जुम्लामा सडक पहुँच र बजार व्यवस्थापनको अभावले किसानले उत्पादन गरेको आलु बिक्री हुन नसकी गाउँमै थन्किन थालेको छ। विशेषगरी सिंजा गाउँपालिका ५ सानीगाउँका किसान नारायण बुढा यतिबेला आफ्नो मेहनतको फल बिक्री गर्न नपाउँदा चिन्तित छन्।
बुढाले यस वर्ष राम्रो उत्पादन गरे। तर उत्पादन बजारसम्म पुर्याउने प्रक्रिया नै अत्यन्त कष्टकर र खर्चिलो बनेको छ। छलाचौर क्षेत्रको स्याउलेमा रहेको आलु भदाली पाटनसम्म पुर्याउन घोडा र खच्चडको सहारा लिनुपर्यो। त्यो यात्रामै तीनदेखि चार दिन लाग्यो। त्यसपछि मात्रै जुम्ला बजारबाट ट्याक्टर लगाएर आलु बजारसम्म ढुवानी गरिएको उनले बताए।
‘यति धेरै दुःख गरेर बजार ल्याएको आलुको मूल्य प्रतिकिलो २० देखि २५ रुपैयाँ मात्रै पाइन्छ,’ बुढाले भने, ‘त्यो पनि तुरुन्त बिक्री हुँदैन। अहिले एक ट्याक्टर आलु बजारमा ल्याएको छु, तर करिब ३०० बोरा आलु अझै घरमै थन्किएको छ।’
उनका अनुसार गाउँमा पर्याप्त बजार छैन। जनसंख्या कम भएकाले स्थानीय स्तरमै उत्पादन खपत हुँदैन। व्यापारीहरू गाउँसम्म पुग्दैनन्। त्यसैले किसानले आफैं ढुवानीको सम्पूर्ण बोझ उठाउनुपरेको छ।
छलाचौरबाट जलजला, भदाली पाटन हुँदै चौरखोला–च्यारेचौर सडकमार्ग प्रयोग गरेर आलु जुम्ला बजारसम्म ल्याउनुपर्ने अवस्था छ। भदालीसम्म खच्चडमार्फत र त्यसपछि ट्याक्टरमार्फत ढुवानी गर्दा अधिकांश आम्दानी यातायात खर्चमै सकिने गरेको किसान बुढाको गुनासो छ।
‘मलजल गरेर खेती गर्यौं, तर दुःख मात्रै पाइयो,’ उनले भावुक हुँदै भने, ‘अब त खेती गर्नु नै व्यर्थजस्तो लाग्न थालेको छ।’
उनले च्यारे–चौरखोला हुँदै जलजला, छलाचौर र सिंजालाई जोड्ने सडक निर्माण भए किसानलाई उत्पादन बजारसम्म पुर्याउन सहज हुने बताए। सडक विस्तार र व्यवस्थित बजारको पहुँच भए जुम्लाका किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने विश्वास उनको छ।
कृषिमा निर्भर जुम्लाका ग्रामीण बस्तीहरूमा सडक र बजार व्यवस्थापनको अभाव अझै पनि ठूलो चुनौती बनेको छ। किसानले वर्षभरि गरेको मेहनतको उचित प्रतिफल नपाउँदा खेतीप्रतिको उत्साह घट्दै गएको छ।
















