जिल्ला प्रहरी कार्यालय वीरेन्द्रनगर, सुर्खेतले स्रोत नखुलेको सुन–चाँदीका गरगहना तथा नगद रकमसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार २०८३ जेठ १८ गते अपराह्न करिब ४ बजे वीरेन्द्रनगर नगरपालिका–६ तल्लो बजारस्थित शिव इम्पोरियम नामक कपडा पसलमा भारतीय रुपैयाँ र गरगहना धितो राखी ब्याजमा नगद रकम दिने गरेको विशेष सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच तथा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा स्रोत नखुलेका सुन–चाँदीका गरगहना र नगद रकम बरामद भएपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।
पक्राउ पर्नेमा जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका–१० घर भई हाल वीरेन्द्रनगर नगरपालिका–६, सुर्खेतमा बसोबास गर्दै आएका अन्दाजी ६३ वर्षीय श्याम सुन्दर अग्रवाल (बालाजी) रहेका छन्।
प्रहरीले उनको साथबाट विभिन्न दरका नेपाली रुपैयाँ रु. २ लाख १९ हजार ५००, विभिन्न दरका भारतीय रुपैयाँ रु. ८ लाख ११ हजार ८००, विभिन्न किसिमका सुन तथा चाँदीका गरगहना राखिएका बट्टा, पोका र डिब्बा गरी १८५ थान (अनुमानित मूल्य करिब रु. ३ करोड) तथा नगद गन्ती गर्न प्रयोग हुने एक थान मेसिन बरामद गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराले जानकारी दिएका छन्।














