बुधबार, १६ बैशाख, २०८३

रोल्पामा दलित बालकमाथि निर्घात कुटपिट गर्ने तीन जना पक्राउ

दलित बालकमाथि कुटपिट गरेको आरोपमा रोल्पा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। जिल्लाको गंगादेव गाउँपालिका–५, पाखापानी फूलबासका ११ वर्षीय खगेन्द्र विकमाथि गत शुक्रबार कुटपिट भएको स्थानीयको भनाइ छ।

कुटपिटमा संलग्न भएको आरोपमा स्थानीय टोपबहादुर खत्री (२०), भिमबहादुर खत्री (५०) र मस्तबहादुर खत्री (४५)लाई मंगलबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी, प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए। प्रहरीका अनुसार पीडित परिवारले सोमबार इलाका प्रहरी कार्यालय घर्तीगाउँमा जाहेरी दर्ता गरेका थिए।

स्थानीय कुइनेटा निवासी पूर्णबहादुर विकका छोरा खगेन्द्र खेल्नेक्रममा टोपबहादुरको घरभित्र छिरेपछि त्यहीँ समाएर कुटपिट गरेको प्रहरीको भनाइ छ। स्थानीयका अनुसार उनलाई दलितको छोरा भएर क्षेत्रीको घरमा पसेको भन्दै कुटपिट गरिएको थियो। बालकमाथि टोपबहादुरले कुटपिट गरेको र अरुले साथ दिएको खुल्न आएको रोल्पा प्रहरी प्रमुख डिएसपी वीरेन्द्रवीर विश्वकर्माले बताए।

बालकको आँखा र टाउकोमा कुटपिट गरी रक्ताम्मे बनाइएको थियो। कुटपिट भएको थाहा पाएलगत्तै रोक्न त्यहाँ पुगेका स्थानीय गोपाल विकलाई भीमबहादुर खत्री र मस्तबहादुर खत्रीले खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ। उनको निधारमाथि गम्भीर चोट लागेको छ।

घटना ११ गते बेलुकाको भए पनि गुपचुप बनाउन खोजिएको थियो। तर, सामाजिक सञ्जालमा तस्बिरहरु आएपछि घटना बाहिरिएको थियो। आरोपीविरुद्ध भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसूरलगायतको मुद्दा दर्ता गरी अनुसन्धान गर्ने तयारी गरिएको प्रहरीको भनाइ छ।

दलित भएकै कारण कुटपिट भएको र घटनाको निष्पक्ष छानवीन गरी दोषीमाथि कडा कार्वाही गर्न अधिकारकर्मीहरुले माग गरेका छन्। दलित भएकै कारण अमानवीय र क्रुर तरिकाले बच्चामाथि निर्घात कुटपिट गरिएको बताउँदै अधिकारकर्मी कर्मलाल परियारले निष्पक्ष छानवीन गरी दोषीमाथि कार्वाहीको माग गरे।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार