शनिबार, ३० जेष्ठ, २०८३

विश्व वातावरण दिवस: प्रतिबद्धता कि औपचारिकता?

आजको आवश्यकता भाषण र नाराभन्दा बढी व्यवहारमा कार्यवन्यन गर्नु हो। त्यसैले रोपेको बिरुवा हुर्कियो कि हुर्केन भनेर चासो दिनुपर्छ। हामीले सफा गरेको ठाउँ फेरि फोहोर नहोस् भन्ने जिम्मेवारी पनि लिनुपर्छ।

हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाइन्छ। यस दिन विश्वभर वातावरण संरक्षणका कुरा गरिन्छन्। नेपालमा पनि विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी भव्य रूपमा मनाइन्छ। विद्यालयका बालबालिकादेखि वृद्धवृद्धा, स्थानीय तहका कर्मचारीदेखि मन्त्रीसम्म सबैले वातावरण जोगाउने प्रतिबद्धता व्यक्त गर्छन्।

यसै दिनको अवसर पारेर वृक्षारोपण गरिन्छ, सरसफाइ अभियान चलाइन्छ, भाषण गरिन्छ, र्‍यालीहरू आयोजना गरिन्छन् र सामाजिक सञ्जालमा वातावरण बचाउने सन्देशहरू साझा गरिन्छन्। तर एउटा प्रश्न सधैं उठ्ने गर्छ के यो साँच्चै वातावरणप्रतिको प्रतिबद्धता हो, कि केवल एक दिनको औपचारिकता?

आज रोपिएको बिरुवालाई भोलि पानी हाल्ने र संरक्षण गर्ने जिम्मेवारी प्राय बिर्सिन्छौँ। त्यसैगरी वातावरण दिवसका दिन सडक, चोक र सार्वजनिक स्थलहरू सफा गरिन्छन्, फोहोर संकलन गरिन्छ। तर अर्को दिनदेखि फेरि जथाभावी फोहोर फाल्ने, प्लास्टिक प्रयोग गर्ने र वातावरण प्रदूषित गर्ने पुरानै बानी दोहोरिन्छ।

सामान्यता भन्नु पर्दा अर्को वातावरण दिवस नआउँदासम्म वातावरणप्रतिको चासो पनि हराएको जस्तो देखिन्छ। यहि हाम्रो व्यवहारमा परिवर्तन नआएको कारण वर्षमा एक दिन मनाइने कार्यक्रम मात्र बनेको छ।

वातावरण भनेको केवल रूख-बिरुवा र वन्य जन्तु होइन। यो हाम्रो वरपरको त्यो बृहत् प्रणाली हो, जसले पृथ्वीमा जीवन सम्भव बनाउँछ। मानव र वातावरणबीच गहिरो सम्बन्ध छ। स्वच्छ हावा, सफा पानी, उर्वर माटो, हिउँले ढाकिएको हिमाल र स्वस्थ वन बिना मानव अस्तित्वको कल्पना पनि गर्न सकिँदैन।

तर विकास र सुविधाको नाममा प्राकृतिका स्रोतहरूको अत्यधिक विनाश भइरहेको छन। वन विनाश, नदी तथा पानीको स्रोत प्रदूषण, अव्यवस्थित शहरीकरण, अनियमित वर्षा, डढेलो, प्लास्टिकको बढ्दो प्रयोग र जलवायु परिवर्तन आजका प्रमुख वातावरणीय चुनौती बनेका छन्।

हिमालका हिउँहरू पग्लिरहेका छन्, पानीका मुहान सुक्दै गएका छन्, बाढी र पहिरोका घटना बढिरहेका छन्। यी सबै वातावरणीय असन्तुलनका संकेत हुन्। हामी प्राय वातावरण संरक्षणको जिम्मेवारी सरकार वा सम्बन्धित निकायको मात्र हो भन्ने सोच्ने गर्छौँ।

तर वातावरण संरक्षणको सुरुवात हरेक व्यक्तिबाट हुन्छ। दैनिक जीवनमा प्लास्टिकको प्रयोग घटाउने, फोहोरको उचित व्यवस्थापन गर्ने, पानी र ऊर्जाको दिगो प्रयोग गर्ने, वन संरक्षण गर्ने र रोपिएका बिरुवाको हेरचाह गर्ने जस्ता साना कामले पनि ठूलो परिवर्तन ल्याउन सक्छ।

आजको आवश्यकता भाषण र नाराभन्दा बढी व्यवहारमा कार्यवन्यन गर्नु हो। त्यसैले रोपेको बिरुवा हुर्कियो कि हुर्केन भनेर चासो दिनुपर्छ। हामीले सफा गरेको ठाउँ फेरि फोहोर नहोस् भन्ने जिम्मेवारी पनि लिनुपर्छ।

वातावरण संरक्षण एक दिनको कार्यक्रम होइन, जीवनभरको अभ्यास हो। वातावरण संरक्षण विकल्प होइन, आवश्यकता बनेको छ। पृथ्वी हाम्रो मात्र होइन, हाम्रो आउने भावी पुस्ताको पनि साझा सम्पत्ति हो। त्यसैले विश्व वातावरण दिवसलाई औपचारिकतामा सीमित नराखौँ। वातावरण संरक्षणलाई व्यवहारमा उतारेर एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गरौँ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार