आईतवार, २४ जेष्ठ, २०८३

नेपालगन्जमा कुटीरोको प्रस्तुति, अतलको यात्रा अन्तर्गत छैटौं बास सम्पन्न

कुटीरोको प्रस्तुति अन्तर्गत अतलको यात्राको छैटौं बास नेपालगन्जमा भव्य रुपमा सम्पन्न भयो। कार्यक्रममा गजलकार तथा कवि महेन्द्र अतलले आफ्ना नवीन सिर्जनाहरू प्रस्तुत गर्दै आयोजित विशेष साहित्यिक कार्यक्रममा श्रोतालाई गहिरो छाप छोडे।

कार्यक्रमको सुरुआतमा चर्चित कवि बीपी अस्तुले अतलको नयाँ कृति गजलको विस्तार तथा विकासको रूपमा आएको बताए। उनले भने, ‘अतललाई प्रत्यक्ष सुन्न पाउनु साहित्यप्रेमीहरूका लागि विशेष अवसर हो।’

कार्यक्रममा वरिष्ठ साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वरिष्ठ कथाकार सनत रेग्मी, साहित्यकार नरेन्द्रजंग पिटर, खगेन्द्र गिरी कोपिला, कल्पना पौडेल जिज्ञासु, इन्द्रबहादुर बस्नेत, जमिल हास्मी, बलराम उपाध्याय, कपिल अन्जान, टी.एस. ठकुरी, पुष्प प्रधान लगायतका स्रष्टाहरूको उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।

अतलको व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्दै साहित्यकार खगेन्द्र गिरी कोपिलाले नेपाली गजलको समकालीन प्रवृत्तिबारे चर्चा गरे। उनले नेपाली गजलमा लामो समयदेखि देखिएको काव्यिक चेतनाको अभावलाई केही नयाँ पुस्ताका गजलकारहरूले तोड्दै गएको उल्लेख गर्दै महेन्द्र अतललाई त्यस्ता सशक्त स्रष्टामध्ये एकको रूपमा चित्रित गरे।

‘अतलले सामान्य मानिसका अनुभूति, समाजका जटिल प्रश्न र समयका मूल समस्याहरूलाई कलात्मक भाषा र व्यञ्जनात्मक शैलीमार्फत प्रस्तुत गर्न सफल भएका छन्,’ उनले भने। उनले महेन्द्र अतललाई वर्तमान पुस्ताका नेपाली गजलकारहरूमध्ये उत्कृष्ट श्रेणीमा पर्ने सर्जकको रूपमा मूल्यांकन गर्दै भविष्यमा अझ सशक्त गजलकार बन्ने विश्वास व्यक्त गरे।

त्यसपछि मञ्च उक्लिएका महेन्द्र अतलले आफूलाई सुन्न उपस्थित भएका वरिष्ठ तथा समकालीन स्रष्टाहरूप्रति आभार व्यक्त गर्दै आफ्नो सिर्जना यात्राका अनुभव सुनाए। उनले आफ्नो चर्चित कविता ‘गदाको यात्रा स्मरण’ वाचन गर्दै समाजमा विद्यमान विभेद, अन्धविश्वास, असमानता र मानवीय पीडाका विषयलाई कलात्मक ढंगले प्रस्तुत गरे। कविताले हलभरिका श्रोताको ध्यान केन्द्रित गरेको थियो।

कविता वाचनपछि अतलले क्रमशः आफ्ना गजलहरू प्रस्तुत गरे। प्रेम, जीवन, समय, सामाजिक यथार्थ, संघर्ष र आत्मअनुभूतिका विषयमा आधारित गजलहरूमा श्रोताले बारम्बार ताली बजाएर साथ दिएका थिए। उनका “आज नभए भोलि पक्का पाइन्छ धोका”, “पाएको छ कसले मागेभन्दा बढी”, “किन हो आजभोलि बोलीमा ओजन छ”, “कहाँ थियो घमण्ड कम हाम्रो पनि” लगायतका शेरहरू विशेष रूपमा रुचाइएका थिए।

गजल वाचनका क्रममा अतलले साहित्य, समाज र शिक्षाप्रणालीबारे आफ्ना विचार राखे। उनले सिर्जनात्मक स्वतन्त्रता, समालोचनाको आवश्यकता र नयाँ प्रयोगप्रतिको स्वीकार्यताबारे धारणा राख्दै साहित्यले समयका जटिल प्रश्नहरू उठाउनुपर्ने बताए।

कार्यक्रमको अन्त्यतिर उनले थप गजलहरू प्रस्तुत गर्दै प्रेम, पीडा, संघर्ष र मानवीय संवेदनाका विविध आयामहरूलाई अभिव्यक्त गरे। श्रोताहरूले उनको प्रस्तुति अन्तिमसम्म गम्भीरतापूर्वक सुनेका थिए।

साहित्यिक वातावरणमा सम्पन्न उक्त कार्यक्रमले नेपाली गजल र कविताको वर्तमान अवस्था तथा सम्भावनाबारे गम्भीर बहसलाई समेत प्रोत्साहित गरेको बरिस्ठ साहित्यकार नरेन्द्रजंग पिटरले बताए। आयोजक कुटिरो डटकमले अध थप ४ वटा शहरमा अतलको यात्रा गर्नेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार