बुधबार, २८ माघ, २०८२

काभ्रे–२ मा ३५ वर्षदेखि राजनीतिक पार्टीको पकड, स्वतन्त्र उम्मेदवार थापाले दिँदै कडा टक्कर !

नवीन सोच, देश र जनतामा समर्पित भएर केही गर्छु भन्ने ऊर्जा उनमा देखिन्छ । स्नातक सकाएका थापा पत्रकारिता पेशाबाट आएका हुन् । पत्रकार हुँदा देश र जनताको समस्या तथा समाजमा भएका बेतिथि सशक्त रुपमा उठाएका उनी त्यसको समाधानका लागि आफूले उम्मेदवारी दिएको बताउँछन्

सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गराउँदैछ । निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरु यतिबेला प्रचारप्रसारमा व्यस्त छन् । प्रायःजसो उम्मेदवार पुरानै एजेण्डा बोकेर जनतासँग मत मागिरहेका छन् । तर, काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट ‘ठेकी’ चुनाव चिन्ह लिएर उठेका उमेश थापाको एजेण्डा अरुभन्दा फरक र नयाँ छन् । युवा पुस्ताका उनी जनताको समस्या समाधानका लागि पहिलो आवश्यकता सुशासन र इमान्दार नेतृत्व भएको बताउँछन् ।

भुम्लु गाउँपालिका–२, सिम्थलीका ३० वर्षीय थापा राजनीतिमा नयाँ अनुहार हुन् । नवीन सोच, देश र जनतामा समर्पित भएर केही गर्छु भन्ने ऊर्जा उनमा देखिन्छ । स्नातक सकाएका थापा पत्रकारिता पेशाबाट आएका हुन् । पत्रकार हुँदा देश र जनताको समस्या तथा समाजमा भएका बेतिथि सशक्त रुपमा उठाएका उनी त्यसको समाधानका लागि आफूले उम्मेदवारी दिएको बताउँछन् । भन्छन्,‘पत्रकारले समस्या उठाउने हो, समाधान गर्ने जनताबाट चुनिएर गएको प्रतिनिधिले हो । पत्रकार हुँदा जनताको धेरै समस्या उठाए । त्यसको समाधान खोज्दै राजनीतिमा होमिएको हुँ ।’

थापाको भनाइमा जनताको समस्या समाधान गर्ने अचुक उपाय इमान्दार नेतृत्व हो । राजनीतिमा इमान्दारिताको अभाव हुँदै गएको उनको जिकिर छ । उनका अनुसार जनतालाई सपना देखाउने र जितेपछि सबै बाचा बिर्सिने प्रवृत्तिले राजनीतिप्रति जनविश्वास हराउँदै गएको छ । तर, आफूबाट कदापि त्यस्तो नहुने उनले बताए । मतदाताले मौका दिएमा काम गरेर देखाउने उनले सुनाए । इमान्दार नेतृत्व बनेर राजनीतिमा हराएको जनविश्वास फर्काएरै छाड्ने थापाको दाबी छ । ‘म ठूला कुराभन्दा पनि काम गरेर देखाउनमा बढी विश्वास गर्छु । मतदाताले मलाई मौका दिनुभयो भने म त्यो कुरा प्रमाणित गरेर देखाउँछु’, उनले भने ।

काभ्रे–२ राजनीतिक दलको पकड भएको क्षेत्र हो । एमाले, काँग्रेस र माओवादीले पालैपालो जितिरहेको क्षेत्रमा स्वतन्त्रलाई जित्न मुस्किल पर्ने देखिन्छ । राजनीतिक दलका उम्मेदवारको काम हेरिसकेको उल्लेख गर्दै थापाले मतदाताले परिवर्तन खोजेको बताए । जनताले पार्टीभन्दा पनि काम गर्ने, आफ्ना समस्या सुनिदिने, समाधानमा पहल गर्ने उम्मेदवार खोजिरहेको उनको भनाइ छ । भन्छन्, ‘जतिचोटि देशमा चुनाव भयो, त्यतिचोटि राजनीतिक दलको उम्मेदवारले जित्नुभयो । तर, उहाँहरुले जनताको समस्या सम्बोधनमा कुनै पहल गर्नुभएन । यसपटक जनताले पार्टी होइन, काम गर्ने उम्मेदवार खोज्नुभएको छ । परिवर्तनको पक्षमा उभिनुभएको मतदाताले परिवर्तन ल्याएरै छोड्नुहुन्छ भन्ने मलाई विश्वास छ ।’

मतदाताले आफूलाई जिताएर पठाएमा कानुन निर्माण र स्थानीय मुद्दाको उठानमा सशक्त रुपमा लागिपर्ने थापा बताउँछन् । जनताको समस्या समाधान गर्न सरोकारवालालाई घच्घचाउन कुनै कसर बाँकी नराख्ने उनको प्रतिबद्धता छ । स्थानीय विकासमा केन्द्रित भएर लाग्ने उल्लेख गर्दै उनले आफूले गरेको कामको प्रगति विवरण जनतासमक्ष पेश गर्ने पनि बताएका छन् । जनताले दिएको जिम्मेवारी पुरा गर्न आफू अहोरात्र खटिरहने र चुनावपछि जनप्रतिनिधि हराउने परिपाटी बदल्ने उनको भनाइ छ । जनतासँगै बसेर काम गर्ने पनि उनले बताए । मत माग्दा मात्र होइन, चुनाव जितेपछि पनि घर–घरमा गएर जनताको समस्या बुझ्ने प्रतिबद्धता उनले जनाएका छन् ।

यस्ता छन् उनका प्रमुख एजेण्डा
१) कानुन निर्माण र स्थानीय मुद्दा उठाउन सक्रिय भएर लाग्ने
२) युवापुस्तालाई सीपसँग जोड्ने
३) स्थानीयस्तरमा उत्पादित वस्तुलाई प्रवर्द्धन र बजारीकरण गर्न भूमिका खेल्ने
४) वैदेशिक रोजगारीलाई बाध्यता नभई विकल्प बनाउने
५) जनतालाई गाउँमै बस्ने वातावरण बनाउने
६) विभिन्न कारणले गाउँ छोडेकाहरुलाई फर्काउन पहल गर्ने
७) जनताको आधारभूत आवश्यकता परिपूर्तिका लागि सशक्त भएर लाग्ने
८) चुनावपछि जनप्रतिनिधि हराउने प्रवृत्तिको अन्त्य गर्ने
९) बजेट माग र क्षेत्रमा गएको बजेट सदुपयोगका लागि विशेष पहल
१०) दीर्घकालीन विकास र उद्योग तथा कलकारखाना निर्माणमा जोड
११) जनताको समस्या, सुझाव सुन्ने र सम्बोधनमा लागिपर्ने
१२) आफ्ना कामको सार्वजनिक सुनुवाई गर्ने
१३) युवा पुस्तालाई देशमै बस्ने वातावरण सिर्र्जना गर्नमा केन्द्रित भएर लाग्ने
१४) नागरिकप्रति सँधै उत्तरदायी रहने र प्रश्नबाट नभाग्ने
१५) उपत्यकासँगै जोडिएको काभ्रे–२ लाई विकाससँग जोड्ने, पाँच वर्षमा मुहार फेर्ने

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार