१.
भन्न छोड यसलाई, जे जे चाहिन्छ दिनुपर्छ,
समयमै बा, देशलाई जे जे चाहिन्छ दिनुपर्छ,
मलाई चाहिन्छ राष्ट्रको स्वाभिमानसहितको जीवन,
हिमाल, पहाड, तराई, मधेसलाई जे जे चाहिन्छ दिनुपर्छ।
२.
अन्जुलीमा पानी बोकी घरको गाग्रो भरिँदैन,
अधुरो संकल्पले अवसरवादी सोच फेरिँदैन,
देशको सपना, बन्दैछ नेपाल, बन्ने नै भए,
सदाबहार सत्ताको मोहमा सरकारलाई हेरिँदैन।
३.
उमेरसँगै साँचेका सपना कहाँ गए हेर,
बा-आमाले हामीमा बाँचेका सपना कहाँ गए हेर,
कथाले बनायो पात्र, जीवन सपना बन्दै गयो,
समय परिस्थितिले गाँचेका सपना कहाँ गए हेर।