नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट विजयी भएका छन्।
जुम्ला र कर्णालीको राजनीतिमा लामो समयदेखि सक्रिय शाहीलाई कांग्रेसले राष्ट्रिय सभा जस्तो गरिमामय जिम्मेवारीका लागि अघि सारेको थियो, र उनी निर्वाचनमा सफल भएका हुन्।
शाही जुम्लाबाट नेपाली कांग्रेसको इतिहासमै पहिलो पटक पहिलो संविधान सभा निर्वाचन जित्ने नेता हुन्। दोस्रो संविधान सभा निर्वाचनमार्फत संविधान निर्माणकर्ताको सूचीमा उनको नाम र हस्ताक्षर दर्ज छ।
जुम्ली जनताले दिएको जिम्मेवारीलाई उनले संविधान निर्माणमार्फत पूरा गरेका छन्, जसलाई उनी आफ्नो जीवनको सबैभन्दा ठूलो राजनीतिक उपलब्धि मान्छन्।
राजनीतिमा प्रचारभन्दा काममा विश्वास गर्ने शाही संविधान सभामा रहँदा जुम्लाको दीर्घकालीन विकासका लागि ऊर्जा क्षेत्रलाई मुख्य आधार मानेका थिए। आर्थिक वर्ष २०७१/०७२ को बजेटमा जुम्लामा पाँच मेगावाट विद्युत् उत्पादन गर्ने व्यवस्था उनको निरन्तर पहलको परिणाम थियो।
योजना कार्यान्वयनमा ढिलाइ भएपछि उनले सर्वोच्च अदालतसम्म पुगेर कानुनी लडाइँ लडेका थिए, जसबाट सरकारलाई विद्युत् उत्पादन गर्न परमादेश जारी भएको थियो।
उनका अनुसार जुम्लामा विद्युत् विकास नहुनु भनेको उद्योग, रोजगारी र समृद्धिको ढोका बन्द हुनु हो। राष्ट्रिय सभा सदस्य बनेपछि पनि उनको प्राथमिकता ऊर्जा क्षेत्रमै रहने धारणा छ।
‘म पद र भत्ताका लागि राजनीतिमा आएको होइन, अधुरा काम पूरा गर्न र जुम्ली जनतासँग गरेका प्रतिबद्धता निभाउन आएको हुँ,’ शाहीले भने।
शाहीको पहलमा जुम्ला रारा सडकखण्ड, उर्थु पुल, छिनासँगु पुल, ताम्ती जाने कुडारी पुलजस्ता पूर्वाधार परियोजनाहरू अघि बढेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ३०० शय्याको भवन निर्माण पनि उनको सक्रियतासँग जोडिन्छ।
गठबन्धन राजनीतिमा स्पष्ट र सन्तुलित दृष्टिकोण राख्ने शाहीले गठबन्धनलाई संस्थागत रूपमा सफल बनाउनु सबै दलको साझा दायित्व भएको बताएका थिए।
अनुभव, निरन्तरता र संस्थागत राजनीतिमा विश्वास गर्ने शाहीले राष्ट्रिय सभा सदस्यको रूपमा कर्णालीका मुद्दालाई राष्ट्रिय तहमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।














