सोमबार, १२ माघ, २०८२

बालेन साहलाई खुला पत्र

प्रिय बालेन साह ज्यू (मेयर, काठमाडौँ महानगरपालिका तथा भावी प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार),

​विषय: सिंहदरबारको बाटो कर्णालीको मुटु जुम्ला बाट तय गरियोस् ।

​प्रिय बालेन ज्यू,
​आज यो पत्र लेख्दै गर्दा मेरो मनमा काठमाडौँका चिल्ला सडक र झिलिमिली बल्ने बत्तीको तस्विर होइन, कर्णालीको त्यो कहालीलाग्दो भूगोल र यहाँका बिपन्न तर निर्दोश नागरिकहरुको तस्विर झल्झली नाचिरहेको छ । हालैको राजनीतिक घटनाक्रम र तपाईँले झापा बाट चुनाव लड्ने सङ्केत दिएको खबरले देशैभरि एउटा तरङ्ग त ल्याएको छ, तर एउटा दुर्गम क्षेत्रको नागरिकको नाताले म तपाईँलाई एउटा फरक र साहसी प्रस्ताव राख्न चाहन्छु- तपाईँ यस पटक ‘जुम्ला’ बाट चुनाव लड्नुहोस् ।

​प्रिय बालेन ज्यू, नेपाल तबसम्म समृद्ध हुँदैन जबसम्म काठमाडौँ र कर्णालीबीचको दूरी मेटिँदैन । झापामा त विकासका पूर्वाधार पुगेकै होलान्, त्यहाँ पहुँचको अभाव पनि छैन होला तर जुम्ला र समग्र कर्णाली अझै पनि राज्यको नजरमा ‘दुर्गम’ मात्र होइन, अत्यन्तै तिरस्कृत पनि छ । अर्को कुरा काठमाडौँको कोलाहलमा संघर्ष गरिरहेको ‘बालेन’ र सत्ताको जोडघटाउमा व्यस्त ‘भावी प्रधानमन्त्रीको उम्मेदवार’ को तस्विरबीच, म यो पत्र एउटा यस्तो भूगोलबाट लेख्दै छु, जहाँका मान्छेहरूका लागि ‘सिंहदरबार’ को सिंहासन आज पनि एउटा दन्त्यकथा मै सिमित छ । तपाईँले झापाको उर्वर भूमिबाट चुनाव लड्ने सुन्दै गर्दा मनमा एउटा अर्को गम्भीर प्रश्न पनि उब्जिएको छ – के यो देशको प्रधानमन्त्री बन्ने बाटो सधैँ सुगम र सुविधायुक्त क्षेत्र मात्रै हुनुपर्छ ? यदि होइन भने, म तपाईँलाई जुम्लाको त्यो विकट उकालो चढ्न र कर्णालीको आँगनबाट देशको नेतृत्व गर्ने आँट गर्न आह्वान गर्दछु किनकि जुम्ला र समग्र कर्णालीले आधुनिक नेपालको एकीकरणपछि प्रधानमन्त्री त परैको कुरा प्रधानमन्त्रीको उम्मेदवार समेत पाउन सकेको छैन ।

​भावी प्रधानमन्त्रीको उम्मेदवार ज्यू, तपाईँको ईन्जिनियरिङ दिमाग र काठमाडौँ महानगरपालिकामा देखाएको अठोट जस्तै कर्णाली जस्तो दुर्गममा पनि कसैले अठोट देखाउने हो भने कर्णालीको पनि भाग्य बदलिन सक्छ । कर्णालीको स्याउ, सिमी र मार्सी चामललाई विश्व बजारमा ब्रान्डिङ गर्न तपाईँ जस्तै भिजन भएको नेतृत्व कर्णालीलाई अत्यावश्यक भइसकेको छ । जबसम्म यो देशको सम्भावित प्रधानमन्त्रीले जुम्लाको ‘मार्सी चामल’ को स्वादमा यहाँको पसिना मिसिएको बुझ्दैन, जबसम्म उसले राराको नीलो पानीमा कर्णालीको आँसु देख्दैन, जब सम्म यहाँको जडिबुटी, स्याउ, सिमी र ओखरहरुको व्यवस्थित बजार व्यवस्थापन हुन सक्दैन तबसम्म जुम्ला र कर्णाली बदलिने छैन । त्यसैले तपाईँहरु जस्तैको ईन्जिनियरिङले जुम्लाका भिरहरूमा सडक मात्र होइन, यहाँका फराकिला फाँटहरुमा आशाको दीप जगाउनु पनि जरुरी छ ।तपाईँहरु जस्तै युवाहरूको साहसले सिंहदरवारलाई यो पनि बुझाउनु जरुरी छ कि “नेपालको विकास सुगमको सहजतामा होइन, दुर्गमको उत्थानमा लुकेको छ।”

​प्रिय बालेन ज्यू, म यो भनिरहन निकै बाध्य बनेको छु किनकि कर्णाली र जुम्लाले विकास कसरी गर्न सकिन्छ भन्ने भिजन भएको नेता कहिल्यै पनि पाउन सकेको छैन । यहाँ त एकातर्फ एउटा मात्रै राज्यको लगानीमा बनेको कामको श्रेय लिएर २० औं बर्ष त्यसैको ब्याज स्वरुप जनतालाई रनभुल्ल बनाइ रहने प्रचलन छ भने अर्को तर्फ गफमै जनता अल्झाउने प्रवृत्ति हावी छ । साँच्चै यो सुन्दा तपाईंलाई अचम्म लाग्ला यहाँ त जनताको कर बाट निर्मित राज्यकोषको लगानीमा सम्पन्न योजनाको श्रेय लिन मात्रै महिनौं सम्म सामाजिक संजालमा बहस चर्किरहन्छ, लुछाचुडी चलिरहन्छ जुन यहाँका जनताको सबैभन्दा ठुलो दुर्भाग्य हो ।

​इतिहासले उसलाई मात्र सम्झिन्छ जसले अप्ठ्यारो बाटो रोज्छन् । झापा बाट जित्नु तपाईँका लागि ‘प्राविधिक जित’ होला, तर जुम्लाबाट चुनाव लड्नु र जित्नु भनेको “नयाँ नेपालको पुनर्जन्म” हुन सक्छ, कर्णालीको भाग्य रेखा बदलिन सक्छ । अर्को कुरा यदि भावी प्रधानमन्त्रीको उम्मेदवारले कर्णालीलाई आफ्नो कर्मथलो बनाउँछ भने, त्यसले राज्य सत्तालाई एउटा ठुलो झापड समेत दिनेछ- “नेपाल भनेको काठमाडौँ र सुगम मात्र होइन जुम्ला र कर्णाली पनि हो ।”

​अन्त्यमा तपाईंलाई एक पटक यो देशको सबैभन्दा दुखिया आँगनमा पाइला टेकेर यहाँको माटोको कसम खाएर प्रतिबद्धता व्यक्त गर्न अनुरोध गर्न चाहान्छु किनकी कर्णालीलाई तपाईँ जस्तै विकास प्रेमी मान्छेको आवश्यकता छ । जसरी तपाईँले काठमाडौँका फुटपाथहरु सफा गर्नुभयो, त्यसरी नै कर्णालीको नियति पनि सफा गर्न अति नै आवश्यक भइसकेको छ ।

​आशा छ, तपाईँ पक्कै पनि यस पटक कर्णालीको उकालो उक्लनु हुनेछ ।
​निराश तर आशाहरुले भरिएको एक जुम्ली नागरिक
(जुम्ला, कर्णाली नेपाल) ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार