शुक्रबार, २९ जेष्ठ, २०८३

काठमाडौँमा चार डेन्टल क्लिनिकमा अनुगमन, दुईलाई सिल गर्न सिफारिस

नेपाल मेडिकल काउन्सिल (NMC) ले काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित चार वटा डेन्टल क्लिनिकमा गरेको अनुगमनका क्रममा गम्भीर अनियमितता फेला पारेको छ। अनुगमनपछि दुई क्लिनिकलाई तत्काल बन्द गरी सिल गर्न सिफारिस गरिएको छ।

आज बिहान १० बजेदेखि सुरु गरिएको अनुगमनमा काउन्सिल सदस्य डा. अजय कुमार शाह र डा. अस्मिता पोखरेल, विज्ञ डा. भुमेश काफ्ले र डा. हरी वली तथा कर्मचारी रमिला मानन्धर सहभागी थिए। टोलीले पुजा डेन्टल क्लिनिक, नाइस स्माइल डेन्टल, नागेश्वर डेन्टल होम र आरुबारी डेन्टल क्लिनिकमा निरीक्षण गरेको थियो।

अनुगमनका क्रममा पुजा डेन्टल क्लिनिक र नाइस स्माइल डेन्टलमा जनस्वास्थ्यसम्बन्धी न्यूनतम मापदण्ड पूरा नगरेको, सम्बन्धित निकायमा विधिवत दर्ता नभएको, योग्य दन्त चिकित्सक तथा डेन्टल हाइजिनिस्ट नराखी सेवा सञ्चालन गरिएको पाइएको छ।

साथै, अत्यधिक फोहोर र अस्वस्थकर वातावरणमा उपचार सेवा प्रदान गरिएको, उपकरणहरूको स्टेरिलाइजेसन नगरेको, सामग्री अव्यवस्थित राखिएको तथा बिरामीको अभिलेख नराखिएको पाइएको काउन्सिलले जनाएको छ।

यसैगरी, ती क्लिनिकमा बिग्रिएको एक्स–रे मेसिन प्रयोगका लागि राखिएको अवस्थामा भेटिएको छ, जसले बिरामीको स्वास्थ्यमा थप जोखिम सिर्जना गरेको काउन्सिलको भनाइ छ।

त्यस्तै, आरुबारी डेन्टल क्लिनिक जनस्वास्थ्य कार्यालयमा दर्ता नभएको तथा सम्बन्धित चिकित्सकसँग औपचारिक सम्झौता पत्र नभएको पाइएको छ। नागेश्वर डेन्टल होममा भने फुल–टाइम दन्त चिकित्सक नराखी पार्ट–टाइम चिकित्सकमार्फत मात्र सेवा सञ्चालन गरिएको भेटिएको छ।

काउन्सिलले यस्ता गतिविधिले सर्वसाधारणको मुख तथा दन्त स्वास्थ्यमा प्रत्यक्ष जोखिम सिर्जना गरेको निष्कर्ष निकालेको छ। त्यस आधारमा नाइस स्माइल डेन्टल केयर प्रा.लि. र पुजा डेन्टल क्लिनिकलाई तत्काल बन्द गरी सिल गर्न सिफारिस गर्दै आवश्यक कारबाहीका लागि काठमाडौँ महानगरपालिकामा पत्र पठाइसकेको जनाएको छ।

अनुगमन टोलीमा सहभागी डा. भुमेश काफ्लेले आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार