जब म उभिएँ राजधानीको धरहरामा,
र नियालेँ काठमाडौँ उपत्यकालाई
देखेँ ठूलाठूला घरहरू,
झिलिमिली होटल,
स्कुल, कलेज, विश्वविद्यालय,
मठ मन्दिर, बाटो र पुलहरू।
देखेँ हजारौं मान्छेहरूको भिड,
सडकमा दौडिरहेका गाडीहरू,
र केही मिटर माथिबाट
उडिरहेका हवाईजहाजहरू।
देखेँ देशको कुना–कुनाबाट
सपना बोकेर आएका मानिसहरू,
भविष्य खोज्दै हिँडेका यात्रुहरू।
तर,मैले देखिनँ,
यहाँको माटोमै सपनाहरू साकार गर्ने बाटो,
देशमै बसेर बाँच्न सकिने योजना।
देखेँ त
देश छोड्ने उपायहरू,
कन्सल्टेन्सीका पाटीहरू,
खाडी देश र पश्चिमतर्फ जाने मार्गहरू।
तर मैले देखिनँ
यही शहरमै
सपना बुनेर बाँचेको जीवन।
देखेँ त सडकमा जिन्दाबाद–मुर्दाबाद चिच्याउने भीड,
देश बनाउने भाषण दिने नेताहरू,
र सोही नेताबाट
शोषणमा परेका गरिबहरू।
सनेँ बलात्कारका समाचार,
भ्रष्टाचारका खुलासा।
तर देखिनँ कुनै आशा,
भरोसा या योजना।
मैले
देशको माटोमा जरा गाडेर
सपनाको फूल फुलाउने कुनै उपाय देखिनँ।
देखेँ त केवल
टुक्रिँदै गएको भरोसा,
सत्तामा बसेका स्वार्थीहरूको तमासा।