आईतवार, १ चैत्र, २०८२

बाढीले सताइरहेने खत्याडमा ३ करोड २० लाखको तटबन्धन योजना सुरु

२०७९ साल असोजको तेस्रो सातामा परेको अविरल वर्षाले मुगुको खत्याड गाउँपालिका ठूलो विपत्तिमा पर्‍यो। रारा तालको मुहानबाट सुरु भएर करिब ३४ किलोमिटर बग्दै कर्णाली नदीमा मिसिने खत्याड खोलाले त्यस वर्ष निकै उग्र रूप लियो।

बाढीका कारण एक समय उर्वर र हराभरा रहेको खत्याड क्षेत्र धेरै ठाउँमा उजाड बगरमा परिणत भयो। बाढीले अन्नबाली बगायो, उर्वर खेतबारी बगरमा बदलियो, घरबस्तीमा क्षति पुग्यो र धेरै पशुचौपाया हराए।

सडक, सिँचाइ कुलो, खानेपानी, विद्यालय, स्वास्थ्य चौकी, पुल तथा विद्युतका संरचनासमेत बाढीले बगायो। यस घटनाले स्थानीय जनताको जीवनमा ठूलो असर पुगेको समाजसेवी अनिल बालियाले बताए।

‘बाढीपछि स्थानीयले आफ्नो पीडा र समस्या राज्यका निकायसम्म पुर्‍याउने प्रयास गरे पनि अपेक्षित सहयोग समयमै प्राप्त हुन सकेन,’ उनले भने, ‘क्षतिग्रस्त क्षेत्र घोषणा भए पनि धेरै काम कागजमै सीमित भयो। यस कारण स्थानीय जनता लामो समयसम्म समस्यामा परिरहेका थिए।’

उनका अनुसार निरन्तर पहल र प्रयासपछि अहिले केही आशा देखिन थालेको छ। केही हप्ता अघि सिँचाइ विभागका महानिर्देशकसमक्ष खत्याडका बासिन्दाको समस्या राखिएपछि नदी नियन्त्रण तथा तटबन्धन निर्माणका लागि पहल भएको हो।

अहिले मुगु जिल्ला सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालयले करिब ३ करोड २० लाख रुपैयाँ बराबरको कामका लागि ठेक्का आह्वान गरेको छ।

यो योजना कार्यान्वयन भएपछि खत्याड खोलाको नियन्त्रण, बस्तीको सुरक्षा र खेतबारी जोगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। बाढीबाट पीडित स्थानीयका लागि यो योजना आशाको नयाँ किरणका रूपमा हेरिएको समाजसेवी बानियाँको भनाइ छ।

स्थानीयहरू अब खत्याडको मुहार फेरिने आशामा छन्। पीडाको अँध्यारोपछि परिवर्तनको उज्यालो आउने विश्वासका साथ खत्याड क्षेत्र नयाँ यात्रातर्फ अघि बढिरहेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार