विश्व सडक सुरक्षा सप्ताह–२०८३ को अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटले चालक तथा यात्रुहरूलाई लक्षित गर्दै सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।
‘नेपाल प्रहरीको हर्ष, सडक दुर्घटना रहितको वर्ष’ भन्ने नारासहित आयोजित कार्यक्रममा सवारी चालक, सहचालक तथा यात्रुहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरिएको थियो। कार्यक्रममा खटिएको ट्राफिक प्रहरी टोलीले सडक अनुशासन कायम गर्दै सुरक्षित यात्रा गर्न सबैलाई अनुरोध गरेको जनाएको छ।
कार्यक्रममा विशेष रूपमा सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्न, ट्राफिक नियमहरूको कडाइका साथ पालना गर्न तथा सडक चिन्हहरूको सही प्रयोग गर्नुपर्ने विषयमा जानकारी दिइएको थियो। साथै हेल्मेट, सिटबेल्ट लगायतका सुरक्षा सामग्रीको अनिवार्य प्रयोग गर्नुपर्ने सन्देश पनि प्रवाह गरिएको थियो।
सचेतनामूलक कार्यक्रममा स्थानीय युवाहरू, यात्रुहरू तथा विभिन्न क्षेत्रका नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण गर्न यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गरिने जनाएको छ।
‘सडक अनुशासन पालना गरौँ, अमूल्य जीवनको रक्षा गरौँ’ भन्ने सन्देशसहित सञ्चालन गरिएको यस कार्यक्रमले चालक तथा यात्रुहरूमा सडक सुरक्षाप्रति थप जागरूकता अभिवृद्धि हुने विश्वास गरिएको छ।
















