गहुँ जस्तै गोरी
हिउँ जस्तै कञ्चन
गुलाफ झैँ राम्री
गोधुली साँझझैँ शान्त
बिहानको उषाको लालीझैँ
मुस्कानमा उघ्रिरहने
खुशीकी प्रतिक
हरदम क्षितिजमा
पुग्दासम्म पनि
हेरिरहुँ लाग्छ तिमीलाई ।
रंगिन तिम्रा कपडा साँच्चिकै
बगैंचाका फूलहरू झैँ लाग्छन्
हाँसो तिम्रो प्राकृतिक पहिरन
कालो कपाल सहितका चुल्ठी
सुम्सुम्याईरहुँ जस्तै लाग्दछन्
खित्का पनि लाग्छ बाँसुरीझैँ
लाग्छ गुनगुन पनि चिरविरझैँ
त्यो तिम्रो रसिलो काने खुसीले
म भित्र पुनर्ताजगी ल्याइदिन्छ ।
तिमीले बिस्तारै छोएको
कान्छि औँलाको स्पर्शले
मेरो बिरामनै गुमनाम बनाईदिन्छ
जादुझैँ लाग्छ तिम्रो स्पर्शमा
जहिले न्यानो ताप छ
नजिकैको तिम्रो बसाइले
चन्द्रमाले झैँ शितल दिन्छ
सिधा हेर्दा पनि
सूर्यलेझैँ चम्कीला
रोसनी छरेझैँ लाग्छ
रिसाउँदापनि गोधुली साँझ
अवतरण भएझैँ लाग्छ ।
पुष्ट शरिर, मसिनो कम्मर
अशला माछाझैँ घुम्रिएका
काला काला आँखा
हेर्दानै प्रफुल्ल बनाउने
तिम्रो छड्के हेराई
यसैमा तिम्रो कर्णप्रिय
खितखित हाँसो सुन्न पाइरहुँ
तिम्रो मीठो मुस्कान देख्न पाइरहुँ ।














