शुक्रबार, १ जेष्ठ, २०८३

जुम्लामा विश्व सडक सुरक्षा सप्ताह मनाइयो, सडक अनुशासन पालना गर्न आग्रह

‘सडक अनुशासन पालना गरौँ, अमूल्य जीवनको रक्षा गरौँ’ भन्ने मूल नाराका साथ जुम्लामा विश्व सडक सुरक्षा सप्ताह–२०८३ भव्य रूपमा मनाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था सेवा कार्यालय जुम्लाको संयुक्त आयोजनामा सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आयोजित विशेष समारोहमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था सेवा कार्यालयका कर्मचारी, यातायात व्यवसायी तथा स्थानीय युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा हेल्मेट र सिट बेल्टको अनिवार्य प्रयोग, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्ने, जेब्रा क्रसिङ तथा आकाशे पुलको प्रयोग गर्ने, साथै ट्राफिक नियम र सङ्केतहरूको पूर्ण पालना गर्नुपर्ने विषयमा सहभागीहरूलाई सचेत गराइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका इन्चार्ज प्रकाश शाहीले पछिल्लो समय सडक दुर्घटना बढ्दै गएको उल्लेख गर्दै चालक, पैदलयात्री तथा सरोकारवाला सबै सचेत हुनुपर्ने बताए। उनले सडक सुरक्षा केवल प्रहरीको जिम्मेवारी नभई हरेक नागरिकको साझा दायित्व भएकोमा जोड दिए।

जुम्लाको भौगोलिक अवस्था तथा कठिन सडक खण्डलाई मध्यनजर गर्दै तीव्र गतिमा सवारी नचलाउन र मादक पदार्थ सेवन गरी सवारी साधन प्रयोग नगर्न समेत आग्रह गरिएको इन्चार्ज शाहीले जानकारी दिए।

यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका प्रमुख राजेन्द्र कार्कीले यस्ता कार्यक्रमले स्थानीय बासिन्दा तथा चालकहरूमा ट्राफिक नियमप्रतिको बुझाइ बढ्ने र सम्भावित सडक दुर्घटनामा कमी आउने अपेक्षा गरिएको बताए।

सप्ताह अन्तर्गत आज सवारी साधनहरूको यान्त्रिक चेकजाँच समेत गरिएको थियो। चेकजाँचका क्रममा केही सवारी साधनले आवश्यक कागजात साथमा नराखेको, सिट क्षमता भन्दा बढी यात्रु राखेको तथा गाडीभित्र अतिरिक्त ओभरसिट बनाएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ। त्यस्ता सवारी साधन तथा चालकलाई ट्राफिक नियम अनुसार कारबाही गरिएको इन्चार्ज शाहीले बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार