चर्चित विद्यार्थी नेता रमेश रावत ‘विक्रान्त’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) बाट अलग भएर नेपाली कम्युनिस्ट पार्टीमा गएको घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै उनले नेतृत्वप्रति सम्मान कायम राख्दै पार्टीबाट अलग हुने निर्णय लिएको बताएका हुन्।
रावतले पार्टी र नेतृत्वप्रति सधैँ उच्च सम्मान रहेको उल्लेख गर्दै आफूलाई राजनीतिक चेतना र अभिव्यक्ति दिने स्तरसम्म पुर्याएकोमा कृतज्ञता व्यक्त गरेका छन्। ‘मलाई आजको अवस्थामा पुर्याउने नेतृत्वप्रति सधैँ ऋणी छु,’ उनले लेखेका छन्।
उनले पार्टी संकटको अवस्थामा छोड्नु पीडादायी भए पनि आफूले अन्तिम समयसम्म संगठनको जिम्मेवारी इमान्दारिताका साथ पूरा गरेको दाबी गरेका छन्। पार्टीको हित र नेतृत्वको संरक्षणका लागि व्यवहारिक रूपमा भूमिका निर्वाह गरेको भन्दै यसबारे नेतृत्व स्वयं जानकार रहेको उनको भनाइ छ।
रावतले आफूले राजनीतिबाट कुनै व्यक्तिगत, आर्थिक वा नैतिक लाभ नलिएको स्पष्ट पारेका छन्। ‘मैले लिएको भनेको ‘विक्रान्त’ भन्ने पहिचान मात्र हो,’ भन्दै उनले यदि कुनै अनियमितता प्रमाणित भए राजनीति नै छोड्न तयार रहेको बताएका छन्।
पार्टीभित्र र बाहिरबाट आएका आलोचनाप्रति प्रतिक्रिया जनाउँदै उनले केही व्यक्तिहरूले आफूलाई बदनाम गर्न खोजेको आरोप पनि लगाएका छन्। यस्ता टिप्पणीप्रति आफू र पार्टीभित्रका इमान्दार कार्यकर्ताहरू असन्तुष्ट भएको उनको भनाइ छ।
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको सम्बन्धबारे पनि रावतले प्रष्ट पारेका छन्। उनले विगतमा प्रचण्डप्रति कडा आलोचना गर्ने आफू नै भएको बताउँदै नेपाली जनताको अपेक्षा अझै बाँकी रहेको उल्लेख गरेका छन्।
आफूले अब गालीगलौज र व्यक्तिगत आक्रमणको राजनीति त्यागिसकेको बताउँदै रावतले सबैलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरेका छन्। ‘अब फुटेर होइन, जुटेर अघि बढ्नुपर्छ,’ उनको भनाइ छ।
स्वतन्त्र रूपमा अघि बढ्ने संकेत गर्दै उनले आफ्नो स्वतन्त्रताको सम्मान गर्न पनि आग्रह गरेका छन्। अनावश्यक विवाद नबढाउन अनुरोध गर्दै उनले परिस्थितिलाई जटिल नबनाउन सबै पक्षलाई संयम अपनाउन अपिल गरेका छन्।
















