्थापना गरेको थियो, जहाँ नेपाली सुरक्षाकर्मीहरूको आवतजावत बाक्लो थियो। मडसेनका अनुसार, सीआईए र भारतीय गुप्तचर एजेन्सी (RAW) को रणनीतिक साठगाँठ र कभर-अप योजनाकै परिणाम यो हत्याकाण्ड थियो।
यस दाबीलाई बल पुर्याउने अर्को एउटा संयोग पनि देखिन्छ। वि.सं. २०५८ जेठ १९ गतेकै दिउँसो भक्तपुर अस्पतालभित्र शाही नेपाली सेना र अमेरिकी विशेष सैन्य दस्ता (US Special Battalion Troop) ले संयुक्त रूपमा निर्माण गरेको भूकम्प प्रतिरोधी भवनको उद्घाटन गरी हस्तान्तरण गरिएको थियो। त्यो टोली नेपालमा लामो समयदेखि बसिरहेको थियो र जेठ २० गते (हत्याकाण्डको भोलिपल्ट) हतार-हतार आफ्नो देश फर्कियो। के यो केवल एक संयोग मात्र थियो?
भौतिक प्रमाणहरूको विनास र बदलिएको भूगोल
नयाँ राजाका रूपमा ज्ञानेन्द्रको आरोहण र उनका छोरा पारसको बद्नाम छविका कारण राजतन्त्रप्रतिको जनविश्वास ह्वात्तै घट्यो। जनता सडकमा ओर्लिए, हिंस्रक प्रदर्शनहरू भए। परिस्थिति शान्त पार्न जाँचबुझ समिति त बन्यो, तर त्यसको गम्भीरता कस्तो थियो भन्ने कुरा समिति सदस्य तारानाथ रानाभाटले पत्रकार सम्मेलनमा ‘भुटुटुटु’ भन्दै हाँसेर गरेको कन्तुर अभिनयले नै प्रस्ट्याउँछ। अनुसन्धानका क्रममा घटनास्थलमा फेला परेका हतियारहरूलाई विना ग्लोभ्स (नाङ्गो हातले) समातिएको थियो, जसले गर्दा फिंगरप्रिन्ट (औँलाको छाप) का सबै वैज्ञानिक प्रमाणहरू सदाका लागि मेटिए।
त्यसभन्दा पनि शङ्कास्पद कुरा, गुगल अर्थ (Google Earth) को भू-उपग्रह चित्रहरू (Satellite Images) नियाल्दा देखिन्छ। वि.सं. २००३ र २००५ सम्म कायम रहेको त्यो ऐतिहासिक त्रिभुवन सदनको भवनलाई वि.सं. २००७ को आसपास पुग्दा पूर्ण रूपमा भत्काइयो। प्रमाणको भण्डार मानिने मूल भौतिक संरचनालाई नै किन यसरी ध्वस्त पारियो? यसको चित्तबुझ्दो जवाफ कसैले दिएको छैन।
आज पनि नारायणहिटी सङ्ग्रहालय जाने हो भने त्यहाँ रहेको मूर्ति पछाडिको पर्खालमा ६–७ वटा गोलीका निशानाहरू सिधा रेखामा देखिन्छन्। विज्ञहरूका अनुसार, यदि कसैले उभिएर वा माथिबाट गोली हानेको भए ती निशानाहरू त्यति सिधा (Straight Trajectory) हुन सक्दैनथे। यसले हत्यारा जमिनको सतह वा कुनै ट्रेन्च (खाल्डो) मा लुकेर बसेको हुन सक्ने अर्को एउटा बलियो सैन्य कोणलाई जन्म दिन्छ।
इतिहासको कठघरामा अनुत्तरित प्रश्नहरू
दरबार हत्याकाण्डपछि नेपालको राजनीतिले एकाएक कोल्टो फेर्यो। तत्कालीन माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्यसबेला सरकारी प्रतिवेदनलाई “हत्याराहरूले पूर्वनियोजित रूपमा तयार पारेको षड्यन्त्रको दस्तावेज” भन्दै कडा आलोचना गरेका थिए।
उनले ज्ञानेन्द्र एक्लै पोखरा जानु, पारस सुरक्षित रहनु र सेना मौन बस्नुमा ठूलो रणनीतिक योजना रहेको औँल्याएका थिए। तर, गणतन्त्र स्थापनापछि प्रचण्ड आफैँ मुलुकको कार्यकारी प्रधानमन्त्री पटक-पटक बन्दा पनि यस काण्डको निष्पक्ष र पुनरावलोकन अनुसन्धान किन हुन सकेन? कुन शक्तिले उनलाई रोक्यो? यो अर्को रहस्य हो।
२५ वर्ष बितिसक्दा पनि नारायणहिटीको त्यो रात नेपाली इतिहासको सबैभन्दा ठूलो अभिशप्त रहस्य बनेर उभिएको छ। के त्यो साँच्चै एउटा कुण्ठित प्रेमीको उन्माद थियो, या कृष्ण अविरलको पुस्तक ‘रक्तकुण्ड’ मा दाबी गरिए जस्तै दीपेन्द्रको मास्क लगाएका पेशेवर कमान्डोहरूले गराएको राजनीतिक कू?
तथ्य, प्रमाण र समयका विरोधाभासहरूले दोस्रो सम्भावनालाई बढी बलियो बनाउँदै लगेका छन्। सत्य जे भए पनि, जेठ १९ को त्यो कालो रातले नेपालबाट एउटा उदार राजतन्त्र मात्र खोसेन, देशलाई दशकौँसम्म अस्थिरताको यस्तो सुरुङमा धकेलिदियो, जसको प्रकाश अझै धमिलो नै छ।
















