आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) जुम्लाका उम्मेदवार शान्तिलाल महतले आफ्नो स्थानीय बाचापत्र सार्वजनिक गरेका छन्। जुम्लाबासी मतदातालाई लक्षित गर्दै उनले विकास, सुशासन र समृद्धिको स्पष्ट खाका प्रस्तुत गरेका हुन्।
बाचापत्रमार्फत महतले भ्रष्टाचार, कुशासन र बाह्य हस्तक्षेपविरुद्ध सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। जुम्लाको समग्र विकासलाई प्राथमिकतामा राख्दै उनले सडक, स्वास्थ्य, शिक्षा, रोजगारी, पर्यटन र युवामैत्री सेवामा विशेष जोड दिएका छन्।
सडक पूर्वाधारतर्फ कर्णाली राजमार्गलाई दुई लेनमा स्तरोन्नति गर्दै वर्षभरि सञ्चालनयोग्य बनाउने, जुम्ला, डोल्पा, मुस्ताङ, काठमाडौं पर्यटकीय मार्ग निर्माण गर्ने तथा विभिन्न ग्रामीण सडकलाई कालोपत्रे गर्ने योजना समावेश गरिएको छ।
स्वास्थ्य क्षेत्रतर्फ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई केन्द्र बनाइ स्याटलाइट अस्पताल स्थापना, टेलिमेडिसिन सेवा विस्तार, निःशुल्क एम्बुलेन्स तथा २४ घण्टा आधारभूत सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ। साथै, लागुऔषध दुर्व्यसनी युवाका लागि पुनर्स्थापना केन्द्र स्थापना गर्ने योजना पनि रहेको छ।
शिक्षा तथा सीप विकासमा कर्णाली प्राविधिक शिक्षालयलाई विश्वविद्यालयमा रूपान्तरण गर्ने, प्राविधिक तालिम विस्तार गर्ने तथा विद्यालय तहमा आईटी र एआई अध्ययनको व्यवस्था गर्ने लक्ष्य लिइएको छ।
रोजगारी र आर्थिक विकासका लागि विद्युत विस्तार, जलविद्युत आयोजना, औद्योगिक क्षेत्र विकास, कृषि र जडीबुटी प्रवर्द्धन, स्थानीय उत्पादनको ब्रान्डिङ तथा ‘मेक इन जुम्ला’ नीति लागू गर्ने घोषणा गरिएको छ।
पर्यटन र संस्कृतितर्फ रारा फोक्सुण्डो पर्यटकीय मार्ग, धार्मिक तथा प्राकृतिक स्थलको प्रवर्द्धन, सिंजा सभ्यता बोर्ड गठन तथा गुठीचौरलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारिएको छ।
युवा लक्षित कार्यक्रममा निःशुल्क इन्टरनेट, पारदर्शी शासन, नीति निर्माणमा युवाको सहभागिता, नवप्रवर्तनलाई प्रोत्साहन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति समावेश गरिएको छ।
बाचापत्र सार्वजनिक गर्दै उम्मेदवार महतले जुम्लाको न्यायोचित विकास र जनताको जीवनस्तर उकास्न आफू दृढ संकल्पित रहेको बताए। उनले मतदातासँग सूर्य चिन्हमा मतदान गरी विजयी गराउन आग्रहसमेत गरेका छन्।
‘म मातृभूमि र जुम्ली जनतालाई शिरमा राखी इमानदार रूपमा सेवा गर्नेछु,’ महतले भने, ‘यो बाचापत्र केवल घोषणा होइन, व्यवहारमा उतार्ने प्रतिबद्धता हो।’
एमाले उम्मेदवार महतको बाचापत्रले जुम्लाको दीर्घकालीन विकास र समृद्धिको मार्गचित्र प्रस्तुत गरेको स्थानीयवासीहरूको प्रतिक्रिया रहेको छ।
















