कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको जनस्वास्थ्य महाविद्यालयका विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका जन-स्वास्थ्यसम्बन्धी अनुसन्धान सम्मेलनहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। जनस्वास्थ्य शिक्षा, अनुसन्धान र नेतृत्व क्षेत्रमा विद्यार्थीहरूको सक्रियता पछिल्लो समय उल्लेखनीय रूपमा बढ्दै गएको छ।

हालै सम्पन्न जनस्वास्थ्य सम्मेलन २०२६ मा जनस्वास्थ्य स्नातकोत्तर (एमपिएच) अध्ययनरत मनिस रोकायाले उत्कृष्ट मौखिक प्रस्तुति प्रस्तुत गर्दै पुरस्कार प्राप्त गरेका छन्। उनको अनुसन्धान वैश्विक जनस्वास्थ्य तथा महामारी विज्ञान सम्मेलन २०२६ का लागि पनि छनोट भएको छ।

उक्त सम्मेलनको मुख्य विषय ‘स्वास्थ्य प्रणाली, स्वास्थ्य नीति, डिजिटल स्वास्थ्य र उदीयमान स्वास्थ्य प्रणालीका चुनौतीहरू’ रहेको थियो। यस उपलब्धिले कर्णालीका विद्यार्थीहरू अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्न सक्षम रहेको प्रमाणित गरेको छ।
त्यसैगरी जनस्वास्थ्य स्नातक (बीपिएच) अध्ययनरत विभिसिका ओलीले उत्कृष्ट मौखिक अनुसन्धान प्रस्तुति पुरस्कार प्राप्त गर्दै महाविद्यालयको प्रतिष्ठा अझ बढाएको जनस्वास्थ्य महाविद्यालयका सहायक डिन प्राध्यापक शेषानन्द सञ्जेलले बताए।

उनका अनुसार साथै आशिका पुन, सविना मगर, सन्तोष अधिकारी र दिलिप हरिजनले पनि मौखिक तथा पोस्टर प्रस्तुति मार्फत सक्रिय सहभागिता जनाएका थिए।
जनस्वास्थ्य महाविद्यालयका सहायक प्राध्यापक ओम प्रकाश काफ्लेका अनुसार यो उपलब्धि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि अत्यन्त गर्वको विषय हो। उनले विद्यार्थीहरू कक्षाको अध्ययन र समुदायस्तरीय जनस्वास्थ्य सेवामा मात्र नभई अनुसन्धानको क्षेत्रमा पनि अब्बल बन्दै गएको बताउनुभयो।
यी उपलब्धिहरूले जनस्वास्थ्य महाविद्यालयका विद्यार्थीहरूको अनुसन्धान क्षमता, नेतृत्व विकास र जनस्वास्थ्यप्रतिको समर्पणलाई स्पष्ट रूपमा उजागर गरेका छन्।

















