हावालाई तिमिले चिन्न नसकेर हो वा
हावाले तिमीलाई नै चिन्ह नसकेर हो
मेरो भने हावासँग औधि माया गढेको छ
बाग्लुङ बजारमा बाह्र बजे चल्ने हावालाई लिएर
एकजना गायकले गित नै लेखेर गाए ।
हुन त कहिलेकाहीँ हावा र मयालु एउटै लाग्छ
औधी रिस उठेर आउँछ
जीवनमा नभुलिने घाउ बन्न सक्छ
हिउँदको हावाले पुरै शरीर चिसो बनाएर घायल पार्छ
गर्मीमा चलेको हावाले शीतल दिएपनि
एकछिनमै छोडेर जान्छ ।
कुनै कठोर मयालुले
जिन्दगीको चौबाटोमा छोडेर गएझैँ
त्यो बेला लाग्छ
छोडेर जाने मयालु होस् या शीतल हावा
दोहोरिएर नदेखिने सपना
उडेर जाने बादल,
कहिले नभेटिने क्षितिज एउटै लाग्छ ।
हावा पनि बतासको एक रुप हो
पाल्पाको बतासे डाँडाको हावाको
झनै के कुरा गरी सक्नु छ र ?
त्यो बतासे डाँडाको तर पनि
आफ्नै कथा र मूल्य होला
आफ्नै महत्त्व र मर्म होला ।
ठाउँठाउँमा चल्ने हावाको
कथा बन्न सक्छ
उपन्यास रचिन सक्छ
लोकगितको भाका बन्न सक्छ
गजल र मुक्तक बन्न सक्छ ।
कसैलाई छोडेर जान सक्छ
कसैलाई सँगसँगै लिएर जान सक्छ
कसैलाई नरमाइलो बनाईदिन्छ
कसैलाई आहाः र रमाइलो बनाईदिन्छ ।
लुम्लेको हावाले
एकजना गायकको मुटु छोईदिएपछि
झन लोकप्रिय गित गाउन सफल भए ।
यी दुबै गित भन्दा अर्को जेठो लोकप्रिय गित छ-
चिसो हावा ठण्डापानी जुम्ला बजारको
मेरो मात्रै माया होकि माया हजारको ।
कोही कोही हावा कडा हुन्छन्
गाल्जियाँ कालिकोटको हावाले
कुखुराको प्वाँख नै बाङ्गो बनाउँ छ भन्छन्
त्यस्तो हावा कडा हुनुको अपवाद हुनसक्छ ।
त्यस्तो जोडदार हावा नहुँदो हो त
बिजुली बत्ति अवस्य बल्थेन होला
हावा चलेको दिशा थाहा नपाई
पिलेन एर्पोटमा कताबाट बस्ने भनेर
थाहा पाउँदैनथ्यो होला ।
तथापी
डाँडा माथिको बरपिपल छहारी मुनि
आफ्नी प्यारी मयालुको साथमा बसेको बेला
चलेको शिरशिर हावालाई
एकचोटि जो कोहीले
मन मष्तिस्कबाट सम्झिनुत
कति हदसम्म शीतल हुन्छ
कति हदसम्म आनन्द आउँछ ।
लाग्छ सिमलको भुवा भन्दा
त्यो हावा हलुङ्गो हुन्छ
कपास भन्दा सफेद हुन्छ
लौनी भन्दा नरम हुन्छ
गुलाफ भन्दा प्रिय हुन्छ
लालीगुँरास र लालुपातेभन्दा सौन्दर्य हुन्छ ।
त्यो शिरशिर गर्मीयामको शीतल हावा
आफ्नी प्यारी मयालुको
दिल छुने माया भन्दा कम्तिको हुँदैन
मायालुको प्यारो नजरले हेरेको नजरभन्दा
कम मूल्यवान हुँदैन ।
अकस्मात आउने हुरी बतास र हावालाई
शिरशिर चल्ने देउरालीको हावासँग ननाप
डाँडामाथीको बरपिपलसँगै चल्ने
शिरशिर हावासँग तुलना नगर ।
ईलामको चियापत्तिसँगै चिया पिउँदै
गुल्मीको कफिराखेको चियाको चुस्की लिँदै
मेरी सानुसँग जुम्ला बजारको चिसो हावामा
सिसाको गिलासमा मीठो तात्तातो चिया पिउँदै
गफिएको कसरी बिर्सिन सक्छु र ?
नरेन्द्र देवकोटा “प्रशान्त”२०८२/८/१२/६ प्युठान ।














