कर्णाली प्रदेशसभाबाट पहिलो पटक सङ्कल्प प्रस्ताव पारित गरिएको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकले हिमाली तथा दुर्गम जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्ने विषयमा ६ बुँदे प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
नेपाली कांग्रेसका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले पेस गरेको प्रस्तावलाई एमाले सांसद टेकराज पछाइ र सांसद दक्षिणा शाहीले समर्थन गरेका थिए। प्रस्तावमा कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट जुम्ला, कालिकोट, हुम्ला, मुगु र डोल्पामा नियमित हवाई उडान सञ्चालनका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने उल्लेख छ।
साथै संघीय सरकार, नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम तथा निजी वायुसेवा कम्पनीसँग समन्वय गरी सेवा विस्तार गर्ने, हवाई सेवालाई दिगो बनाउन अनुदान तथा सहुलियत व्यवस्था गर्ने प्रस्तावमा समेटिएको छ। विमानस्थलको स्तरोन्नति, मर्मत तथा सुरक्षा व्यवस्थापनका लागि बजेट विनियोजन गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ।
हवाई सेवा विस्तारले पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र आपतकालीन सेवा सहज हुने अपेक्षा गरिएको छ। प्रस्ताव कार्यान्वयनले कर्णालीका नागरिकको जीवनस्तर सुधार र सेवा पहुँच विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
















