रित्तै रहेछन् रितिएका कोखहरु
दिनप्रदिन सपना पुरा गर्न आसमा बसिरहनेछन्न
अनायासै थाहा पत्तो नपाइकन पूछिएका सिन्दुरहरु,
बुर्खुशी मार्दै रगताम्य हात र गर्दन बोकेर
अंगालो हाल्न आएकाहरुलाई लात हानिनेछ
र पाँचतारे होटलमा सहमतिपत्र खडा गर्दै
जनताको चुलोसम्म पुग्ने न्यूउमा
कमलो छाला भएका हातहरु द्वारा हस्ताक्षर गरिनेछ,
त्यही हस्ताक्षरद्वारा खडा गरिएको
महामहिमज्यूका घोषणापत्रले
कहिले पनि जनचाहना पूरा गर्ने घोषणा गर्ने छैन,
उनले भनेका उद्देश्यहरू पूरा गर्न तत्पर
हुनेछन् उनैका एजेन्डाहरू
उनका डायरीहरूमा उनीहरूकै नाम लेखिनेछन्
उनका पुस्तकमा उनैका इतिहास कोरिने छन
उनैका झण्डामा उनैकोे संकेत झल्किनेछ,
उनीहरूको मतपत्रले जनमत जुटाउने न्यूउमा
तिमी मेरो दास हौ भन्ने
सम्झौता गर्दै भोट माग्न आउँछनेछ
र सम्झौताकोे प्रस्ताव गर्नेहरूले
झुपडीका भोक बिर्सीई
सिंहासनको बसी सत्ताको सम्भोग गर्ने छ्न
फेरि त्यही झुटो समझौताले कुल्चिँदै हिँड्नेछ
गुनासोलाई नासो बनाएर आएका सडका सुतुवाहरूलाई,
घरबार बिहिनलाई पाखा लगाई आफ्नो महल फेर्नेछन्
नाङ्गा हरुको एक सर्को लुगा फेर्न होइन
आफ्नो विचार फेरे झै आफ्नो हुलिया फेर्न हौसिने छन,
सधै विजाई रहने छन् कुरुक्षेत्रका सैनिकका छातीमा रोपिएका भाला र तीरहरु
पोलिरहने छन् युद्ध र आन्दोलनमा लडदा मुटुमै ताकि हानिएका गोलीहरुले,
फरि हराएका घामका किरणहरू झैँ
अरुको बलिदानीलाई बिर्सिँदै
त्यहिँ घाउको मैदान माथि उभिएर
हात मिलाउँदै सत्ता साठघाटको वार्तालाप गर्नेछन्
कौरव र पाण्डवहरु,
तर त्यही हुनेछन् ती मान्छेहरू जो लडे
जसले रगत पसिना बगाए परिबर्तनका निम्ति
जसले देशका लागि ज्यानै आहुति दिए देशका लागि।














