कतिले भन्छन्
“ऊ त तल्लो वर्गकी हो”
कतिले भन्छन्
“ऊ त महिला हो”
अरू भन्छन्
“अशिक्षित, कमजोर, गरिब”
तर म भन्छु
“म ती सबै कुराको बाबजुद पनि
आत्मसम्मानमा बाँच्ने एक नारी हुँ”
खेतको माटो छु, पसिनाले भिजेको
श्रमले बनेको, दुःखले गाढिएको
म तल्लो वर्गको मान्छे हुँ भन्छन्, सबैले
तर….
म त आत्मसम्मानको मेरुदण्ड हुँ,
मेरो पहिचान लुगा होइन,
रुप होइन,
मेरो हाँसो, मेरो आँसु, मेरो स्वरूप हो।
कहिले आमाको अँगालो,
कहिले छोरीको सपना
कहिले श्रमिकको हात,
कहिले शिक्षाको गहना
म बाँच्न मात्र होइन,
केही गर्न जन्मिएकी
हराइएकी भीडमा होइन,
चिनिन खोजेकी
मेरो शब्दमा आत्मा छ,
आवाजमा आगो छ
म छु जीवनको गति,
म छु समाजको खम्बा
जातले होइन, वर्गले होइन,
मेरो पहिचान बनाउँछ
मेरो सोच, मेरो कर्ममा नझुक्ने छाया हुँ,
म बिहान उदाउने उज्यालो हुँ ,
छोरी हुँ, अनि सपनाको पछि
दौडिने एक व्यक्तित्व हुँ
न नामले मात्र चिनिन्छ मान्छे
न थरले लेखिन्छ कथा
पहिचान त हो त्यो,
जसले आँधिमा उभिएर
सपना बोकेको हुन्छ निधारमा।
मेरो पहिचान छैन
सुनचाँदीले मापन हुने,
न पालैपिच्छे फेरिने शिरमौराको जस्तो
म श्रमिकको छायाँ हुँ,
म आमाको न्यानो माया,
म शिक्षाको उज्यालो जून ,
म भोगाइको पाना हुँ
कतिपटक सोधिन्छ “तिमी को हौ?”
म मुस्कुराउँछु र भन्छु
“संघर्षको छाँया र आशाको उज्यालो।”
मेरो पहिचान मेरो कर्म हो,
मेरो हिम्मत हो,
र….मेरो मौन लडाइँ हो,
जीवनको प्रत्येक साँझसँग
त्यसैले म ठोकेर भन्छु, मेरो पहिचान
कुनै जात, धर्म होइन,
म दुनियाँलाई बदल्ने
नयाँ सृष्टि गर्ने एक नारी हुँ
मेरो पहिचान भनेकै मैले गरिरहेको कर्म हो !