निर्वाचनमा जित हासिल गर्न नसके पनि उनले यसलाई हारका रूपमा नलिने बताएकी छन्। उनका अनुसार हुम्लामा नयाँ आशा, नयाँ विकल्प र नयाँ राजनीतिक संस्कारको बीउ रोप्ने काम भएको छ।
विकट हिमाली जिल्ला हुम्लाबाट पहिलो पटक प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवारका रूपमा उठेकी टासी ल्हान्जोमले चुनावी यात्रालाई आफ्नो “पहिलो जित” भएको बताएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी उनले चुनाव परिणामपछि सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गरेकी हुन्।
उनले हुम्लाजस्तो विकट जिल्लामा संगठन कमजोर हुँदाहुँदै चुनाव लड्नु आफैँमा ठूलो अनुभव भएको उल्लेख गरेकी छन्। लिमिबाट पहिलो पटक प्रत्यक्ष चुनावमा महिला उम्मेदवार बन्न पाउनु आफ्ना लागि ऐतिहासिक अवसर भएको उनले बताएकी छन्।
ल्हान्जोमका अनुसार चुनावी यात्रा सहज थिएन। भौगोलिक कठिनाइ, सीमित स्रोत र पुरानो राजनीतिक संरचनाबीच चुनावी अभियान सञ्चालन गर्नुपरेको थियो।
तर त्यसबीच पनि उनले हुम्लाको राजनीति, यहाँको बेथिति र जनताको वास्तविक अवस्था नजिकबाट बुझ्ने अवसर पाएको बताएकी छन्।
हुम्लाका सातै पालिकाबाट प्राप्त मतलाई उनले सम्मानका रूपमा लिएकी छन्। विशेषगरी नाम्खा गाउँपालिकाका मतदाताले देखाएको माया र विश्वासप्रति उनले विशेष आभार व्यक्त गरेकी छन्।
निर्वाचनमा जित हासिल गर्न नसके पनि उनले यसलाई हारका रूपमा नलिने बताएकी छन्। उनका अनुसार हुम्लामा नयाँ आशा, नयाँ विकल्प र नयाँ राजनीतिक संस्कारको बीउ रोप्ने काम भएको छ।
उनले आफ्नो पार्टी अहिले सरकारमा पुगेकाले सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रणाली सुधारका लागि अझ जिम्मेवारी बढेको उल्लेख गरेकी छन्। त्यसका लागि हुम्लाबाट पनि निरन्तर आवाज उठिरहने उनको भनाइ छ।
लामो समयदेखि बलियो उपस्थिती नभएको पार्टीलाई हुम्लाका जनताको मनसम्म पुर्याउन सफल भएको महसुस उनले व्यक्त गरेकी छन्।
हुम्लाका मतदाताबाट प्राप्त १०६४ मतलाई उनले ठूलो सम्मानका रूपमा लिँदै सहयोग, साथ र मायाका लागि सबैप्रति धन्यवाद व्यक्त गरेकी छन्।
















