तातोपानी गाउँपालिका वडा नं. ५ ले जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ।
वडा नं. ५ को आ.व. ०८२/०८३ को स्वीकृत लक्षित वर्ग कार्यक्रमअनुसार शुक्रबार वडा कार्यालय परिसरमा एक कार्यक्रम गरि न्यानो कपडा वितरण गरिएको हो।
कार्यक्रम अन्तर्गत पुरुषका लागि १०० थान जकेट र महिलाका लागि १३० थान जकेट वितरण गरिएको वडा अध्यक्ष छिरिङ महतले बताए।
‘चिसो मौसमका कारण जोखिममा रहेका लक्षित वर्गलाई राहत दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो,’ उनले भने।
वडा अध्यक्ष महतका अनुसार करिब ६ लाख रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरिएको छ।
‘जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर यो कार्यक्रम ल्याइएको हो,’ उनले भने।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा लाभग्राहीहरूको उपस्थिति रहेको थियो।
लाभग्राहीहरूले वडा कार्यालयको पहलप्रति धन्यवाद व्यक्त गरेका छन्।
















