सोमबार, १२ माघ, २०८२

उम्मेदवारहरूलाई खुल्ला पत्र

(जनताको प्रश्न, नेताको जवाफदेहिता)

आदरणीय!
जुम्ला जिल्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा उम्मेदवारी दिनु भएका
सम्पूर्ण राजनीतिक दलका नेता तथा स्वतन्त्र उम्मेदवारज्यूहरू,

नमस्कार।

यो पत्र कुनै दल, गुट वा व्यक्तिको पक्षमा होइन।
यो जुम्लाका जनताको पीडा, प्रश्न र भविष्यको आवाज हो।

हामीले दशकौँदेखि भाषण सुन्दै आएका छौँ,
अब जवाफ चाहिएको छ।

त्यसैले तपाईँहरू सबैलाई खुल्ला मञ्चमा जनतासँग प्रत्यक्ष संवाद कार्यक्रम राखी स्वयं उपस्थित भई हामी जुम्लाका जनतालाई समय सीमासहित स्पष्ट जवाफ दिन सार्वजनिक रूपमा चुनौती दिन्छौं।

१. जुम्लामा आज पनि गम्भीर बिरामी परे हेलिकप्टर कुर्नु पर्ने अवस्था किन अन्त्य हुन सकेन ? तपाईँ निर्वाचित भए ५ वर्षभित्र जुम्लामै कुन–कुन विशेषज्ञ सेवा स्थायी रूपमा सञ्चालन गर्नुहुन्छ ? केवल “हुनेछ” होइन, कहिले, कसरी र बजेट कहाँबाट ?

२. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान किन उपचारभन्दा राजनीति र पहुँचको केन्द्र बन्यो ?
यसलाई सुधार्न तपाईँको ठोस कार्ययोजना के हो ?

३. जुम्लाका सामुदायिक विद्यालयको गुणस्तर किन खस्किँदै गएको छ ? तपाईँको कार्यकालमा शिक्षक व्यवस्थापन, छात्रावास र शैक्षिक गुणस्तर सुधारका लागि के परिवर्तन देखिन्छ ?

४. जुम्लाका विद्यार्थी अझै किन छात्रवृत्ति र अध्ययनका लागि काठमाण्डौ धाउन बाध्य छन् ?

५. जुम्लाका युवा किन देशमै बस्न सकिरहेका छैनन् ? तपाईँ निर्वाचित भए पहिलो २ वर्षमै जुम्लामा कति रोजगारी सिर्जना गर्नुहुन्छ ? संख्या र क्षेत्र स्पष्ट भन्नुहोस्।

६. स्याउ, आलु, सिमी, जडीबुटी उत्पादन हुँदाहुँदै पनि किसान किन सधैँ घाटामा छन् ? बिचौलिया नियन्त्रण गर्ने कि नगर्ने ? किसानले मूल्य कहिले पाउने ?

७. जुम्लामा सडक बन्यो भनेर बजेट सकिन्छ, तर किन वर्षदिन नपुग्दै भत्किन्छ ? तपाईँको पालामा कुन सडक कति वर्ष टिक्ने ग्यारेन्टी गर्नुहुन्छ ?

८. हवाई सेवा किन नियमित छैन ? जुम्लालाई कटअफ जिल्ला घोषणा गराउन संसदमा लड्नुहुन्छ कि लड्नुहुन्न ?

९. जुम्लामा आएको विकास बजेट कहाँ गयो ? तपाईँ आफ्नै दलभित्रका भ्रष्ट नेताविरुद्ध कारबाही गर्न तयार हुनुहुन्छ ?

१०. तपाईँ निर्वाचित भए सम्पत्ति विवरण सार्वजनिक गर्न र ५ वर्षपछि तुलना गर्न तयार हुनुहुन्छ ? हो वा होइन ?

११. तपाईँका लागि जुम्ला भोट बैंक हो कि जीवनभरको जिम्मेवारी ? चुनाव जितेपछि कति समय जुम्लामै बस्नुहुन्छ ? लिखित प्रतिबद्धता दिनुहुन्छ ?

१२. सबैभन्दा महत्वपूर्ण प्रश्न यदि तपाईँले गरेका मुख्य घोषणा ५ वर्षमा पूरा भएनन् भने अर्को चुनाव नलड्ने नैतिक जिम्मेवारी लिनुहुन्छ ?

१३. यति धेरै असफलता, निराशा र पीडाका बीच
हामी जुम्लाका जनताले फेरि पनि तपाईँलाई नै किन भोट दिने ? ३ वटा ठोस कारण, घुमाउरो होइन सीधा जवाफ चाहिन्छ।

जुम्लाका जनता अब मौन छैनन्,अन्धभक्त छैनन्,
भाषणले भ्रमित हुने अवस्थामा छैनन्। खुल्ला मञ्चमा आउनुहोस्,प्रश्न सुन्नुहोस्, जवाफ दिनुहोस्
र इतिहासको कठघरामा उभिन तयार रहनुहोस्।

भवदीय,
जुम्लाका सचेत नागरिकहरू
(जनताको तर्फबाट )
मकर बहादुर हमाल

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार