हिमाली भूगोललाई खेल र पर्यटनसँग जोड्ने लक्ष्यसहित “र’जुम्ला–रारा अल्ट्रा म्याराथन’को सातौं संस्करण हुने तयारी पूरा भएको छ।
आगामी बैशाख २६ गते हुने यो प्रतियोगिताले जुम्लालाई अन्तर्राष्ट्रिय स्तरको साहसिक खेल गन्तव्यका रूपमा चिनाउने अपेक्षा गरिएको छ।
कर्णाली स्पोर्ट्स क्लब जुम्लाको आयोजनामा हुने यस म्याराथनमा यस वर्ष करिब १००० जना सहभागी हुने भएका छन्।

आयोजकका अनुसार ५१ किलोमिटर दौडमा १३५ जना, १० किलोमिटरमा २०० जना र ५ किलोमिटर विद्यालय स्तरीय दौडमा ६०० जना दर्ता भइसकेका छन्।
क्लबका संरक्षक तथा अन्तर्राष्ट्रिय धावक हरि बहादुर रोकायाले जुम्लाको सम्भावना ठूलो रहेको बताउँदै भने, ‘हिमाली क्षेत्रमा हुने यस्ता प्रतियोगिताले नेपाललाई विश्व खेल क्षेत्रमा चिनाउन मद्दत गर्छ। जुम्लामा अझै धेरै यस्ता खेल आयोजना गर्न सकिन्छ।’
यो म्याराथन चन्दननाथ भैरवनाथको आँगन, खलंगा बजारबाट सुरु भई मुगुको रारा तालको हुटुमा पुगेर सकिनेछ।

५४ किलोमिटर लामो यो दौड कठिन भूगोल र उचाइका कारण निकै चुनौतीपूर्ण मानिन्छ। दौडको क्रममा विभिन्न चेक पोइन्टमा पानी, खाना र स्वास्थ्य सेवा उपलब्ध गराइने क्लबका अध्यक्ष सरोज शाहीले बताए।
प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले प्रतियोगितालाई प्रशासनको पूर्ण साथ रहेको बताए। उनले भने, ‘यो कार्यक्रम कर्णालीकै गौरव हो। सुरक्षा र व्यवस्थापनका लागि हामी पूर्ण रूपमा तयार छौं।’
कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष शाहीले खेलमार्फत समाज परिवर्तन गर्ने लक्ष्य रहेको बताए। ‘जुम्लालाई उच्च पर्वतीय खेल प्रशिक्षण केन्द्र बनाउने हाम्रो उद्देश्य हो। यसले पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुर्याउँछ,’ उनले भने।
रेस निर्देशक उमेश रोकायाका अनुसार प्रतियोगिताको सबै तयारी पूरा भइसकेको छ। ‘रुट मार्किङ, प्राविधिक टोली परिचालन र खेलाडी सुरक्षाका सबै काम सकिएका छन्,’ उनले थपे।
यस वर्ष प्रतियोगितामा केही नयाँ आकर्षण पनि थपिएका छन्। महिला धावकलाई विशेष प्रोत्साहनस्वरूप नगद पुरस्कार व्यवस्था गरिएको छ भने उत्कृष्ट खेलाडीलाई छात्रवृत्ति दिने कार्यक्रम पनि राखिएको छ।
साथै, ५४ किलोमिटर दौड पूरा गर्ने खेलाडीको संख्या बराबर वृक्षारोपण गरिने योजना छ। अन्तर्राष्ट्रिय स्तरमा पनि यो प्रतियोगिताले पहिचान बनाउँदै गएको अध्यक्ष शाहीले बताए।
उनका अनुसार इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन र युटिएमबी जस्ता संस्थाबाट मान्यता पाउने भएकाले खेलाडीहरूले अंक प्राप्त गर्ने अवसर पाउनेछन्।
प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने २२ जना खेलाडीलाई नगद पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गरिनेछ। कुल पुरस्कार राशि ६ लाख १८ हजार रुपैयाँ रहेको छ।
करिब ३० लाख ९८ हजार रुपैयाँ खर्च अनुमान गरिएको यस प्रतियोगितामा सरकारी निकाय, स्थानीय तह र विभिन्न संघ–संस्थाको सहयोग रहेको छ।
आयोजकले स्थानीय बासिन्दा, विद्यार्थी, खेलप्रेमी र सरोकारवालालाई उपस्थित भई खेलाडीलाई हौसला दिन आग्रह गरेका छन्।
जुम्ला–रारा अल्ट्रा म्याराथन खेल मात्र नभई कर्णालीको पहिचान र सम्भावनाको प्रतीक बन्न थालेको खेलमा सहभागी हुन लागेका जुम्ला २४ नम्बर बाहिनीका बाहिनीपति अर्जुन बस्नेतको प्रतिक्रिया छ।
बुधबार आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत म्याराथनको ट्रफि समेत सार्वजनिक गरिएको अन्तर्राष्ट्रिय धावक रोकायाले बताए।
















