कर्णाली प्रदेश सरकार र प्रदेश योजना आयोगले केन्द्र सरकारसमक्ष प्रस्तुत गर्ने माग तथा निर्णयहरूमा जुम्लाका महत्वपूर्ण मुद्दाहरूलाई समावेश नगरेको भन्दै सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले असन्तुष्टि व्यक्त गरेका छन्। उनले जुम्लाको ऐतिहासिक, शैक्षिक, स्वास्थ्य, पूर्वाधार तथा पर्यटन क्षेत्रसँग सम्बन्धित योजनाहरूलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेट्न आग्रह गरेका छन्।
मुख्यमन्त्री, मन्त्रीहरू, जिल्ला समन्वय समिति प्रमुखहरू तथा स्थानीय तहका प्रमुख एवं उपप्रमुखहरूलाई सम्बोधन गर्दै अध्यक्ष धितालले जुम्लाका दीर्घकालीन विकासका सवालहरू बारम्बार ओझेलमा परेको बताएका हुन्। उनका अनुसार कर्णाली प्रदेशको समग्र विकासको आधारका रूपमा रहेका जुम्लाका ऐतिहासिक र रणनीतिक महत्वका योजनाहरूलाई प्रदेश सरकारले बेवास्ता गर्न नहुने बताएका छन्।

धितालले खस साम्राज्यकालमा सिंजा र दुल्लुलाई मौसमी राजधानीका रूपमा सञ्चालन गरिएको ऐतिहासिक तथ्य स्मरण गराउँदै प्रदेश सरकारले पनि मौसमी राजधानी सञ्चालनको अभ्यास सुरु गर्नुपर्ने धारणा राखेका छन्। यसले कर्णालीका विभिन्न क्षेत्रको समान विकास र प्रशासनिक पहुँच विस्तारमा सहयोग पुग्ने उनको विश्वास छ।
प्रदेश सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको विषयमा पनि उनले असहमति जनाएका छन्। कर्णालीको भौगोलिक अवस्था, सेवा प्रवाहको आवश्यकता तथा नागरिकको दैनिकीलाई मध्यनजर गर्दा उक्त निर्णय व्यावहारिक नभएको उनको तर्क छ। त्यसलाई सच्याउन प्रदेश सभाबाट आवश्यक प्रस्ताव पारित गर्नुपर्ने उनको सुझाव रहेको छ।
स्वास्थ्य र शिक्षाका क्षेत्रमा पनि अध्यक्ष धितालले महत्वपूर्ण माग अघि सारेका छन्। उनले सिंजामा प्रादेशिक रणनीतिक अस्पताल तत्काल स्थापना गर्न तथा जुम्ला–सुर्खेत दैनिक हवाई सेवा सञ्चालनका लागि आवश्यक पहल गर्न प्रदेश सरकारसँग माग गरेका छन्। त्यस्तै, सिंजा बहुप्राविधिक शिक्षालयको भवन निर्माण गरी यसै आर्थिक वर्षभित्र पठनपाठन सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
विकास निर्माणका आयोजनामा देखिएको समस्या समाधान गर्न पनि उनले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्। गत वर्ष प्राविधिक जनशक्ति अभावका कारण रोकिएका कनकासुन्दरी र सिंजा गाउँपालिकासहितका विभिन्न विकास आयोजनाहरूका लागि क्षतिपूर्तिसहित बजेट व्यवस्था गर्नुपर्ने उनको माग छ। साथै, दीर्घकालीन पूर्वाधार विकासका लागि महावु–पादमघाट सुरुङमार्गको अध्ययन कार्य तत्काल सुरु गर्नुपर्ने बताएका छन्।
पर्यटन विकासका सन्दर्भमा अध्यक्ष धितालले धार्मिक तथा सांस्कृतिक पर्यटनलाई जोड्ने ‘नाथ सर्किट’ अवधारणा अघि बढाउनुपर्ने प्रस्ताव गरेका छन्। दाङको तारानाथ, मुस्ताङको मुक्तिनाथ, जुम्लाको चन्दननाथ, मुगुको छायानाथ, हुम्लाको खार्पुनाथ हुँदै अछामको जगन्नाथसम्म जोड्ने उक्त अवधारणाले कर्णालीको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ छ।

त्यसैगरी, सिंजा सभ्यता खस संग्रहालय सञ्चालनका लागि आवश्यक बजेट छुट्याउन तथा सिंजा सभ्यता र मस्टो संस्कृतिको अध्ययन–अनुसन्धानका लागि विशेष कार्यक्रम र बजेट व्यवस्था गर्न उनले प्रदेश सरकारसँग माग गरेका छन्।
अध्यक्ष धितालले जुम्लाका ऐतिहासिक सम्पदा, सांस्कृतिक पहिचान तथा विकासका योजनाहरूलाई प्रदेश सरकारको प्राथमिकतामा राखिए मात्र कर्णालीको सन्तुलित र दिगो विकास सम्भव हुने बताएका छन्।














