माल्दिभ्समा आयोजना हुने साफ यू–२० च्याम्पियनसिपका लागि जुम्लाका धर्मेन्द्र कुँवरको कप्तानीमा २३ सदस्यीय नेपाली टोली शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछ। मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले घोषणा गरेको टोलीको नेतृत्व २० वर्षीय कुँवरले गर्नेछन्, जो जुम्लाको तातोपानी–७ सर्मीगाउँका स्थायी बासिन्दा हुन्।
मार्च २३ देखि अप्रिल ३ सम्म चल्ने यस प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालको समूहमा आयोजक माल्दिभ्ससँगै भुटान र श्रीलंका छन्। नेपालले आफ्नो पहिलो खेल मार्च २३ मा भुटानसँग खेल्ने तालिका छ। त्यसपछि मार्च २५ मा श्रीलंका र २७ मा माल्दिभ्सको सामना गर्नेछ। समूह ‘बी’ मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन्।
कप्तान धर्मेन्द्रको फुटबल यात्रा संघर्षपूर्ण र प्रेरणादायी छ। गाउँमा कपडाको बलबाट खेल सुरु गरेका उनले १४ वर्षकै उमेरमा जिल्ला लिग खेलेका थिए। सुरुमा गोलकिपरका रूपमा चिनिएका उनी विगत ५ वर्षदेखि जावलाखेल युथ क्लबमा आबद्ध छन्। पछिल्लो समय उनले आफ्नो भूमिका परिवर्तन गरी फरवार्डका रूपमा आफूलाई निखारेका छन्।
जावलाखेल युथ क्लब र एन्फा प्रेसिडेन्ट लिग हुँदै राष्ट्रिय टोलीको कप्तानसम्मको यात्रा तय गरेका धर्मेन्द्रको सफलताले कर्णाली क्षेत्रका खेलाडीहरूमा उत्साह थपेको छ। एथलेटिक्समा समेत रुचि राख्ने धर्मेन्द्रको अबको लक्ष्य सिनियर राष्ट्रिय टोलीमा स्थान बनाउनु र गाउँगाउँसम्म फुटबलको विकास गर्नु रहेको छ।
















